
विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्यांक सार्वजनिक गरिएको छ । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका अनुसार नेपालमा हिउँचितुवाको संख्या ३९७ भएको पाइएको छ । विश्वको कुल दुई प्रतिशत हिउँचितुवाको वासस्थान रहेको नेपालमा १० प्रतिशत हिउँचितुवा भेटिएकाे आइयुसिएनको भनाइ छ । नेपालका उच्च हिमाली क्षेत्रको ३० हजार पाँच सय वर्गकिलाेमिटर क्षेत्रफलमा यसको वासस्थान रहेको छ ।
अमेरिकामा रहेको ‘स्नो लियोपार्ड ट्रस्ट’का अनुसार हाल विश्वको २० लाख किलोमिटर क्षेत्रमा तीन हजार २० देखि पाँच हजार ३९० को संख्यामा हिउँचितुवा रहेको अनुमान छ । हिउँचितुवा बढीजसो नेपाल, चीन, अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिस्तान, भारत, मंगोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानलगायतका १२ वटा मुलुकमा पाइन्छन् ।
पछिल्लो समयमा नेपालसँगै भारत, मंगाेलिया र भुटानले प्रविधि, अनुसन्धान र तथ्यांक विश्लेषण गरी हिउँचितुवाको नयाँ र आधिकारिक तथ्यांक सार्वजनिक गर्दै आएका छन् ।तथ्यांकअनुसार चीनमा कम्तीमा दुई हजारदेखि दुई हजार पाँच सय, मंगेलियामा ९५३, भारतमा ७१८, नेपालमा ३९७ र भुटानमा १३४ हिउँचितुवा रहेको विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका पर्वतीय कार्यक्रम प्रबन्धक सरिन श्रेष्ठले जानकारी दिए।
वन तथा वातावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भू–संरक्षण विभागको नेतृत्वमा कोषलगायत संघसंस्थाको सहयोगमा विभिन्न तथ्यांक र अनुसन्धानको विश्लेषण र मूल्यांकन गरी सो तथ्यांक निकालिएको उनले बताए ।