
गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ । ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रबार भएको महिलातर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई २–१ ले पराजित गर्यो । गण्डकीको जितमा मयूरी राईले दुई गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेशकी गीताकुमारी म्रिङचिङले एक गोल फर्काए पनि हार टार्न सकिनन् ।
राउन्ड रोबिन लिगका आधारमा भइरहेको महिलाको प्रतियोगितामा गण्डकीको यो दोस्रो जित हो । महिलामा गण्डकीसहित त्रिभुवन आर्मी क्लब, मधेश प्रदेश र बागमती प्रदेश गरी चार टोली सहभागी छन् । लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबिच उपाधि भिडन्त हुनेछ ।
लिगमा दुई जित निकाल्दै गण्डकीले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । बिहीबार पहिलो खेलमा गण्डकीले बागमती प्रदेशलाई २–१ ले हराएको थियो । मधेशको भने दोस्रो हारपछि लिगमा शीर्ष दुई स्थानमा पुग्ने सम्भावना कमजोर भएको छ । मधेशले पहिलो खेलमा आर्मीसँग ७–० को हार सामना गरेको थियो ।
पुरुषतर्फ आर्मी र कर्णाली प्रदेशले जित निकालेका छन् । नेपाल हक्की संघको आयोजनामा जारी प्रतियोगितामा समूह ‘ए’मा रहेको आर्मीले मधेश प्रदेशमाथि १०–१ को सहज जित रच्यो । आर्मीको जितमा मनोज चौधरीले ह्याट्रिक पूरा गरे । ‘प्लेयर अफ दी म्याच’ राजेन्द्र कार्की र अमरबहादुर गुरुङले दुई तथा देवसिंह धामी, प्रदीप राजवंशी र काशीराज राईले समान एक गोल गरे ।
आर्मीको यो दोस्रो जित हो भने मधेशले दोस्रो हार सामना गर्यो । आर्मीले पहिलो खेलमा गण्डकीलाई हराएको थियो । मधेश भने कोशीसँग चुकेको थियो । पुरुषमा लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा भइरहेको छ । समूह ‘ए’मा आर्मी र गण्डकीसँगै मधेश र कोशी प्रदेश छन् ।
पुरुषकै समूह ‘बी’को खेलमा कर्णालीले बागमती प्रदेशलाई २–१ ले हरायो । कर्णालीको जितमा प्रेम भण्डारी र जीवा रावतले समान एक गोल गरे । कर्णालीका सुशान्त रावत प्लेयर अफ दी म्याच भए ।