मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १० मंगलबार
  • Tuesday, 26 August, 2025
२o८२ भदौ १० मंगलबार o६:o४:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

जडीबुटी राखिएको ट्रकमा भेटियो आठ करोडको भेप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १० मंगलबार o६:o४:oo
  • जडीबुटी राखिएको ट्रकभित्र लुकाएर नेपालगन्जतर्फ लैजान लागिएको अवस्थामा दैलेखबाट ३९ हजार नौ सय थान भेप बरामद

हुम्लाको हिल्सा नाकाबाट तस्करी भएको आठ करोड रुपैयाँबराबरको विद्युतीय चुरोट (भेप) बरामद भएको छ । जडीबुटी राखिएको ट्रकभित्र लुकाएर नेपालगन्जतर्फ लैजान लागिएको अवस्थामा दैलेखबाट ३९ हजार नौ सय थान भेप राजस्व अनुसन्धान कार्यालय र सशस्त्र प्रहरीको टोलीले शनिबार बरामद गरेको हो ।

कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठबिसकोट नगरपालिका– ६ बाट ना.अ.प.आ ८३ नम्बरको कन्टेनरमा ठुलो मात्रामा भेप बरामद भएको हो । कन्टेनरमा वन कार्यालयले सेतक चिनी भनेर टाँचा लगाएको थियो । यसमा ठुलो गिरोहको संलग्नताको आशंका छ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थ चिलुवालका अनुसार भेपसहित तीनजना पक्राउ परेका छन् । ‘जडीबुटी भनेर उनीहरूले भेप तस्करी गर्न खोजेको देखिन्छ,’ उनले भने, ‘हामीले सशस्त्र प्रहरीसँग मिलेर सुराकीको आधारमा उनीहरूलाई पक्राउ गरेका हौँ, कोलहपुरस्थित कार्यालयले यसमा अनुसन्धान गरिरहेको छ ।’

हुम्लाको सिमिकोट गाउँपालिका– ५ घर भएका २७ वर्षीय छिरिङ लामा, मुगुको छत्यांक गाउँपालिका– ५ घर भएका ३२ वर्षीय जनक रोकाय र सोही ठाउँका २७ वर्षीय कन्टेनरचालक भूमि रोकाय भेपसहित पक्राउ परेका छन् । वनको टाँचा भएकाले यसमा वनका कर्मचारीको पनि शंकास्पद भूमिका देखिएको छ । साथै भन्सार नाकाबाट सो कन्टेनर कसरी पास भयो भन्नेमा पनि छानबिन भइरहेको छ । पक्राउ परेका व्यक्तिहरूको मोबाइलबाट राजस्व कार्यालयले गिरोहका नाइकेहरू पत्ता लगाउने प्रयास गरेको छ ।

विभागका महानिर्देशक चिलुवालका अनुसार हाल भन्सारबाट भेप आयात गर्न दिइएको छैन । तर, नेपालमा ठुलो मात्रामा भेप बरामद भइरहेको छ । यस्तो भेप धेरै चीनबाट तस्करी गरेर भारत लैजाने गरिएको छ ।

यसमा ठुलो समूह सक्रिय रहेको आशंका गरिएको छ । ‘गिरोहका नाइके दुबईमा बस्छन्, उतै डिल हुन्छ भन्ने छ,’ विभागका महानिर्देशक भन्छन्, ‘भेप तस्करी रोक्न सबै भन्सार नाकामा कडाइ गर्न भनेका छौँ ।’

पछिल्लो केही समययता चीनसँगका मुख्य नाकाहरू केरुङ र तातोपानीबाट आयात अवरुद्ध छ । जसकारण चीनसँगका साना नाकाबाट ठुलो मात्रामा तस्करीका सामान आउन थालेको भेटिएको छ ।