१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १३ शनिबार
  • Saturday, 26 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख १३ शनिबार १o:१४:oo
Read Time : > 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

कवि केशव सिलवाललाई मन परेका सात पुस्तक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख १३ शनिबार १o:१४:oo

पुस्तकलाई तीन भागमा वर्गीकरण गरेर पढ्ने गरेको छु । समाज, विश्व दृष्टिकोण, विश्व इतिहास, घटना र विश्लेषणका पुस्तक पढ्ने गरेको छु । समाचार पढ्दा घटनाहरू मात्रै बुझ्छौँ । घटनाका विश्लेषण बुझ्न पुस्तक पढ्नैपर्छ । यस्तै आर्थिक, सामाजिक, सांस्कृतिक र मानव इतिहासदेखि वर्तमानसम्म जोडिएका विषयबारे लेखिएका पुस्तक पनि मेरो रोजाइमा पर्छन् । यस्तै, नेपालसम्बन्धी इतिहास र वर्तमानबारे बुझ्न पनि पढ्ने गरेको छु । साहित्यका पुस्तक पनि पढ्छु । साहित्यले मानिसको चेतनाको स्तर वृद्धि गर्न सघाउ पुर्‍याउने हुनाले साहित्यिक पुस्तक पढ्न आवश्यक छ ।

रि ओरियन्ट : ग्लोबल इकोनोमी इन दी एसियन एज : यो पुस्तक जर्मन अमेरिकन समाजशास्त्री एजी फ्रयांकले लेखेका हुन् । युरोप विकसित हुनुअघि हरेक हिसाबले एसिया अगाडि थियो । उपनिवेशकालअघि सहरी विकास, अर्थ, उत्पादन, संस्कृति, जीवन पद्धतिमा एसियनहरू युरोपियनभन्दा धेरै अगाडि थिए । त्यो वेलाको जानकारी लिन, एसियन समाज कस्तो थियो भनेर बुझ्न यो पुस्तक निकै उपयुक्त छ ।

हाउ डेमोक्रेसी डाई : यो पुस्तक अमेरिकन पोलिटिकल साइन्टिस्ट स्टेभेन लेभित्स्की र डेनियल जिवाल्टले लेखेका हुन् । पुस्तकमा लोकतन्त्र कसरी धरापमा परेको छ ? निरंकुशता कसरी बढेको छ ? चुनावबाट निर्वाचितले नै लोकतन्त्र कसरी धरापमा पारेका छन् भन्ने बुझ्न फरक ढंगले विश्लेषण गरिएको छ । अहिलेको लोकतन्त्र बुझ्न यो पुस्तकले सहयोग पुर्‍याउँछ ।

ल्यान्ड ओनरसिप इन नेपाल  ः यो पुस्तक महेशचन्द्र रेग्मीले लेखेका हुन् । पढ्नैपर्ने पुस्तकमध्ये यो एक हो । नेपालमा बिर्ता प्रक्रिया, पृथ्वीनारायण शाहको एकीकरण वेलाको नेपालको आर्थिक प्रणाली, कसरी राज्यले किसानबाट कर उठाउँथ्यो ? कसरी किसान मर्कामा पर्थे ? जस्ता विषय पुस्तकमा उल्लेख छ । नेपाललाई इतिहासदेखि वर्तमानसम्म जोडेर हेर्न यो पुस्तक निकै उपयोगी छ ।

प्याजेन्स एन्ड ओर्कस इन नेपाल  ः यो डेभिड सेडन, पियर्स एम ब्लेकी र जोन क्यामरुनको संयुक्त पुस्तक हो । पूर्व–पश्चिम राजमार्ग, पृथ्वी राजमार्ग, महेन्द्र राजमार्ग, सिद्धार्थ राजमार्ग बनेपछि नेपालका ग्रामीण बस्तीमा कस्तो प्रभाव पर्‍यो ? भनेर बुझ्नका लागि यो पुस्तक निकै सान्दर्भिक छ । स्थलगत अध्ययनका आधारमा लेखिएको पुस्तकमा किसान वा कामदारमा कस्तो असर पर्‍यो ? किसानका लागि बजार त विस्तार भयो, तर त्यहाँ भएका हुनेखानेलाई फाइदा भयो र किसानले फाइदा लिन सकेन । त्यहाँको उत्पादन बजार पुग्न सक्यो–सकेन र सडक विस्तारले समाजमा के फाइदा हुन्छ ? बुझ्नका लागि यो पुस्तक उत्तम छ । 

मदर : यो पुस्तक म्याक्सिम गोर्कीले लेखेका हुन् । तत्कालीन रसियन समाज बुझ्नका लागि, रसियामा भएको विद्रोह, विद्रोहमा मान्छेहरू कसरी सामेल भए ? छोरा विद्रोहमा जाँदा आमाले गरेको समर्थनलगायत जान्न विश्व चर्चित यो उपन्यास पढ्नैपर्ने हुन्छ । 

नयाँ घर : यो आहुतिले लेखेको उपन्यास विधाको पुस्तक हो । पुस्तकमा ४०–५० सालअघिको समाजलाई देखाइएको छ । पुस्तकमा विद्यार्थी आन्दोलनमा कसरी लागे ? नयाँ व्यवस्था निर्माणका लागि उनीहरूले गरेको समर्पण र संघर्ष पढ्न पाइन्छ । नयाँ नेपाल निर्माणका लागि गरेको समर्पण पुस्तकमा उल्लेख छ । अग्रगामी परिवर्तनका सोच भएका व्यक्तिले यो पुस्तक पढ्न सक्छन् ।

सम्पूर्ण कविताएँ : बलशाली कविताका लागि भारतीय कवि अवतार सिंह संधु ‘पास’को यो संग्रह पढ्नैपर्ने हुन्छ । विद्रोह भनेको नारामा मात्र छैन भन्ने यो संग्रहमा पढ्न पाइन्छ । समयलाई व्यक्त गर्ने कुरा, मानिसले भोगेको विभिन्न अवस्था, मानिसलाई संघर्षतर्फ प्रेरित गर्ने कुरा संग्रहमा पढ्न पाइन्छ ।