
गोरखा भूकम्पपछिका १० वर्षमा हामीले कति सिक्यौँ ?
गोरखा भूकम्प वैज्ञानिक अध्ययन अनुसन्धानका लागि कोसेढुंगो साबित भयो । यस भूकम्पपछि हालसम्म उपलब्ध उपकरण र प्रविधि प्रयोग गरी सकभर वैज्ञानिक तथ्यांक निकाल्न सम्भव भयो । गोरखा भूकम्पले वैज्ञानिक अध्ययन, अनुसन्धानको बलियो आधार दियो । हिमालय क्षेत्रमा गएका भूकम्पमध्ये सबैभन्दा बढी वैज्ञानिक अध्ययन, अनुसन्धान गरिएको भूकम्प पनि यही हो । १९९० सालको भूकम्पको अनुभव सँगाल्ने मानिस अत्यन्त थोरै भएको समयमा गोरखा भूकम्पले हामी कति जोखिममा छौँ भन्ने देखाइदियो । यसले भूकम्पको जोखिम जहाँ पनि छ र यो जतिखेर पनि आउन सक्छ भन्ने सचेतना दियो । जोखिम पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिर छ भन्ने पनि यो भूकम्पले हामीलाई सिकाएको छ ।
भूकम्पबाट सुरक्षित हुन पूर्वतयारीको अवस्था कस्तो छ ?
गोरखा भूकम्पपछि देशभर भवन निर्माण आचार संहिता लागू भएको छ । यस बीचमा पश्चिम नेपालमा गएका भूकम्पले हामीलाई आत्ममूल्यांकनका लागि घचघच्याएका छन् । यसले सहरी क्षेत्रतिर सचेतना पुगे पनि अत्यधिक जोखिममा रहेका गाउँघरतिर अझै सचेतना पुग्न नसकेको देखाएको छ ।
बितेको १० वर्षमा राज्य र जनता कहाँ कहाँ चुके ?
यस बीचमा सचेतना फैलाएर जनतालाई जति बुझाउनुपर्ने थियो, त्यति बुझाउन नसकेको देखियो । भवन निर्माण आचार संहिता देशभर लागू गरिए पनि त्यसको कार्यान्वयनमा स्थानीय सरकारहरूले प्रभावकारी नियमन गर्न नसकेको देखियो ।
पाठ्यपुस्तकहरूमा भूकम्पीय सुरक्षासम्बन्धी सामग्री राख्न सकिएको छैन । भूकम्प आएको अवस्थामा कसरी सुरक्षित हुने भन्नेबारे अभ्यासहरू खासै हुन सकेका छैनन् । भूकम्प आइहालेको अवस्थामा उद्धार र राहत वितरणको तयारीमा पनि हामीले पर्याप्त तयारी गरेका रहेनछौँ भन्ने पश्चिममा गएका भूकम्पले देखाइदिएका छन् ।