
विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले पहिलो लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि उचालेको छ।
शुक्रबार बाँकेको नेपालगन्ज रंगशालामा भएको फाइनलमा एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० ले पराजित गरेकाे हाे । पुलिस अन्तिम समय सम्हालिन नसक्दा पराजित हुन पुगेको थियो। १० मिनेट थपिएको इन्जुरी समयको अन्तिम मिनेटमा गीता रानाले हेडर गोल गरेकी हुन्।
आठ टोली सहभागी प्रतियोगिताको विजेता एपिएफले पाँच लाख पाँच हजार ५५५ रुपैयाँ र उपविजेता नेपाल पुलिसले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन्।
एपिएफ लगातार तेस्रो मोफसल प्रतियोगिताको उपाधि जित्न सफल भएको हो। यसअघि इलाम र चितवन गोल्डकपको उपाधि जितेको थियो। राष्ट्रिय टोलीका एक दर्जन खेलाडी समावेश गरेको एपिएफले त्यसअघि महिला लिगको उपाधि पनि उचालेको थियो।
यसअघि समूह ‘बी’मा रहेको एपिएफले पहिलो खेलमा कर्णाली प्रदेशलाई ६–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो। फाइनल प्रवेशका लागि भने टोलीले कठिन खेलमा रौतहटलाई ३–० ले हराएको थियो।
यता, समूह ‘ए’मा रहेको पुलिसले पहिलो खेलमा भारतको सिलिगुडी एफसीलाई ४–० ले हरायो। सेमिफाइनलमा भने सडनडेथमा विभागीय अर्को टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको हो।
पहिलोपटक आयोजना भएको लुम्बिनी कपमा घरेलु टिम बाँके– ११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश फुटबल संघ, सुदूरपश्चिम प्रदेश फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ र भारतको सिलगुडी फुटबल क्लब सहभागी थिए।