१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २८ आइतबार
  • Sunday, 11 May, 2025
गुरुराज घिमिरे
२o८२ बैशाख २८ आइतबार o८:oo:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

लिलिपुटका लघुमानव र नेपाली राजनीति 

Read Time : > 5 मिनेट
गुरुराज घिमिरे
नयाँ पत्रिका
२o८२ बैशाख २८ आइतबार o८:oo:oo

नेपाली राजनीतिमा हाबी हुँदै गएको लिलिपुट प्रवृत्तिले जनताको भविष्यमाथि निरन्तर खेलबाड गरिरहेको छ

सामान्यतया होचा पुरुषलाई उपनाम दिँदा ‘लिलिपुट’ भन्ने गरिन्छ । यस टिप्पणीबाट महिला भने सुरक्षित छन् । ‘लिलिपुट’ एउटा त्यस्तो काल्पनिक स्थान वा द्वीप हो, जसको परिकल्पना जोनाथन स्विफ्टले आफ्नो उपन्यास ‘गुलिभर्स ट्राभल्स’मा आजभन्दा झन्डै तीन सय वर्षअगावै गरेका थिए । त्यस्तो द्वीप, जहाँ असाध्यै होचा पुरुष बस्थे, जो स्वार्थ, घमण्ड, पाखण्ड, लालच, धोकेबाजी र ईर्ष्याका प्रतीक थिए, जसको उचाइ जम्मा ६ इन्च मात्र थियो । तिनलाई ‘लिलिपुटका लघुमानव’ भनिन्थ्यो । हाम्रो देश यतिवेला त्यही लिलिपुट द्वीपजस्तै देखिन थालेको छ, जहाँका मानिस भौतिक रूपमा त अग्ला देखिन्छन्, तर नैतिक र बौद्धिक रूपमा भने लिलिपुटका लघुमानवको पछिल्लो संस्करण र समकक्षी लाग्छन् । खासगरी नेपाली राजनीति लिलिपुट प्रवृत्तिबाट आक्रान्त छ । 

अधर्मको मुक बनकर, जो मात्र निहारे जाते हैं
भीष्म हो, द्रोण हो या कर्ण हो, सब मारे जाते है । —अज्ञात 

महाभारतको प्रसंगमा रचिएको प्रख्यात सायरी हो यो, जो सार्वकालिक र सर्वदेशिक छ । सबै भूखण्डमा जहिल्यै मेल खान्छ । ऐतिहासिक आवश्यकता र वस्तुनिष्ठ तर्कका आधारमा त्यो युद्ध भएको थियो र एउटा निश्चित परिणाममा पुगेको थियो । त्यहाँ भावनाको किञ्चित स्थान थिएन । रामायण भने भावनाप्रधान पनि छ । पिताको आज्ञा, दाजुभाउजूप्रतिको आदर र श्रद्धा, भाइभाइको प्रेमजस्ता विषयको उच्च स्थान, कदर र महत्व छ । साथै बाली तथा रावण वधजस्ता तर्कपूर्ण विषय पनि छन् । तथापि, हामीले भने यी कुनै विषयलाई गहिरोसँग बुझ्न र थाहा पाउनै खोजेनौँ । र, दुनियाँमा अपवाद हुन पनि सकेका छैनौँ । आफ्नो फाइदा वा स्वार्थका लागि राजनीतिमा धर्म र अधर्मलाई एकै देख्नु हाम्रो मूल प्रवृत्ति भएको छ । के गर्न हुने, के नहुने भन्ने विवेक, ज्ञान र होस पनि छैन । यसले समकालीन राजनीतिलाई उचित दिशाबोध गर्न सकेको छैन । यतिवेला हामी नेपाली कुहिरोको काग हुँदै गएका छौँ र अन्योलपूर्ण भविष्यको गम्भीर चिन्ता र ताडनामा छौँ । राजनीतिमा हाबी हुँदै गएको लिलिपुट प्रवृत्तिले जनताको भविष्यमाथि निरन्तर खेलबाड गरिरहेको छ ।

हिजोआज जसलाई हामी संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र भनेर बुझ्छौँ, त्यसबारे अत्यधिक चर्चा परिचर्चा हुने गर्छ । यसले बिताएका १७/१८ वर्षको अवधिको समीक्षा र मूल्यांकन पनि हुने गर्छ । नेपाली मतदातामा आएको चेतना र राजनीतिक जागरणले गर्दा शासन सत्ताको मूल्यांकन गर्ने क्षमता र सामथ्र्य बढेको छ । राजनीतिक दलका नेताले भन्दैमा पत्याइहाल्ने स्थिति पनि छैन । सत्य या असत्य छुट्याउन सक्ने विवेक नेपाली जनतासँग प्रशस्त छ । अब काम र परिणामको आधारमा विनापूर्वाग्रह समर्थन र विरोध हुनेछ । सकारात्मक परिणामले मात्र जनभावनाको सम्मान हुनेछ र आमनेपालीको मन जित्न सकिनेछ । आजको आवश्यकता पनि यही हो । यसो नगरे हामी नेपालीले अझै अनगन्ती वर्ष अभाव, अन्योल र पछौटेपनको सिकार हुनुपर्नेछ । अझ धेरै कष्टकर दिनको सामना गर्नुपर्नेछ । विश्व समाजमा हामी धेरै पछि पर्नेछौँ । हामी संसारमा तेस्रो श्रेणीका मानव कहलिनेछौँ । तर, यसको हेक्का कसैलाई भएजस्तो लाग्दैन । औसत दैनिकी र बेथिति कायम छ । नेताहरू आफ्नै धुनमा मग्न छन् । रोम जलिरहेको छ, निरो बाँसुरी बजाइरहेको छ ।

विश्वका प्रचलितमध्ये लोकतन्त्र सबैभन्दा बढी सुनिने वा सुनिनुपर्ने राजनीतिक प्रणाली हो । यसमा मतदाताको भावनाको उच्च कदर गरिन्छ । मतदाता त्यस्ता भगवान् हुन्, जसले राजनीतिक दललाई देश चलाउन योग्य ठान्छन् र बारम्बार सरकारमा पुर्‍याउँछन् । आवश्यक पर्दा विरोध र आलोचना पनि गर्छन् । सानातिना गल्तीका लागि माफी दिएर सुध्रिने मौका पनि दिन्छन् । वेलावेलामा रचनात्मक सुझाव र दबाब पनि दिन्छन् । चित्त नबुझे चुनाव हराइदिन्छन् । यस्तो उपक्रम चलिरहन्छ । खेलको नियमझैँ राजनीतिक दल र नेताले यस प्रक्रियालाई सहजै स्विकार्छन् । नेपालमा जस्तो आफूलाई शक्तिशाली, सर्वाधिक जान्ने र सबैभन्दा गतिलो पनि ठान्दैनन् । विनम्र अर्थात् विनयशील भई निर्धारित जिम्मेवारी पूरा गर्छन् । प्राप्त ओहोदाको ध्वाँस दिएर कसैलाई होच्याउँदैनन् । रेडिमेड पात्र खडा गरेर आफ्नै सहकर्मीको तेजोवध गर्दैनन् । वास्तविकताको गहिराइ नछामी तुच्छ आलोचना गर्दैनन् । आफ्नो काममा दिनरात केन्द्रित हुन्छन् र काम गर्दा संस्थालाई सर्वोपरि मान्छन् ।

आफ्नो कुरा मात्र सुनाउने र परिणाम नदिने प्रवृत्ति लोकतान्त्रिक हुन सक्दैन । सामान्यतया यो निरंकुश र तानाशाही चरित्र हो । आफूलाई सबैभन्दा जान्ने प्रबुद्ध प्रमाणित गर्न दशथरी कुरा गरी भ्रम सिर्जना गरेर आफ्नो दुनो सोझ्याउने चाल हाम्रो जस्तो गरिब मुलुकको नियति र धरातलीय यथार्थ हो । नेपालको राजनीतिमा पनि कतिपय मानिसलाई लाग्दो रहेछ, जति बोल्न सक्यो, उति ठुलो नेता भइन्छ । बहुदलीय राजनीतिको नेता हुने सूत्र तथा शैली यही हो र यस्तै हुनुपर्छ भन्ने ठान्दा रहेछन् । यस्तो चिन्तन लोकतान्त्रिक हुन सक्दैन । तर, नेपालमा अहिले यही शैलीको राजनीतिक बजार उच्च छ । स्वयं प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेता नै यसका मुख्य दृष्टान्त हुन् । दुवै नेता पटक–पटक प्रधानमन्त्री भएका छन् र देश र जनतासमक्ष आफ्नो क्षमता प्रदर्शन गर्ने मौका पाएका छन् । तर, दुःखसाथ भन्नुपर्छ, शृंखलाबद्ध, अनुत्पादक भाषण तथा गालिगलोजको संस्कृतिबाहेक उनीहरूबाट नेपाली जनताले आजसम्म केही पाएका छैनन् । अन्य दलका नेताले पनि यही सिको गर्दै छन् । नयाँ पुस्ताका लागि त यो गुरुकुल नै भएको छ । समग्रमा थोरबहुत सबै दल यस प्रवृत्तिको सिकार छन् । आजसम्म जेजति काम भएका छन्, ती सबै यान्त्रिक छन् । नेताहरू जनताका कुरा सुन्ने होइन, आफ्नै कुरा सुनाउँदै हिँडेका छन्, जसको कुनै उत्पादकत्व छैन ।

मूलतः राजनीति जनताकै लागि हो । तर, नेपालजस्ता देशको राजनीति पेसेवर राजनीतिज्ञका लागि मात्र भएको छ । विकासका धेरथोर उपलब्धि राजनीतिको पूर्णता होइन । राजनीतिले समुदायको अधिकतम चित्त बुझाउन सक्नुपर्छ, उनीहरूको जीवनलाई सहज बनाउन सक्नुपर्छ । राजनीतिमा जनताबाटै असुलेर जनतालाई नै फिर्ता बुझाइन्छ र यो सेवा र सुविधाका रूपमा जनसमक्ष फर्किन्छ । जनताबाट असुल्ने र राजनीतिज्ञले हसुर्ने प्रवृत्ति राजनीतिक हुँदै होइन । तर, आजका परिदृश्य के भन्छन् त ? हामीले के गर्नुपर्ने हो, थाहा पाएर वा नपाएर गैरजिम्मेवारी बढिरहेको छ । दलका सदस्यमा विचारशून्यता र शुष्क चेतना व्याप्त छ । यसले दलभित्र दासत्व बढाएको छ ।

दलका नेताहरू संस्थाका त्यस्ता मठाधीश छन्, जसले आफ्ना सदस्यलाई दलको अंशियार होइन, सेवक ठान्छन् । लोकतान्त्रिक राजनीतिमा दलका नेता इमानदार र विनम्र सेवक बन्नुपर्नेमा खुंखार शासक बनेका छन् । यसले समाजलाई कता लाँदै छ त ? आखिर लिलिपुटका लघुमानवको भन्दा प्रवृत्तिगत रूपमा के अन्तर देखिन्छ त ? यसले नेपाली जनतालाई ठुलो पीडा दिएको छ ।

आजसम्म हामी केमा सफल भयौँ त भनेर खोजी र विवेचना गर्दा सर्वत्र असफलताको सूची मात्र बन्ने रहेछ । नेपाल एकीकरणयताका झन्डै २५५ वर्षको इतिहासमा राष्ट्रको भौगोलिक स्वरूपको विस्तार र प्रजातान्त्रिक शासन प्रणालीको स्थापना, पुनर्स्थापनाबाहेक दुनियाँलाई देखाउन र गर्व गर्नलायक काम के–के गरेछौँ, कसैले भन्न सक्छ ? कसैसँग जवाफ छैन । तथापि, लिलिपुटका लघुमानवजस्तो सात बित्ता उफ्रिएर किन कराइरहेका हुन्, कसैले बुझ्न सकेको छैन । हिजोआज त झन् नेपालका सबैजसो दलका नेतागणमा बकबास गर्नमा उछिनपाछिन छ । दर्जनौँ विषयमा आलोचना भए पनि कांग्रेस सभापति भने अपवादजस्ता देखिन्छन् । उनको बोलीमा देखिने संयम गज्जबको छ । यसलाई राजनीतिक चातुर्य भन्ने या प्रजातान्त्रिक चरित्र, इतिहासमा विवेचना हुँदै जाला । नत्र दलका नेताको दैनिकीले ध्वनि प्रदूषण बढाउने काम मात्रै गरेको छ । काम र परिणाम आजको आवश्यकता हो । यसैका आधारमा नेतृत्वको मूल्यांकन हुने हो । यसमा विहंगम दृष्टि दिँदा स्थिति साँच्चै निराशाजनक पाइन्छ । सबै ठिक हुँदै छ वा ठिक हुँदै जानेछ भनेर सोच्ने हो भने पनि कहिलेसम्म ? अनि, कसलाई भर र विश्वास गरेर पर्खिने ?

यतिवेला नेपालको आन्तरिक र बाह्य अवस्था दुवै नाजुक छ । तर, हाम्रो राजनीतिक नेतृत्व लिलिपुटका लघुमानवको मानसिकतामा देखिन्छ । खै केको दम्भ हो, थाहा छैन । जनता व्यथित र विचलित छन्, कूटनीतिक क्षेत्र कमजोर छ, मित्रराष्ट्रसँगको सम्बन्ध नाजुक छ, अर्थतन्त्र सबल छैन, बेरोजगारी र युवा पलायन डरलाग्दो छ । न त औद्योगिकीकरण छ, न कृषिमा आधुनिकीकरण । पर्या–पर्यटन, धार्मिक पर्यटन फस्टाएको छैन । भौतिक विकास सुस्त छ, विकास आयोजना अलपत्र छन् । राज्यसँग भएको सीमित धन खर्च गर्ने सामथ्र्य छैन । यसको अर्थ राज्य संरचना पंगु छ भन्ने हो । अनि फेरि केको फुर्ती हो ? न विश्वविद्यालय, न अस्पताल, न त विद्यालय नै ठिकठाक चलेका छन् । उपलब्ध साधनस्रोतको चरम दुरुपयोग छ । देशमा सुशासन छैन र निर्वाचनमा आउने प्राविधिक परिणामबाहेक जनसमर्थन छैन । न हिजो राजा ठिक थिए, न आज नेता ठिक छन् । फगत प्रणाली ठिक भएर मात्र केही हुँदो रहेनछ । जबर्जस्ती शासन हत्याएका तानाशाह पार्क चुङ हीले दक्षिण कोरिया बनाउन सक्दा रहेछन् । 

प्रणालीमा हाम्रो विमति रहे पनि आखिर देङ स्याओ पेङले चिनियाँ सिकासको जग बसालेकै हुन् । ली क्वान र महाथिरलाई तानाशाह भएको आरोप लाग्यो, तर २० वर्षमा दुवै देश विकसित भए । अनि हामीले ३५ वर्षको समीक्षा गर्नुपर्दैन ? छिमेकी भारतले तीव्र गतिमा विकास गरेर संसारका विकसित देशको समकक्षमा उभिएको छ । नजिकैको छिमेकीबाट सिक्नुपर्दैन ? अनि लिलिपुटका लघुमानवजस्तो अभिमानी वा अहंकारी बन्ने आधार के हो त ? आजको समकालीन समाजले उठाउँदै आएको प्रश्न यही हो ।

यसो हेर्दा दलहरूको आन्तरिक जीवन अस्तव्यस्त छ । दलका अंग लगभग निष्क्रियजस्तै छन् । दलको उद्देश्य, लक्ष्य र समसामयिक नीति तथा कार्यक्रमप्रति पटक्कै गम्भीरता छैन । जगत्मा ख्याति ठुलो छ, घरभित्र भने भद्रगोल छ । दलको आन्तरिक जीवनको प्रत्यक्ष नकारात्मक प्रभाव सरकार सञ्चालनमा परेको छ । सरकारमा गएका व्यक्तिको कार्यसम्पादन नकारात्मक छ, न त दलहरू संस्थागत रूपमा चलेका छन्, न त सरकार । नारा एकातिर, काम अर्कातिर । यस्तो कति दिनसम्म चल्छ ? जनताको पीडा र भुक्तमान बढिरहेको छ । पुरानो पुस्ता र नयाँ पुस्तामा अन्तर देखिन छाडेको छ । उमेर, काम र परिणामको नाम नयाँ पुस्ता हुनुपर्ने होइन र ? पुरानो त लगभग थाक्दै गएको सत्य हो । नयाँले सम्हाल्नुपर्दैन ? र, तदनुसार कार्ययोजना एवं कार्यक्रम तय गर्नुपर्दैन ? काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर गर्न मिल्छ ? आखिर जनताले कोसँग आस गर्ने ? भावी नेतृत्वले त सबै पुस्तासँग निरन्तर अन्तरक्रिया गर्नुपर्छ नि, कि पर्दैन ? अझ आफ्ना शुभचिन्तकसँग त नियमित र सघन रूपमा संवाद गर्नुपर्ने होइन र ? सबैले राम्रोसँग बुझे हुन्छ, संसारका राजनीतिक र आर्थिक परिवर्तन व्यक्तिको करिष्माले मात्र सम्भव भएका होइनन् । त्यहाँ सिंगो पुस्ताको मिहिनेत, त्याग र बलिदान छ ।

यस्ता प्रसंग धेरै छन्, नयाँ पुराना सबैका । अनि फेरि लिलिपुटका लघुमानवजस्तो अभिमान केका लागि ? यी कुरा तिखा लाग्लान्, तर सत्य यही हो । र, नेपाली राजनीतिको बिडम्बना पनि यही हो । संकट महसुस गरी सुविचारित रूपमा दायित्व र कर्तव्य पूरा गर्ने दिशातर्फ अघि बढ्नु आजको आवश्यकता हो ।