
सल्यानमा रहेका सिमसार क्षेत्र मासिन थालेका छन्। अतिक्रमण, जलवायु परिवर्तन, औद्योगिकीकरणजस्ता कारणले सिमसार क्षेत्र सुक्खा र उजाड बन्न थालेका हुन्। यसले सिमसारमै निर्भर रहेका चराचुरुंगी, जलचर र वनस्पति हराउन थालेका छन्।
जिल्लाका मुख्य सिमसार क्षेत्रमा कुपिण्डे ताल, कछुवा दह, शारदा नदी, वनगाड खोला, मर्म खोलालगायत पर्छन्। यससँगै ग्रामीण भेगमा धानखेती हुने सिमखेत पनि सिमसारमै पर्छ। डिभिजन वन कार्यालय सल्यानले संरक्षणको अभावका कारण सिमसार क्षेत्र मासिन थालेको जनाएको छ। सिमसार क्षेत्रमाथि प्रहार हुँदा चराचुरुंगी, जलचर र वनस्पति लोप हुने जोखिम बढेको छ।
डिभिजन वन कार्यालय सल्यानका डिभिजन वन प्रमुख टेकबहादुर रावलले बढ्दो शहरीकरण र अव्यवस्थित विकास निर्माणले सिमसार क्षेत्र व्यवस्थापनमा धेरै चुनौती थपिएको बताए। सिमसारको दिगो संरक्षण तथा व्यवस्थापन गर्न सके कृषि, सिँचाइ, वातावरण, ग्रामीण पर्यटन, जैविक विविधता, जनावरको संरक्षण, स्थानीयवासीका लागि आयआर्जनको माध्यम, स्थानीय तहको अर्थतन्त्र आत्मनिर्भर हुने उनले उल्लेख गरे।
पूर्ण रूपमा पानीले भिजेको क्षेत्र, प्राकृतिक रूपले बनेको तथा कृत्रिम रूपले बनाइएको, स्थायी वा अस्थायी रूपले जमेको पानी, जमिनमुनिको पानी वा वर्षाले जमेको वा बगेको पानीको क्षेत्रलाई सिमसारका रूपमा लिइने डिभिजन प्रमुख रावलले बताए।
सिमसार क्षेत्रको संरक्षण एवं प्रवर्द्धन गर्न वृक्षरोपण, रिचार्ज पोखरी निर्माण गर्दै आइरहेको कार्यालयले जनाएको छ। परम्परागत रूपमा गाउँघरमा पोखरी, दह, कुवा आदिको संरक्षण गर्ने प्रचलन प्राचीन समयदेखि रहँदै आएको छ। रावलले भौतिक विकासको तीव्र माग र अदूरदर्शी योजना कार्यान्वयनले पोखरी, दह, खोला, कुवाको महत्व घट्दै, पुरिँदै, सुक्दै गएको बताए।