१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १२ शुक्रबार
  • Saturday, 26 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १२ शुक्रबार o५:५९:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सरकार आन्तरिक र केही बाह्य दबाबमा रहेको ओलीको संकेत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १२ शुक्रबार o५:५९:oo
  • हामीले राष्ट्रियताको पक्षमा स्पष्ट अडान लिएको हुनाले विदेशी दलाल तत्वहरू अहिले एमालेविरुद्ध खनिएका छन् । उनीहरू हरेक दिन सरकार जान्छ, सरकार जान्छ भनेर कराउन थालेका छन् । दिनैपिच्छे अनेक भ्रम फिँजाउन खोजेका छन् । लोकतन्त्रमा पाँच वर्षका लागि सरकार बन्छ । एमालेले सरकार बनाऊँ, सरकार बचाऊँ भनेर कराएको छैन । एमालेले जहिले पनि चुनाव हेरेको हुन्छ । ढुक्कले मिसन ०८४ मा लाग्नुस् ।

प्रधानमन्त्री केपी ओलीले सरकार आन्तरिक र केही बाह्य दबाबमा रहेको संकेत गर्दै यसको स्थायित्वमाथि आफैँ प्रश्न उठाएका छन् । प्रतिपक्ष र आलोचकबाट ‘सरकार ढल्ने हल्ला’ र ‘भ्रम फिँजाउने’ काम भएको दाबी गरेका ओलीले भूराजनीति सरकारको प्रतिकूल बनिरहेको भने स्पष्ट सन्देश दिए । उनको यस्तो भनाइ कांग्रेस सभापति शेरबहादुर देउवाको विदेश भ्रमणका वेला आएको छ, जसलाई राजनीतिक दृष्टिले अर्थपूर्ण मानिएको छ । 

ओलीले एमालेको राष्ट्रवादी अडान र जनपक्षीय दृष्टिकोणबाट भयभितहरूले दिनैपिच्छे सरकार ढल्ने हल्ला गर्दै भ्रम फिँजाइरहेको दाबी गरे । लोकतन्त्र दिवसका अवसरमा एमालेले बिहीबार आयोजना गरेको युथ सेलिब्रेसन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशी दलाल तत्वहरू एमालेविरुद्ध खनिएको बताए । 

‘हामीले राष्ट्रियताको पक्षमा स्पष्ट अडान लिएको हुनाले विदेशी दलाल तत्वहरू अहिले एमालेविरुद्ध खनिएका छन् । हाम्रो राष्ट्रवादी दृष्टिकोण र अडान, हाम्रो जनपक्षीयता, लोकतान्त्रिक अभ्यास, आचरण र देश अगाडि बढाउने नीतिका कारण विभिन्न प्रकारका शक्ति भयभित छन्,’ ओलीले भने, ‘उनीहरू हरेक दिन सरकार जान्छ, सरकार जान्छ भनेर कराउन थालेका छन् । दिनैपिच्छे अनेक भ्रम फिँजाउन खोजेका छन् । लोकतन्त्रमा ५ वर्षका लागि बन्छ ।’

ओलीले सरकारको जोखिमतर्फ संकेत गर्दै सरकारको चिन्ता गर्न छाडेर निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि मिसन ८४ को चुनावी तयारीमा लाग्न कार्यकर्तालाई आग्रह गरे । ‘स्थिरता र स्थायित्वको संकल्पसहित कांग्रेस र एमालेको संयुक्त सरकार बनेको हो । सरकार यसैमा अगाडि बढिरहेकाले सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन, चुनावको बारेमा चिन्ता गर्नुपर्छ,’ उनले भने, ‘एमालेले सरकार बनाऊँ, सरकार बचाऊँ भनेर कराएको छैन । एमालेले जहिले पनि चुनाव हेरेको हुन्छ । ढुक्कले मिसन ०८४ मा लाग्नुस् ।’

देशलाई एकताबद्ध बनाउने र लोकतन्त्र तथा संविधानको रक्षा गर्दै समृद्ध देश निर्माणको अभिभारा पूरा गर्न युवाहरू अग्रसर हुनुपर्नेमा उनले जोड दिए । युवाको नेतृत्व क्षमता, योग्यता र कामबाट नेतृत्व स्थापित हुने भन्दै उनले आफ्नो नेतृत्व क्षमता प्रकट गर्दै अगाडि बढ्न आह्वान पनि गरे ।