१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १९ सोमबार
  • Tuesday, 03 June, 2025
२o८२ जेठ १९ सोमबार ११:५६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दिखुवा खोलामा मोटरेबल पुल निर्माण सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १९ सोमबार ११:५६:oo

 दिक्तेल बजारलाई पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने छोटो खण्डका रूपमा रहेको दिखुवा खोलामा मोटरेबल पुल निर्माण सुरु भएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालय विराटनगरको लगानीमा दिक्तेल–खानीडाँडा–रेग्मीटार खण्डमा पर्ने दिखुवा खोलामा मोटरेबल पुल निर्माण सुरु भएको हो ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– ४, खाल्ले र वडा नं १५ विजयखर्कको सिमाना पर्ने दिखुवा खोलामा मोटरेबल पुल नहुँदा वर्षाको करिब ६ महिना यातायात ठप्प हुने गरेको छ । सडक सञ्चालनमा आएको लामो समयपछि प्रदेशको सडक पुल सहयोग एकाइ इटहरी र भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय गाईघाटको साझेदारीमा दिखुवा खोलामा मोटरेबल पुल बन्न लागेको हो । 

दिखुवा खोलामा निर्माण हुने मोटरेबल पुल शनिबार कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले शिलान्यास गरे । पुल निर्माणका लागि करिब पाँच करोड ५० लाख रुपैयाँ लाग्ने पूर्वाधार मन्त्रालयले अनुमान गरेको छ । ट्रस ब्रिज निर्माणका लागि आवश्यक सामग्री पुल सहयोग एकाइले उपलब्ध गराउने एकाइ प्रमुख सूर्यनारायण चौधरीले जानकारी दिए । उनका अनुसार पुलका लागि करिब दुई करोडभन्दा बढीको स्टिल ट्रस तयार पारिसकिएको छ । केही महिनाभित्र आशयपत्र आह्वान गरेर बाँकी काम सुरु गरिने मन्त्रालका सचिव अशोककुमार साहले जानकारी दिए । पुल निर्माणका लागि भौतिक पूर्वाधारमन्त्री राईले गत फागुनदेखि पहल गरेका थिए । 

दिक्तेल–महुरेअन्तर्गत २० किलोमिटर र महुरे–राजापानी–रेग्मीटार सडकअन्तर्गत २९ किमि खण्डमा कालोपत्रेको काम भइसकेको छ । निर्माणाधीन दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार खण्ड दिक्तेल–महुरे–राजापानी–रेग्मीटारभन्दा १७ दशमलव पाँच किमि छोटो छ । दिक्तेल रूपाकोट मझुवागढी– ४, खाल्लेको आहालेबाट हलेसी तुवाचुङ नगरपालिका– ११, राजापानीको घर्तीभिरसम्म र सगरमाथा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट खण्डको रेग्मीटारबाट घर्तीभिरसम्म ट्र्याक खोलिएको छ । घर्तीभिरमा ठुलो चट्टान भएकाले हाल सडक सञ्जालसँग जोड्ने काम भइरहेको जनाइएको छ । रासस

छुटाउनुभयो की ?