
अहिले विश्वभरका बालबालिका संकटमा छन् । हरेक दिन विश्वभर आपत्कालीन अवस्था आउँदा बालबालिकाका पीडाका कथा हाम्रो मोबाइलको स्क्रिनमा नोटिफिकेसन आउँछ : गाजामा द्वन्द्वबाट तहसनहस भएका बालबालिका; सुडानमा भोकमरीले पीडित बालबालिका; अफगानिस्तानमा सुरक्षाको आवश्यकतामा रहेका बालबालिका । हरेक दिन एउटा नयाँ संकट देखापर्छ जसले बालबालिका र उनीहरूका परिवारलाई अलमलमा पार्छ ।
युनिसेफजस्ता संस्थाहरू संकटमा परेका बालबालिकाहरूलाई मद्दत गर्न र उनीहरूलाई आवश्यक पर्ने मद्दत र सुरक्षाको सुनिश्चितता गर्न अस्थित्वमा छन् । तर, बालबालिकालाई सहयोग गर्ने हाम्रो क्षमता सरकार, निजी क्षेत्र र विश्वभरका व्यक्तिहरूको उदारतामा निर्भर गर्दछ जसले हाम्रो कामलाई आर्थिक सहयोग गर्दछ । पछिल्ला वर्षमा अन्तर्राष्ट्रिय सहायता कोष निरन्तर गिरावटमा छ । तर, यी कटौती अब चिन्ताजनक रूपमा तीव्र भएका छन् ।
परिवर्तनको अभूतपूर्वस्तर र गतिले महत्वपूर्ण सेवामा बाधा पुर्याइरहेको छ र लाखौँ बालबालिकाको जीवन र कल्याणलाई जोखिममा पारिरहेको छ । यी कटौती अभूतपूर्व छन् र बाल अधिकारका लागि तत्काल र गम्भीर खतरा खडा गरिरहेका छन् । उदाहरणका लागि, पोषणको सन्दर्भमा युनिसेफको अनुमान छ कि लगभग एक करोड ५० लाख बालबालिका र आमाहरूको उपचारात्मक खानाजस्ता पोषण सेवाहरूमा पहुँच अवरुद्ध हुन सक्छ, जसले गर्दा उनीहरू गम्भीर कुपोषण र मृत्युको जोखिममा पर्न सक्छन् ।
२०२५ मा विश्वव्यापी रूपमा २१ करोड ३० लाखभन्दा बढी बालबालिकालाई मानवीय सहायताको आवश्यकता देखिन्छ । अहिले विश्वव्यापीकरणको युगमा सहायता कटौतीले बालबालिकाको सुरक्षा र आर्थिक समृद्धिलाई खतरामा पार्छ ।
खोप प्रयासले पनि बढ्दो खतराको सामना गरिरहेका छन् । विश्वव्यापी रूपमा कोषमा आएको गिरावटले युनिसेफ र विश्व स्वास्थ्य संगठनको कमजोर र द्वन्द्व प्रभावित देशहरूमा दादुराविरुद्धको खोप लगाउने क्षमतालाई गम्भीर रूपमा सीमित गरिरहेको छ । कोभिड–१९ महामारीको समयमा हामीले देखेको स्तरमा अवरोधसहित लगभग ५० देशमा खोप सेवा, रोग निगरानी र प्रकोप प्रतिक्रिया अवरुद्ध भइरहेको छ ।
अर्को शब्दमा भन्नुपर्दा युनिसेफको मानवीय प्रतिक्रिया जोखिममा छ । हामी पूर्वी र दक्षिणी अफ्रिकामा मात्र समर्पित आपत्कालीन कोषमा ४० प्रतिशतभन्दा बढीको कमी देखिरहेका छौँ । यसकारणले गर्दा बालबालिकाहरूको पूर्ण रूपमा रोकथाम गर्न सकिने रोगका कारण मृत्यु हुन सक्नेछ । कुपोषण मात्र होइन, स्वच्छ पानी, सुरक्षित सरसफाइ र आवश्यक स्वास्थ्य सेवाको अभाव पनि देखिएको छ । अनगिन्ती बालबालिका शिक्षा र दुव्र्यवहारबाट बचाउने कार्यक्रमबाट वञ्चित हुनेछन् ।
बालबालिकाको जीवन जोखिममा रहेको वेला उनीहरूलाई हाम्रो सहयोगको सबैभन्दा बढी खाँचो हुन्छ । युनिसेफको इतिहासभर हामीले हाम्रा साझेदारहरूसँग बालबालिकाको अधिकार कायम राख्न, जीवन बचाउने मानवीय सहायता प्रदान गर्न र उनीहरूको विकास र कल्याणलाई अगाडि बढाउन काम गरेका छौँ ।
आज, आवश्यकता पहिलेभन्दा बढी छ : बालबालिकाको ऐतिहासिक उच्च संख्या (प्रत्येक पाँचमा लगभग एक) द्वन्द्व क्षेत्रमा बसिरहेका छन्; बालबालिकाको रेकर्ड संख्या (लगभग पाँच करोड) द्वन्द्व र प्रकोपबाट विस्थापित भएका छन्, र विश्वका लगभग आधा बालबालिकाहरू जलवायु परिवर्तनबाट गम्भीर रूपमा प्रभावित हुने अत्यधिक उच्च जोखिममा रहेका देशहरूमा बस्छन् । २०२५ मा विश्वव्यापी रूपमा २१ करोड ३० लाखभन्दा बढी बालबालिकालाई मानवीय सहायताको आवश्यकता पर्ने युनिसेफको अनुमान छ ।
एकअर्कासित जोडिएको संसारमा, जहाँसुकै पनि सहायता कटौतीले सुरक्षा र आर्थिक समृद्धिलाई खतरामा पार्छ । हामीले गर्नुपर्ने केही काम यहाँ दिइएका छन् ।
पहिलो, बालबालिकालाई घातक, तर रोकथाम गर्न सकिने रोगबाट जोगाउनु भनेको विश्वव्यापी समुदायको रूपमा हामीले गर्न सक्ने सबैभन्दा गहन काममध्ये एक हो । यो सबैभन्दा बुद्धिमानी पनि हो । विगत ५० वर्षमा खोपले १४ करोड ६० लाख बालबालिकाको जीवन बचाएको छ, जुन सोही अवधिमा शिशु मृत्युदरमा आएको गिरावटको ४० प्रतिशत हो । बच्चालाई खोप लगाउनाले त्यो बच्चालाई घातक बाल्यकालका रोगहरूबाट मात्र बचाउँदैन; यसले सजिलै सीमा पार गर्न सक्ने र विश्वव्यापी स्वास्थ्य खतरा बन्न सक्ने रोगको प्रकोपलाई रोकेर हामी सबैलाई बचाउँछ ।
दोस्रो, सफा पानी, सुरक्षित सरसफाइ र पोषणमा पहुँच बढाएर हामी बालबालिकालाई रोग र भोकमरीबाट जोगाउन सक्छौँ र लचिलो, सम्पन्न र शान्तिपूर्ण समुदायहरूको जग बसाल्न सक्छौँ । केवल २५ वर्षमा विश्वव्यापी कार्यले पाँचौँ जन्मदिनअघि मृत्यु हुने बालबालिकाको संख्या आधा घटाएको छ र बाल्यकालमा हुने कुपोषण ३३ प्रतिशतले कमी छ ।
तेस्रो, द्वन्द्व र प्राकृतिक प्रकोपमा मानवीय प्रतिक्रिया र बालबालिकालाई सुरक्षित राख्न लगानी गर्नाले सीमापार विस्थापन रोक्न मद्दत गर्दछ । नियन्त्रण नगरिएको, राजनीतिक अस्थिरताले सामाजिक प्रणालीलाई कमजोर बनाउँछ र अतिवादलाई जन्म दिन्छ ।र चौथो, गुणस्तरीय शिक्षामा लगानी गर्नाले बालबालिकाको चुनौतीको सामना गर्ने क्षमता बढ्छ र उनीहरूलाई वयस्कको रूपमा रोजगारी खोज्ने सम्भावना बढी हुन्छ, जसले समग्र सामाजिक विकासमा योगदान पु¥याउँछ ।
लाखौँ बालबालिकाको जीवन बचाउनु र सुरक्षा गर्नु सामूहिक प्रयासको कार्य हो । हालैका दशकहरूमा विश्वले गरेको कठिन प्रगति दाताहरूको उदारता र विश्वभरका हजारौँ सहायताकर्मीहरूको अथक परिश्रमको कारणले सम्भव भएको हो ।
विशेष गरी, अभूतपूर्व आवश्यकताको यस समयमा युनिसेफ विश्वका बालबालिकाको पक्षमा उभिन कटिबद्ध छन् । मानवीय सहायता र विकासमा लगानी गरिएको प्रत्येक डलर वा युआनले बालबालिका र परिवारहरूको लागि दीर्घकालीन लाभहरू सिर्जना गर्दछ र सबैका लागि अझ स्थिर र सुरक्षित संसार सिर्जना गर्दछ ।
–चाइना डेलीबाट