१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २१ बुधबार
  • Thursday, 05 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ २१ बुधबार o५:५६:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : चिकित्सकको सेवा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २१ बुधबार o५:५६:oo

एक चिकित्सक हतारहतार अस्पतालमा प्रवेश गरे । उनलाई कुनै दुर्घटनाका कारण आकस्मिक रूपमा बोलाइएको थियो । दुर्घटनाका घाइतेका आफन्तजन उनको प्रतीक्षामा थिए । चिकित्सकलाई देख्नासाथ घाइते युवकका पिताले भने– तपाईंहरू ड्युटी किन पूरा गर्नुहुन्न ? यहाँ आउन किन यति धेरै समय लगाउनुभयो ? मेरो छोरालाई केही भयो भने त्यसको जिम्मेवार तपाईं हुनुहुन्छ, बुझ्नुभयो ?

चिकित्सकले विनम्रतापूर्वक भने– म माफी चाहन्छु । म अस्पतालमा थिइनँ । जब अस्पतालबाट कल आयो, तब सम्भव भएसम्म छिटो आइरहेको छु । कृपया ! तपाईंहरू शान्त रहनुहोस् । घाइते युवकका पिताले जंगिँदै भने– शान्त रहनुस् रे ? के मेरो छोराको स्थानमा तपाईंको आफ्नो छोरो भएको भए तपाईं शान्त बस्न सक्नुहुन्थ्यो ? यदि कसैको लापरबाहीका कारण तपाईंको आफ्नो छोराको मृत्यु भएको भए तपाईं के गर्नुहुन्थ्यो ? ‘भगवान्ले चाहनुभयो भने सबै ठिक हुन्छ । तपाईंहरू प्रार्थना गर्दै गर्नुहोस् ।’ यति भनेर चिकित्सक अप्रेसन कक्षभित्र प्रवेश गरे । युवकका पिता अझै भुतभुताउँदै थिए– सल्लाह दिन सजिलो छ । तर, जसले यस्तो घटना झेल्नुपर्छ, उसैलाई थाहा हुन्छ, यसको पीडा । करिब डेढ घण्टापछि चिकित्सक अप्रेसन कक्षबाट बाहिर निस्किए र हल्का मुस्कुराउँदै भने– भगवान्लाई धन्यवाद छ । तपाईंका छोरा अब खतरामुक्त हुनुहुन्छ । युवकका आफन्तजन खुसी भए । उनीहरू चिकित्सकलाई थप प्रश्न सोध्न थाले । ऊ कहिलेसम्म पूरै ठिक हुन्छ ? उसलाई डिस्चार्ज कहिले गर्नुहुन्छ ?

तर, बाँकी प्रश्न नर्सलाई सोध्नू भन्दै चिकित्सक जसरी हतारहतार आएका थिए, त्यसैगरी हतारहतार बाहिरिए । ‘यी चिकित्सक किन यति घमन्डी छन् ? यिनलाई यस्तो के चटारो परेको छ र हाम्रो प्रश्नको जवाफसम्म नदिई निस्किए ?’ युवकका पिताले नर्ससित सोधे । नर्सले आँखाभरि आँसु पारेर भनिन्– आज बिहान मात्र डाक्टरसाबका एक मात्र छोराको दुर्घटनामा परेर मृत्यु भयो । हामीले कल गर्दा उहाँ छोराको अन्तिम संस्कार गर्दै हुनुहुन्थ्यो । तर, कल पाउनासाथ उहाँ अन्तिम संस्कार रोकेर यहाँ आउनुभयो । त्यसैले, अहिले छोराको अन्तिम संस्कारका लागि जानुभएको हो । नर्सको जवाफ सुनेपछि घाइते युवकका पिता र आफन्तका आँखा आँसुले डम्म भरिए र उनीहरूलाई आफूले निकै ठुलो गल्ती गरेको महसुस भयो ।