
हालैको वर्षाले कोदारी राजमार्गस्थित कोप्लाङमा सडक भासिएपछि चीनको खासाबाट तातोपानी आएका मालवाहक कन्टेनर एक सातादेखि लिपिङमै रोकिएका छन् । स्याउ र लसुन बोकेका ३० वटा कन्टेनर र पाँच सयभन्दा बढी विद्युतीय सवारीसाधन लिपिङ क्षेत्रमा अलपत्र परेका हुन् । सयभन्दा बढी कन्टेनर खासामा छन् । रसुवागढी नाकाअन्तर्गत केरुङको चिनियाँ क्षेत्रमा आगामी अक्टोबरमा मात्रै सडक निर्माण सम्पन्न हुने भएकाले सामान आयातको चाप तातोपानी क्षेत्रमा परेको हो ।
२८ वैशाख (आइतबार) देखि ३ जेठसम्म कोदारी राजमार्ग तातोपानी क्षेत्र बन्द गर्ने निर्णय भएको छ । ठेकेदार कम्पनीको अनुरोधमा जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय, तातोपानी भन्सार, भोटेकोशी गाउँपालिका र ट्रान्सपोर्ट कम्पनीहरूको शुक्रबार बसेको बैठकले एक साता सडक बन्द गरेर निर्माण सम्पन्न गर्ने निर्णय गरेको हो ।
सडक डिभिजन कार्यालय चरिकोटको प्रत्यक्ष निगरानीमा भासिएको सडकमुनि भोटेकोशी नदीबाट प्लम ढलानको काम भइरहेको छ । शिव खिम्ती र टिपिएस जेभिले भासिएको सडक निर्माण गर्ने ठेक्का पाएका छन् । साँघुरो सडक र वर्षा हुनासाथ बग्ने जमिन र ५० मिटर तल भोटेकोशी नदी किनारबाट प्लम ढलान उठाउनुपर्ने भएकाले निर्माण सम्पन्न गर्न अझै समय लाग्ने ठेकेदार कम्पनीले जनाएको छ । भासिएको जोखिमपूर्ण सडकमा ठुला कन्टेनर पास भइरहने र निर्माण पनि भइरहने अवस्था रहँदा दुर्घटना हुने भएकाले सडक बन्द गर्नुपरेको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए ।
गत साता भासिएको सडक प्रयोग गर्दा विद्युतीय सवारी भोटेकोशी नदीमा खसेको थियो । स्याउ, लसुन, निर्माण सामग्री बोकेका कन्टेनर र भन्सार जाँचपासका लागि क्युमा रहेका विद्युतीय सवारीसाधनको लाइन कोप्लाङदेखि मितेरीपुलसम्म यत्रतत्र अलपत्र छन् ।
पर्स्यौली वीरगन्ज १५२ केभीको ट्रान्समिसन लाइनका लागि चीनबाट ल्याइएको पाँच लाख २६ हजार डलर बराबरको सामान १५ दिनदेखि सीमाक्षेत्रमा रोकिएको ट्रान्सपोर्ट प्रतिनिधि कर्म शेर्पाले जानकारी दिए । त्यसैगरी, सिनो हाइड्रोका पाँच कन्टेनर निर्माण सामग्री पनि १० दिनदेखि सीमामा रोकिएका छन् । पूर्वजानकारीविना र धरातलीय यथार्थ धनहेरी एकाएक अन्तर्राष्ट्रिय राजमार्ग बन्द भएकोमा व्यापारी तथा व्यवसायी असन्तुष्ट बनेका छन् ।
नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका अध्यक्ष अर्जुन सापकोटाले सडकको दूरावस्था र सरकारी निकायको लापरबाहीले व्यापारी व्यवसायी मर्कामा परेको बताए । व्यापारीले निजी रकम खर्चेर वैकल्पिक सडक बनाउँछौँ भन्दा पनि सडक डिभिजनले नमानेको उनको गुनासो छ । सडक डिभिजन कार्यालय चरिकोटका सूचना अधिकृत इन्जिनियर सुरज महर्जनले वैकल्पिक सडक बनाउने ठाउँ नभएको र भासिएको सडकबाट सवारीसाधन ओहोरदोहोर गर्दा मानवीय तथा भौतिक क्षति हुने देखेर एक साताका लागि बाटो बन्द गर्न लागेको बताए ।