मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २९ बिहीबार
  • Thursday, 14 August, 2025
बर्लिन
२o८२ श्रावण २९ बिहीबार १o:२९:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

अलास्का शिखर भेटवार्ताअघि युरोपेली नेता र ट्रम्पबिच भिडियो वार्ता

Read Time : > 1 मिनेट
बर्लिन
नयाँ पत्रिका
२o८२ श्रावण २९ बिहीबार १o:२९:oo

आगामी शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच अमेरिकाको अलास्कामा वार्ता हुँदै छ । वार्तामा युक्रेनलाई हानि हुने सहमति नहोस् भन्ने सुनिश्चित गर्न युरोपेली नेताले सक्रियता बढाएका छन् । यसै परिप्रेक्ष्यमा युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की बर्लिन पुगेर युरोपेली नेता र ट्रम्पबिचको भिडियो वार्तामा सहभागी भए ।

जर्मन चान्सलर फ्रान्ज मर्जले ट्रम्प र युरोपेली नेताबिचको भर्चुअल वार्ताको व्यवस्था मिलाएका थिए । बुधबार युरोपेली नेताले ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग एक घण्टा भर्चुअल बैठक गरे ।

ट्रम्प–पुटिन वार्ताको पूर्वसन्ध्यामा युरोपेली सरकारले आगामी कुनै पनि शान्ति वार्तामा युक्रेनलाई हिस्सा बनाइनुपर्नेमा जोड दिएका छन् । त्यसो नगरिए मस्कोले फाइदा उठाउने तिनले चेतावनी दिएका छन् । तिनले ट्रम्प–पुटिन वार्तामा जेलेन्स्कीलाई पनि सम्मिलित गर्नुपर्ने भन्दै दबाब बढाएका छन् ।

तर, सोमबार पत्रकारसँग बोल्ने क्रममा ट्रम्पले पुटिनसँगको वार्तामा जेलेन्स्कीको सहभागिता सुनिश्चित नरहेको बताए । बरु उनले पुटिन र जेलेन्स्कीबिचको बैठक पछि अलग्गै व्यवस्थित गर्न सकिने बताए ।

किभ र युरोपेली अधिकारी आफूहरूको सहभागिताविना हुने अमेरिका–रुसबिचको सम्झौताले रुसी नियन्त्रणमा रहेको युक्रेनी भूमि मस्कोलाई दिइएला भनेर चिन्तित छन् । यस चिन्तालाई आश्वस्त पार्न खोजेझैँ बुधबारको भिडियो वार्तामा ट्रम्पले युरोपेली नेताहरूलाई आफूले युक्रेनमा युद्धविराम चाहेको बताउँदै किभको सहभागिताविना भूमिको विषयमा कुरा नगर्ने बताए ।

कूटनीतिक दौडधुपबिच बुधबार पत्रकार सम्मेलन गर्दै मर्जले युक्रेनलाई पश्चिमी बन्देज नलाग्ने गरी लामो दूरीको क्षेप्यास्त्र प्रणाली विकास गर्न मद्दत गर्ने वाचासमेत गरे ।

युक्रेनमाथिको युद्ध अन्त्य गर्न रुसले राखेको सर्तमा युक्रेनका चार क्षेत्रहरू डोनेट्स्क, लुहान्स्क, जापोरिजिया र खेरसनबाट युक्रेनी उपस्थिति फिर्तीको माग पनि सम्मिलित छ । रुसले यी चार क्षेत्रको ठुलो भागमाथि पूर्ण नियन्त्रण कायम गर्न संघर्ष गरिरहेको छ ।

ट्रम्प–पुटिन शिखर सम्मेलनअघि युक्रेनी युद्धमोर्चामा भने युद्ध चर्केको छ । युक्रेनी सेनाले बुधबारको पछिल्लो २४ घण्टामा १६५ स्थानमा रुसी सेनासँग झडप भएको रिपोर्ट गरेको छ । समाचार एजेन्सी एएफपीका अनुसार पछिल्लो संघर्षमा युक्रेनले थप जमिन गुमाउँदै गएको रिपोर्ट गरेको छ । यसलाई युक्रेनी युद्धभूमिको अनुगमन गरिरहेको समूह ‘डिपस्टेट’ले पनि पुष्टि गरेको छ । डिपस्टेटका अनुसार रुसी सेना डोनेट्स्क क्षेत्रको निकानोरिभ्का, सचेर्बिनिभ्का र पेट्रिभ्कानजिकै अगाडि बढिरहेको छ ।

रुस–अमेरिकाका विदेशमन्त्रीबिच फोनवार्ता
उता ट्रम्प र पुटिनबिच शिखर सम्मेलनअघि रुस र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्रीबिच फोनवार्ता भएको छ । रुसी विदेश मन्त्रालयले मंगलबार ‘टेलिग्राम’ एपमा गरेको एक पोस्टमा फोनवार्तामा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले दुवै पक्ष सफल वार्ता गर्न इच्छुक रहेको बताएको छ । विज्ञप्तिमा अमेरिकी विदेश मन्त्रालयले पनि ‘दुवै पक्ष सफल वार्ता सुनिश्चित गर्न प्रतिबद्ध’ रहेको बताएको छ ।

विदशमन्त्रीबिचको फोनवार्ताको घोषणाको केहीपछि ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले आगामी शिखर सम्मेलनका लागि राष्ट्रपति ट्रम्पले आफ्ना रुसी समकक्षी पुटिनसँग एन्कोरेज सहरमा भेट्ने जानकारी दिएकी छिन् । भेटमा युक्रेनमा रुसी आक्रमण अन्त्य गर्ने विषयमा छलफल हुने लेभिटले बताइन् । ‘ट्रम्प यो युद्ध अन्त्य गर्न र युद्धमा भइरहेको हत्या रोक्ने प्रयासमा कटिबद्ध छन्,’ लेभिटले भनिन् ।