
न्यायपरिषद्ले ८८ जना उच्च र १२२ जना जिल्ला गरी एकैपटक २१० न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको परिषद् बैठकले विशेष अदालतमा नयाँ टिम पठाउने निर्णय लिएको छ । साथै, छानबिनमा रहेका दुई न्यायाधीश पनि सरुवा भएका छन् ।
परिषद्का सूचना अधिकारी तथा उपसचिव सुमन पाण्डेले विशेष अदालतमा अध्यक्षसहित ६ न्यायाधीशको दरबन्दी रहे पनि हाल पाँचजनाको नाम तोक्ने परामर्श दिइएको छ । अध्यक्षमा सुदर्शनदेव भट्ट र सदस्यमा नारायणप्रसाद पौडेल, हेमन्त रावल तथा डिल्लीरत्न श्रेष्ठको नाम तोकिएको छ । भट्ट उच्च अदालत जनकपुर तथा पौडेल वीरगन्ज, रावल सुर्खेत र श्रेष्ठ जुम्लामा कार्यरत थिए ।
यसैगरी जनकपुरको वीरगन्ज इजलासमै कार्यरत उमेश कोइरालालाई पनि विशेषको सदस्य तोक्न सरकारलाई सिफारिस गर्ने निर्णय भएको परिषद्ले जनाएको छ । विशेषमा गत पुस अन्तिममा मात्र विदुर कोइराला सदस्य तोकिएकोमा उनी यथावत् छन् । उनको केवल दरबन्दी सारेर हेटौँडा पुर्याइएको छ ।
हाल विशेषका अध्यक्ष रहेका टेकनारायण कुँवरसमेतका बाँकी सदस्यहरू भने ०८० मंसिरमा ल्याइएका थिए । अध्यक्ष कुँवरलाई परिषद्ले उच्च अदालत जनकपुर, सदस्य तेजनारायणसिंह राईलाई उच्च अदालत पोखरा र रामबहादुर थापालाई जनकपुरको राजविराज इजलासमा रहने गरी सरुवा गरिएको छ । विशेषका अर्का सदस्य मुरारीबाबु श्रेष्ठलाई पनि उच्च अदालत जनकपुर, रितेन्द्र थापाको जनकपुरको अस्थायी इजलास वीरगन्जमा सरुवा गरिएको छ ।
जिल्ला अदालत काठमाडौंमा भक्तपुरमा काजमा रहेका शिवप्रसाद पराजुली, महोत्तरीमा कार्यरत कोशलेश्वर ज्ञवाली, मदनबहादुर धामी, जगतबहादुर पौडेल तथा नवराज दुलाल, कपिलवस्तुका कृतबहादुर बोहरा, डडेल्धुराका रामचन्द्र शर्मा र सिराहाका टेकबहादुर कार्कीलाई ल्याउने निर्णय परिषद्बाट भएको छ ।
पर्साका आनन्दप्रसाद श्रेष्ठ, सप्तरीका तिलकबहादुर कार्की र मणिराम न्यौपाने, दोलखाका माधवप्रसाद सुवेदी, कैलालीका दण्डपाणि लामिछाने तथा कास्कीका चन्द्रकान्त पौडेल र हरिप्रसाद कोइरालालाई पनि काठमाडौं जिल्ला अदालतमा सरुवा गरी ल्याइएको छ । परिषद्ले बझाङबाट सुदर्शन लामिछाने, तनहुँका आत्मदेव जोशी र झापाका तेजबहादुर खड्काका साथै रुपन्देहीका जिल्ला न्यायाधीश ईश्वर पराजुलीलाई काठमाडौंमा सरुवा गरेको छ । काठमाडौंमै धनुषाका चुरामन खड्का पनि ल्याइएका छन् ।
बैठकबाट राजस्व न्यायाधिकरण नेपालगन्जको कानुन सदस्य एवं अध्यक्ष पदका लागि उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका मुनेन्द्र अवस्थीलाई तोक्न नेपाल सरकारलाई परामर्श दिने निर्णय भएको परिषद्का उपसचिव पाण्डेले जानकारी दिए ।
थारू र महर्जनलाई विराटनगर पुर्याइयो
बम विस्फोटमा घाइतेलाई इँटाभट्टामा जलाएको मुद्दामा कांग्रेस नेता अफताब आलमलाई सफाइ दिएपछि छानबिनमा रहेका दुई न्यायाधीशको पनि सरुवा भएको छ । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा दरबन्दी रहेको खुसीप्रसाद थारू र अर्जुन महर्जनलाई सरुवा गरिएको हो । थारूलाई उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगा र महर्जनलाई विराटनगरकै धनकुटा इजलासमा सरुवा गरिएको छ ।
परिषद् स्रोतका अनुसार उनीहरूमाथिको छानबिन टुंगिएको छैन । तर, वीरगन्जमा मुद्दाको चाप धेरै भएकाले र सरुवा नगरी अर्को न्यायाधीश पठाउन नमिल्ने भएकाले सरुवाको निर्णय भएको हो । यद्यपि, उनीहरू परिषद्मै छन् ।
थारूसमेतको इजलासले गत १४ जेठमा उच्च अदालत वीरगन्जमा कार्यरत रहँदा आलमलाई सफाइ दिने फैसला गरेको थियो । उनी र अर्जुन महर्जनको इजलासले आलमलाई विस्फोट गराई ज्यान मारेको समेतको दुई मुद्दामा जिल्लाको फैसला उल्ट्याउँदै सफाइ दिने फैसला गरेको थियो ।
फितलो र विवादास्पद आधार तथा कारण दिई आलमसमेतका प्रतिवादीलाई सफाइ दिइएको थियो भने घटना नै नभएको ठहर उक्त इजलासको थियो । फैसलामा उजुरी र उजुरीकर्ताको नियतमाथि नै प्रश्न गर्दै वादीका बकपत्रलाई अविश्वास गरिएको छ । यो फैसला बदरको माग गर्दै महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च पुगिसकेको छ । यस विषयमा न्यायपरिषद्मा दुवै न्यायाधीशविरुद्ध उजुरीसमेत परेको छ । सर्वोच्चका न्यायाधीश विनोदकुमार शर्माले यी उजुरीमाथि प्रारम्भिक छानबिन गर्दै छन् ।
यसैगरी काजमा न्यायपरिषद्मा रहेका दार्चुलाका पुष्पराज पाण्डेयलाई सर्लाही सरुवा गरिएको छ । उनीमाथिको उजुरीमाथि पनि परिषद्ले कुनै निर्णय गरिसकेको छैन । दार्चुलामा भने न्यायपरिषद्मै रहेका भुवन गिरीलाई पठाइएको छ । उनीमाथि बलात्कारको अभियोग लागेकोमा उच्चबाट उनले सफाइ पाइसकेका छन् ।
परिषद्मै काजमा रहेका धनुषाका जिल्ला न्यायाधीश हरिकृष्ण श्रेष्ठलाई सुनसरी र रसुवाका भुवनसिंह थापालाई कैलाली सरुवा गरिएको छ । थापामाथि पनि एक मुद्दाकी प्रतिवादीले अनैतिक प्रस्ताव राखेको भन्दै उजुरी परेको थियो । न्यायपरिषद्मा काजमा रहेका उच्च अदालत जनकपुरका न्यायाधीश कृष्णमुरारी शिवाकोटी पनि सरुवा गरी उच्च अदालत पाटन ल्याइएको छ ।