१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १७ शनिबार
  • Monday, 02 June, 2025
२o८२ जेठ १७ शनिबार २२:४२:oo
Read Time : < 1 मिनेट
समाचार

नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छः डा. शेखर कोइराला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १७ शनिबार २२:४२:oo

कांग्रेस नेता डा. शेखर कोइरालाले राजीनामा दिन गृहमन्त्री रमेश लेखकलाई पुनः सुझाएका छन्। भिजिट भिसा प्रकरणमा नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनको भनाइ छ। 

शुक्रबार खोटाङमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्ता विषयमा मन्त्रीले राजीनामा नदिने हो भने राजनीतिमा अराजकता बढ्दै जाने बताए। उनले भने, ‘राजनीतिमा नैतिकता अत्यन्त महत्त्वपूर्ण हो, राजनीतिमा नैतिकता रहेन भने अराजकता बढ्दै जान्छ, त्यसले राजनीतिलाई कमजोर बनाउँदै जान्छ,’ उनले भने।

डा. कोइरालाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने पटक-पटक बताउँदै आएका छन्। तर, गृहमन्त्री लेखकले भने आफूमातहतको सहसचिवमाथि अनुसन्धान हुँदैमा आफूले राजीनामा नदिने अडान राख्दै आएका छन्। 

गृहमन्त्री लेखकले नै विमानस्थल अध्यागमनमा पठाएका सहसचिव तीर्थराज भट्टराईले संगठित गिरोह चलाएर भिजिट भिसामा विदेश जानेमाथि असुली गरेको खुलेपछि हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। जसमा गृह नेतृत्वमाथि पनि प्रश्न उठिरहेको छ। 

विवादास्पद पृष्ठभूमिका सहसचिवलाई अध्यागमनको जिम्मा दिनु, अध्यागमनमा चलखेलका कारण कर्मचारी पठाउनु, भिजिट भिसाको समस्या बढेको भनेर विभिन्न निकायबाट जानकारी आउँदा पनि चासो नदिनु तथा अख्तियारले छानबिन अघि बढाएपछि सहसचिव भट्टराईलाई हटाएर जोगाउने प्रयास गरेकाले यसमा गृह नेतृत्वकै मिलेमतोको आशंका गरिएको छ।