
अदानचुली गाउँपालिका- १, कुम्णामा ३३ केभी प्रसारणलाइन क्षमताको सबस्टेसन निर्माण हुन लागेको छ । नेपाल विद्युत् प्राधिकरणको लगानीमा उक्त सबस्टेसन निर्माण हुन लागेको हो ।
केन्द्रीय विद्युत् प्रसारणलाइन विस्तारसँगै सबस्टेसन निर्माण थालिएको हो । हाल हुम्लामा दुईवटा ३३/३३ केभी क्षमताका सबस्टेसन बनिरहेका छन् । सदरमुकाम सिमकोटमा र अदानचुली गाउँपालिकाको कुम्णामा निर्माण भइरहेका यी दुवै सबस्टेसन निर्माणाधीन छन् ।
यी दुवै सबस्टेसन निर्माण सम्पन्न भएपछि यहाँका सातवटै गाउँपालिकामा विद्युत् सेवा पुग्ने नेपाल विद्युत् प्राधिकरण, हिल्दुम विद्युत् वितरण केन्द्र प्रमुख जितेन्द्र शाहले बताए । उनले भने, ‘प्रसारणलाइन विस्तारपछि जिल्लामा विद्युत् अभाव हुनेछैन, यहाँ मात्र नभएर मुगु र बाजुराका स्थानीय तहमा पनि विद्युत् विस्तार हुनेछ ।’
जिल्ला सदरमुकामस्थित हिल्दुम वितरण केन्द्रले सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् पहुँच पुर्याए पनि अन्य गाउँपालिकामा अझै लघु जलविद्युतकाे भरमा गाउँले छन् ।
जिल्लाको तल्लो क्षेत्रको ताँजाकोटमा कादुरी नामक संस्थाले लघु जलविद्युत् उत्पादन गरी विद्युत् वितरण गरेको छ भने अदानचुलीमा हाल स्थानीय स्तरमा उत्पादन भएका १०० किलोवाटका दुईवटा विद्युत् आयोजना भए पनि पटकपटक बिग्रने गरेको छ । हाल कुकुर फाल्न लघु जलविद्युत् आयोजना मात्र सञ्चालनमा छ । तर, सो विद्युत् सबै वडामा नभई ४, ५ र ६ वडाका केही घरमा मात्र बलेको छ भने वडा नम्बर १, २ र ३ का लागि बनेको छहरा खेत जलविद्युतकाे पावर हाउस गत वर्ष पहिरोले बगाउँदा पुनर्निर्माण हुन सकेको छैन ।
ती प्रसारणलाइनबाट गुणस्तरीय विद्युत् आपूर्ति हुन नसकेपछि ३३ केभी प्रसारणलाइनका सबस्टेसन निर्माण गर्न लागिएको हो । यसले विद्युत् आपूर्ति नियमित हुने अपेक्षा गरिएको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले बताए ।
यति वेला ३३ केभी सबस्टेसन बन्न सुरु गरेको छ भने यता सुदूरपश्चिम हुँदै ११ केभीको एलटिलाइन तान्ने काम भइरहेको निर्माणको जिम्मा लिएको न्यु स्मार्ट इलेक्ट्रिक एन्ड प्लम्बिङ सर्भिस प्रालिका सुनील घिसिङले बताए । उनका अनुसार बाजुराको मार्तडी सब स्टेसनबाट, कोल्टी, खत्याड हुँदै अदानचुली सबस्टेसनमा आउने भएकाले हाल तीन हजारवटा पोल गाड्ने काम भइरहेको र सकेसम्म दसैँमा विद्युत् बाल्ने तयारी छ ।
हुम्लाको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन सदरमुकाम सिमकोट र अदानचुलीको कुम्णामा ३३ केभी सबस्टेसन र ११ केभीको लाइन तान्ने काम भइरहेको प्राधिकरण प्रमुख शाह बताउँछन् । हुम्ला र मुगुका चार सबस्टेसन निर्माण गर्ने ठेक्का हेन्स टिसी कम्पनीले लिएर काम गरिरहेको तुम्च सबस्टेसन कुम्णामा खटिएका इन्जिनियर योगेन्द्र रोकायाले जानकारी दिए । उनका अनुसार हाल मुगुको खत्याड र मांग्रीमा, हुम्ला सदरमुकाम सिमकोट र अदानचुलीमा सबस्टेसन निर्माण भइरहेको छ । हाल ३३ केभीमा स्तरोन्नति भइरहेको प्राधिकरण कर्णाली प्रदेश कार्यालय प्रमुख शम्भु कुसियत यादवले बताए ।
राष्ट्रिय प्रसारणलाइन जोडिँदै
०८० भदौ २५ गते मुगुमा राष्ट्रिय प्रसारणलाइन पुगेसँगै ७७ जिल्लामध्ये ७६ जिल्लामा राष्ट्रिय ग्रिडको विद्युत् पुगेको थियो । नेपाल विद्युत् प्राधिकरणले कालीकोटबाट जुम्ला जाने ३३ केभी प्रसारणलाइनलाई नाग्मामा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगु सदरमुकाम गमगढीसम्म विद्युत् पुर्याएको थियो ।
मुगुमा राष्ट्रिय ग्रिड पुगेपछि अब हुम्ला मात्र जोडिन बाँकी रहेकामा अबको केही महिनामा राष्ट्रिय प्रसारणलाइनमा जोडिने निश्चित भएको हो । हुम्लामा राष्ट्रिय प्रसारणलाइन पुर्याउन ठेक्का सम्झौता सम्पन्न भई हाल सदरमुकाम सिमकोट, जिल्लाको तल्लो क्षेत्र अदानचुलीको तुम्च र कुम्णामा सबस्टेसन निर्माण भइरहेको छ ।