
सिँजा गाउँपालिका– ३ राइक्या (पहाड) डाँडाको भित्तामा नेपालको विशाल नक्सा निर्माण गरिने भएको छ । खस भाषाको उदगमस्थल सिँजा उपत्यका पर्यटकीय हिसाबले उर्भर भूमि हो । नेपालको सबैभन्दा गहिरो मुगुको रारा ताल पनि यसै सिँजा क्षेत्र भएरै सडकमार्गबाट पुग्ने गरिन्छ। पर्यटनको पनि क्षेत्रमा टेवा पुग्ने गरी पहाडको भित्तामा विशाल निर्माण गर्न थालिएको हो।
वैशाख पहिलो साता एक विशेष समारोहबिच प्रतिनिधिसभा सदस्य विनिता कठायतले नक्सा निर्माण कार्यको शिलान्यास गरेकी थिइन् । सिँजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धिताल, प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही, उपाध्यक्ष शीतली रोकाया, वडाध्यक्ष, जनप्रतिनिधिसहित स्थानीय बासिन्दाको उल्लेख्य उपस्थितिमा नक्सा निर्माण शिलान्यासको काम गरिएको थियो।
सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाले ठेक्का आह्वानपश्चात् निर्माण कार्य जिम्मेवारी ममता निर्माण सेवाले पाएको छ। आयोजनाका इन्जिनियर चन्द्रबहादुर खड्काका अनुसार परियोजनाको अनुमानित लागत एक करोड बजेट रहेको छ।
यो परियोजना ऐतिहासिक, शैक्षिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण हुने स्थानीय बासिन्दाले विश्वास गरेका छन् । खस राज्यको राजधानी मानिएको सिँजा क्षेत्रमा यस्तो पहल हुनु आफैँमा गौरवको विषय भएको गाउँपालिकाले जनाएको छ। रारा जाने पर्यटकलाई पनि यसले आकर्षण गर्ने देखिन्छ। नक्सा निर्माणपछि क्षेत्रको पर्यटन प्रवर्द्धन र ऐतिहासिक सम्पदाको संरक्षणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।