
द सेकेन्ड सेक्स : महिला आन्दोलनको विश्वव्यापी अभियानलाई टेको दिने गरी फ्रान्सेली लेखक, अभियन्ता सिमोन द वोउवारले यो पुस्तक लेखेकी हुन् । पुरुषतान्त्रिक व्यवस्थाले महिलालाई दोस्रो दर्जाको रूपमा चित्रण गरिरहेको परिप्रेक्ष्यमा यो पुस्तकले पुरुष निर्मित सबैखाले मूल्य–मान्यतामाथि खुर्पेचिह्न उठाएको छ । महिला र पुरुषबिचको विभेदी अवस्थालाई जैविक पाटोबाट नभई सामाजिक, सांस्कृतिक र आर्थिक सन्दर्भबाट विश्लेषण गर्नुपर्छ भन्ने सिमोनको कथन छ । जन्मँदै महिला जन्मिँदैन, बरु समाजद्वारा महिला बनाइन्छ भन्दै महिला बन्न बाध्य कारकतत्व माथिको तार्किक विश्लेषण पुस्तकमा पाइन्छ ।
आदिवासी विद्रोहको इतिहास : इतिहासकार राजकुमार दिक्पालद्वारा लिखित यो पुस्तक आदिवासीको विद्रोहको दस्ताबेज हो । आदिवासी जनजातिले तत्कालीन शासनसत्ताविरुद्ध कसरी विद्रोहको स्वर उरालेका थिए भन्ने उल्लेख गर्र्दै इतिहासविहीन बनाइएकाहरूको इतिहासलाई पुस्तकले समेटेको छ । पुस्तकमा नेवार, लिम्बू, तामाङ, भोटे, माँझकिरात, गुरुङ र आठ पहरिया राईले शासकीय सत्ताविरुद्ध गरेको विप्लवी घटनालाई अभिलेखमा आधारित रही विश्लेषण गरिएको छ । आदिवासीहरू कसरी सीमान्तीकरणको चपेटामा पिल्सिन पुगे भन्ने ऐतिहासिक पृष्ठभूमिलाई पुस्तकमा पढ्न सकिन्छ । जसले सीमान्तीय पात्रमाथिको उत्पीडनविरुद्ध प्रतिरोधी चेतनालाई अझै प्रखर बनाउन ऊर्जा दिन्छ ।
द कास्ट हाइरार्की एन्ड द स्टेट इन नेपाल : आन्द्रे हुफरद्वारा लिखित यो पुस्तक पढ्नुअघि मुलुकी ऐन १९१० को विभेदकारी दफालाई केस्राकेस्रा बुझ्नुपर्ने हुन्छ । निरंकुश राज्य व्यवस्थाको चंगुलमाझ नेपाली समाजको विभेदी अवस्था बुझ्न मुलुकी ऐन पढ्नु आवश्यक छ । आन्द्रे हुफरको यो पुस्तकभित्र मुलुकी ऐनमा रहेको जातकै आधारमा मासिन्या मतवाली करार गरेर मार्न र अवैतनिक रूपमा दासदासी बनाउन मिल्नेलगायत कानुनी प्रावधानलाई आलोचनात्मक र विश्लेषणात्मक ढंगबाट व्याख्या गरेको छ । केन्द्रीकृत एकात्मक राज्यले जुन कानुन बनाएर वर्षौंदेखि उत्पीडित राष्ट्रका मान्छेमाथि दमन गर्दै आयो, त्यही कानुनमाथिको प्रतिरोधी चेतना विस्तारका लागि यो पुस्तक पढ्न जरुरी छ ।
अनिँदो पहाडसँगै : यो पुस्तकलाई पारिजातको लेखनयात्राकै ‘टर्निङ पोइन्ट’ मानिन्छ । प्रगतिशील नेपाली उपन्यासको एउटा दरिलो पुस्तकका रूपमा ‘अनिँदो पहाड’लाई लिन सकिन्छ । पुस्तकभित्रको पात्र सुवानी, जो महिला र सीमान्तीय हुनुको सबैखाले सकस खेप्दै वैयक्तिक पीडाभन्दा माथि उठेर सामाजिक उत्पीडनविरुद्ध प्रतिरोधी आवाज उराल्ने एक किनारीकृत पात्र हो । जीवनका अनेक अत्यासमा हिँडिरहँदा संघर्षकी पर्याय एक जब्बर पात्र सुवानीलाई सम्झिँदा पनि मभित्र साहसको घडा भरिएर आउँछ । क्रान्तिप्रति समर्पित सुवानीको ‘बोल्डनेस’ समाजका बेथितिविरुद्ध आन्दोलित महिलाको प्रतिनिधित्व हो । पञ्चायती शासन व्यवस्थाविरुद्ध क्रान्तिको बिगुल फुक्दै अघि बढेको कथानक नै यस उपन्यासको सबल पाटो हो ।
इतर कविता : इतर अभियानद्वारा प्रकाशित इतर कविता सीमान्तमा पारिएकाहरूको आवाजलाई कविताको माध्यमबाट मुखरित गर्ने पुस्तक हो । पराजित पोमुद्वारा सम्पादित यो किताब विभिन्न जनजाति समुदायका कविबाट रचित कविताको संगालो हो । इतर कविताभित्रका कविताले किनारीय स्वरलाई प्रस्फुटन गर्दै किनाराबाट केन्द्रको दाबी गरेका छन् । नेपाली समाजको राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक असन्तुलनविरुद्ध प्रतिरोधी चेतनासहितको सामूहिक सिर्जनात्मक हस्तक्षेपको रूपमा यो पुस्तकलाई लिन सकिन्छ । यसभित्रका कविता इतिहासको पुनर्व्याख्यातर्फ गतिशील रहँदै सीमान्तीकृत समुदायको पक्षधरतामा खरो रूपमा उभिएका छन् ।
मेरा विश्वविद्यालयहरू : म्याक्सिम गोर्कीको आमा पुस्तक, जसले विश्वव्यापी प्रभाव छोड्यो । विश्व क्रान्तिको परिवेशमा आमाले जुन गहिरो प्रभाव छोडेको छ, त्यसकै समीकरणमा यो पुस्तक मेरो मनको चोटाचोटामा घुमिरहन्छ । गोर्कीको आत्मकथात्मक तीन उपन्यासमध्येको एक यो पुस्तक रुसको जारशाही निरकुंश शासनको चपेटाबाट जन्मिएको हो । जब–जब यो सहरको गन्जागोलमा अत्यास, बेचैनी र सकसको घेराबाट गुज्रिरहेको हुन्छु, तब यो पुस्तक पल्टाउँछु । मैले सबैभन्दा बढी दोहोर्याएर पढेको पुस्तक हो यो । जीवनको वक्ररेखीय स्वरूपलाई सरल, मिहिन र दृश्यात्मक ढंगबाट केलाउन सक्नु यस पुस्तकको सामथ्र्य हो ।
भारतीय दर्शन : मान्छेको जीवनसँग दर्शनशास्त्रको घनिष्ट सम्बन्ध हुन्छ । यसको विविध आयामलाई बुझ्न वाचस्पति गैरोलाद्वारा लिखित भारतीय दर्शन पढ्नैपर्ने पुस्तक हो । यो पूर्वीय दर्शनको आस्तिक र नास्तिक दुवै कोणलाई सटिक रूपमा विश्लेषण गरिएको पुस्तक हो । दर्शनको प्रारम्भिक बिन्दुबाट प्रस्थान गरेर फराकिलो आयामतर्फ प्रवेश गर्न यो पुस्तकले सघाउँछ । तात्विक कोणबाट संसारमा विभाजित सचेतन र अचेतन पदार्थको बाह्य र आन्तरिक स्वरूपको सूक्ष्मताको अध्ययन गर्न यो पुस्तक उपयोगी छ । सरल र सहज भाषाशैलीमा लिखित यो पुस्तकले दर्शनको चेतन, वस्तुगत ज्ञानतत्व र बुद्धि ग्राह्य तत्वको गहिराइमा पुर्याएर दर्शनशास्त्रको सर्वसङ्ग्रही स्वरूपलाई ग्रहण गर्दै विश्लेषण गर्न सक्ने तहमा पुर्याउँछ ।