
वैशाख १९ गते रिलिज हुने नेपाली चलचित्र ‘झिल्को’को ट्रेलर सार्वजनिक भएको छ । आजको डिजिटल युगमा प्रविधिको अनियन्त्रित प्रयोगले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने गम्भीर असरबारे संवेदनशील कथा चलचित्रमा रहेको ट्रेलरले प्रस्ट्याएको छ ।
ट्रेलरको सुरुवात विद्यालयमा पढिरहेकी एक बालिकाले मोबाइल फोन लिएर जाँदा शिक्षकको आक्रोश झेल्नुपरेको दृश्यबाट हुन्छ । त्यसपछि डिजिटल उपकरणप्रतिको लतले बालबालिकाको स्वास्थ्यमा पार्ने प्रत्यक्ष असर, अस्पताल भर्ना हुने अवस्था र निको नहुने रोगजस्ता गम्भीर परिणामहरूलाई उजागर गरिएको छ । ट्रेलरमा देखाइएको कथावस्तु स्मार्टफोनको लतले निम्त्याउने पारिवारिक विखण्डन, अभिभावकको बेवास्ता, र अभिभावक-सन्तानबीच बढ्दो दूरीजस्ता समस्यामाथि केन्द्रित छ ।
चलचित्रकी प्रमुख कलाकार आयुषी ढकालले बालिकाको भूमिकामा प्रभावकारी अभिनय गरेकी छिन् । साथै, सुनील पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनिश श्रेष्ठ र जेभिश श्रेष्ठको पनि उल्लेखनीय अभिनय देख्न सकिन्छ ।
चलचित्रका निर्देशक यादवकुमार भट्टराईका अनुसार ‘झिल्को’ एक बालिकाको डिजिटल लतको यात्रामार्फत प्रविधिको असावधानीपूर्ण प्रयोगले निम्त्याउने संकटबारे दर्शकलाई सचेत गराउने प्रयास हो । यसअघि ‘झोला’जस्तो ऐतिहासिक र सामाजिक सन्देशमूलक चलचित्र निर्देशन गरेका भट्टराईले बालबालिका, अभिभावक, शिक्षक र नीति निर्माताबिच समन्वयको आवश्यकता दर्शाउन यो कथा चुनेको बताएका छन् ।
मिडिया फर कल्चर प्रा.लि. को ब्यानरमा निर्माण गरिएको चलचित्रको छायांकन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर तथा साउन्ड मिक्सिङ श्याम कुँवर र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् । चलचित्रको कथा तथा पटकथा यादवकुमार भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन् ।
‘झिल्को’का कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरणकुमार आचार्य रहेका छन् । चलचित्र जनता टिभीको सहकार्यमा निर्माण गरिएको हो ।