१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १९ सोमबार
  • Tuesday, 03 June, 2025
अलेक्ज्यान्डर एम. हाइन्ड
२o८२ जेठ १९ सोमबार १o:४९:oo
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

‘विभाजित राष्ट्र’लाई एकताबद्ध गर्ने नेतृत्व चाहन्छन् दक्षिण कोरियाली मतदाता

विपक्षी दलका उम्मेदवार ली जे–म्युङप्रतिको उच्च समर्थनले युन सुक–योलको ‘मार्सल ल’ घोषणाप्रति आममानिसमा असन्तुष्टि रहेको संकेत गर्दछ

Read Time : > 3 मिनेट
अलेक्ज्यान्डर एम. हाइन्ड
नयाँ पत्रिका
२o८२ जेठ १९ सोमबार १o:४९:oo

मंगलबार, दक्षिण कोरियाली मतदाताले देशको नयाँ राष्ट्रपति छनोटका लागि हुने निर्वाचनमा मत दिँदै छन् । यो चुनाव सन् १९८७ पछि सुरु भएको लोकतान्त्रिक युगको सबैभन्दा अराजक र विवादास्पदमध्ये एक बन्नसक्ने प्रक्षेपण भइरहेको छ । उसो त दक्षिण कोरिया गत वर्ष डिसेम्बरदेखि नै राजनीतिक संकटमा फसेको छ । पूर्वराष्ट्रपति युन सुक–योलले अचानक सैन्य कानुन घोषणा गरेपछि पछिल्लो संकट सुरु भएको हो । युनले सांसदहरूलाई संसद् भवन (राष्ट्रिय सभा)मा प्रवेश गर्नबाट रोक्न सेना परिचालन गरेका थिए । तर, सेनाले रोक्नुअघि नै सांसदहरू त्यहाँ पुगिसकेकाले त्यही राति नाटकीय रूपमा युनको मार्सल ल घोषणा असंवैधानिक घोषित गरियो । सांसदहरूको पहलमा राष्ट्रपति युनको आदेश ६ घण्टापछि नै उल्टिएको थियो । 

त्यसपछि युनलाई महाभियोग लगाइयो, तर त्यसको कार्यान्वयन हुन प्रक्रिया लम्बिँदा अप्रिलसम्म पनि देश सोही प्रकरणमा रुमलिरह्यो । यो अवधि युनको विरोध र समर्थन दुवैमा विशाल सडक प्रदर्शन भए । उग्र दक्षिणपन्थीले युनको बारेमा छलफल भइरहेको अदालतलाई समेत निसाना बनाए । महाअभियोगका अनुसन्धानकर्ताले खटाएको सुरक्षाकर्मी र राष्ट्रपतिको युनको सरकारी सुरक्षा टोलीबिचको ठेलमठेलसमेत देखियो । यसबिच, देशलाई तीनजना कार्यवाहक राष्ट्रपति शासन गरे । चुनौतीपूर्ण सुरक्षा वातावरणका अतिरिक्त कमजोर आर्थिक वृद्धि र बढ्दो महँगीका बिच दक्षिण कोरियाली मतदाताले राष्ट्रपतिका रूपमा साहसी र प्रभावकारी नेतृत्व चाहेका छन् ।

को हुन् प्रमुख उम्मेदवार ? 
डेमोक्य्राटिक पार्टीका ली जे–म्युङ अघिल्लोपटक अर्थात् सन् २०२२ को राष्ट्रतीय चुनावमा झिनो अन्तरले पराजित उम्मेदवार हुन् । यसपटक उनी स्पष्ट अग्रपंक्तिमा देखिएका छन् । चुनावी अभियानको अन्तिम साता गरिएको पछिल्लो मतसर्वेक्षणमा यी पुराना वामपन्थी राजनीतिज्ञप्रति लगभग ४९ प्रतिशत मतदाताले समर्थन जनाएका छन् । यो उनका मुख्य प्रतिद्वन्द्वी किम मुन–सुकोभन्दा दोहोरो अंकको अग्रता हो । मतसर्वेक्षणले कन्जरभेटिभ विचारधारा बोक्ने पिपुल्स पार्टीका मुन–सुप्रति ३५ प्रतिशत मतदाताले समर्थन जनाएका थिए । यसपटक पिपुल्स पार्टीभन्दा बाहिरका अर्का कन्जरभेटिभ उम्मेदवार पनि चर्चामा छन् । ४० वर्षीय ली जुन–सिओकले ११ प्रतिशत जनसमर्थन पाइरहेका छन् । उल्लेखनीय रूपमा यसपटक सन् २००७ पछि पहिलोपटक राष्ट्रपतीय प्रतिस्पर्धामा कुनै पनि महिला उम्मेदवार उठेका छैनन् ।

तस्करी वा सिमाना वारपार गर्ने विषयबाट सुरु हुने विवादले गहिरो टकराव र अविश्वास ल्याएको  छ । धेरै बंगलादेशीको मनमा भारतले आफूहरूलाई हेप्ने गरेको धारणा छ । पानी बाँडफाँट विवादले यस भावनालाई थप बलियो बनाएको छ ।
 

विपक्षी दलका उम्मेदवार ली जे–म्युङप्रति उच्च समर्थनले पूर्वराष्ट्रपति युनको ‘मार्सल ल’ घोषणाप्रति सत्तारूढ पिपुल्स पार्टीविरुद्ध जनताको ठुलो स्तरमा असन्तुष्टि रहेको संकेत गर्छ । युनको प्रशासनमा श्रममन्त्री रहेका किमले डिसेम्बरको सैन्य कानुन घोषणाका लागि माफी मागेका छन् । तर, प्रतिद्वन्द्वीले उनलाई त्यस प्रकरणसँग जोडेर प्रश्न गर्न छाडेका छैनन् । किमलाई ‘मार्सल ल’ घोषणाको दृढतापूर्वक विरोध गर्ने नरम र मूलधारका रूढीवादीहरूको समर्थन पनि हासिल गर्नु छ । साथसाथै, उग्र दक्षिणपन्थी षड्यन्त्र सिद्धान्तमा विश्वास गर्नेहरूको समर्थन पनि जित्नु छ । 

ली जे–म्युङको आकर्षक पृष्ठभूमि
ली जे–म्युङको व्यक्तिगत इतिहास दक्षिण कोरियाको आर्थिक र राजनीतिक उदयको इतिहासबिच समानता देखिन्छ । ली गरिब परिवारमा जन्मेका थिए । उनी सानोमा परिवारलाई सघाउन कारखानामा मजदुरी गर्थे । त्यहीवेला भएको एक औद्योगिक दुर्घटनामा उनको देब्रे हातमा लागेको चोटको दाग अझै देखिन्छ । कामसँगै पढाइलाई अघि बढाएका उनले कानुन पढन् छात्रवृत्तिसमेत पाए । सोही अध्ययनपछि उनले सन् १९८० को दशकको अन्त्यतिर आफूलाई श्रम वकिल र अभियन्ताको रूपमा स्थापित गरिसकेका थिए ।

डिसेम्बरको युनको ‘मार्सल–ल’ घोषणापछि उनले नाटकीय रूपमा राष्ट्रिय सभा प्रवेश गर्न त्यहाँको बार नाघेर भित्रका घटना लाइभ–स्ट्रिम गरेका थिए । त्यतिवेला उनको पुरानो अभियन्ता छवि पुनः प्रकाशमा आयो । उनले विगतमा आफूलाई प्रगतिशील अमेरिकी सिनेटर बर्नी स्यान्डर्ससँग तुलना गर्थे । तथापि, पछिल्लो समय उनले मध्यपन्थी र केही रूढीवादी मतदातालाई आकर्षित गर्न आफ्नो राजनीतिक बोली र नीतिहरूलाई केही मध्यमार्गी बनाएका छन् । यस परिवर्तनले लीलाई विगतका वामपन्थी उम्मेदवारले प्रतिद्वन्द्वी रूढीवादीहरूबाट सामना गर्ने ‘कम्युनिस्ट’, ‘चीन नजिक’, वा ‘उत्तर कोरिया समर्थक’जस्ता चर्का आरोपबाट केही राहत प्रदान गर्नेछ । 

लीले केही कानुनी अड्चनको पनि सामना गरिरहेका छन् । उनीमाथि भूमि विकास परियोजनामा भ्रष्टाचार गरेको आरोप छ । यी आरोपले उनको कार्यकाललाई पनि बिचमै टुंग्याउने जोखिम रहेको उनका विपक्षीहरूले आरोप लगाउँदै आएका छन् ।

के छन् प्रमुख चुनावी मुद्दा ? 
पश्चिमी टिप्पणीकार आगामी दक्षिण कोरियाली राष्ट्रपतिले उत्तर कोरियाको कसरी सामना गर्लान् भन्नेमा बढी केन्द्रित भए पनि देशभित्र भने समस्याग्रस्त अर्थतन्त्र मुख्य चुनावी मुद्दा बनेको छ । यसै चिन्तालाई सम्बोधन गर्ने गरी ली जे–म्युङले आफूले पदभार ग्रहण गरेलगत्तै तुरुन्तै आपत्कालीन आर्थिक कार्यदल स्थापना गर्ने वाचा गरेका छन् । यसपटक दक्षिण कोरियाको भावी ऊर्जा नीतिमाथि पनि जोडदार बहस चलेको छ । किम देशको कुल ऊर्जा उत्पादनमा आणविक ऊर्जाको हिस्सा ६० प्रतिशत विस्तार गर्नुपर्ने पक्षमा छन् । लीले आणविक ऊर्जाका बारेमा सुरक्षा चिन्ता व्यक्त गरेका छन् । उनले ‘थप आणविक रिएक्टर निर्माण गर्ने युगको अन्त्य हुनुपर्ने’ तर्क गरेका छन् । त्यसबाहेक यसपटक दक्षिण कोरियाको राष्ट्रपतिको हातमा धेरै शक्ति केन्द्रीकृत रहेको भन्दै सम्भावित संवैधानिक सुधारको विषय पनि उठेको छ । 

अहिलेको शक्तिशाली राष्ट्रपति व्यवस्था सन् १९८७ मा संविधानको पुनर्लेखन गरिँदा तय गरिएको थियो । सैन्य शासनविरुद्ध लामो जनविरोधपछि भएको संविधान पुनर्लेखनले पाँच वर्षको एक कार्यकालको प्रत्यक्ष निर्वाचत राष्ट्रपतिको व्यवस्था गरेको थियो । दुवै प्रमुख उम्मेदवार ली र किमले राष्ट्रपति कार्यकाल अमेरिकाको जस्तै चारवर्षे, दुई कार्यकालको हुने गरी परिवर्तन गर्नुपर्ने कुराको समर्थन गरेका छन् ।

चुनौती नै चुनौती
अन्तर्राष्ट्रिय मञ्चमा, नयाँ निर्वाचित राष्ट्रपतिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका कठोर भन्सार दरका विषयमा वार्ताको नेतृत्व गर्नुपर्नेछ । ट्रम्पले अप्रिलमा दक्षिण कोरियाबाट अमेरिका भित्रिने सामानहरूमा २५ प्रतिशत कर घोषणा गरेका थिए । तथापि, जुलाईको सुरुसम्म केही समयका लागि भनेर त्यो दर १० प्रतिशतमा झारेका थिए ।

महाभियोगअघि, युनले ट्रम्पसँग सम्बन्ध सुधार्नका लागि आफ्नो गल्फ सीप सुधारिरहेको समाचार बाहिरिएको थियो । पूर्वजापानी प्रधानमन्त्री सिन्जो आबेले ट्रम्पको पहिलो कार्यकालमा गल्फ खेलमार्फत ट्रम्पसँग सम्बन्ध सुधार गरेको विश्वास गरिन्छ । नयाँ राष्ट्रपतिले अहिलेको ध्रुवीकृत दक्षिण कोरियाली समाजलाई एकसाथ उभ्याउने ठुलो चुनौतीको पनि सामना गर्नुपर्नेछ । युनको कार्यकालमा राजनीतिक ध्रुवीकरण र गलत सूचनाको प्रसारले समाज निकै विभाजित बनेको छ । यस प्रवृत्तिलाई उल्टाउन निक्कै गाह्रो हुने भए पनि आगामी नेतृत्वले त्यस चुनौतीलाई पन्छाउन सक्दैनन् । 
–द कन्भर्सेसनबाट
 

छुटाउनुभयो की ?