Skip This
प्रसाईंविरुद्ध बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 23 April, 2025
टेकराज थामी काठमाडाैं
Invalid date format o९:o७:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रसाईंविरुद्ध बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान 

ऋण दुरुपयोग भएको राष्ट्र बैंकको दाबी, कसुर प्रमाणित भए पाँच करोड बिगोसहित १० वर्षसम्म कैद

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:o७:oo

तीनकुने घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईंले बैंकबाट प्रवाह भएको ऋण प्रयोजनविपरीत प्रयोग गरेको खुलेको छ । घटनामा संलग्न रहेको देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रसाईंविरुद्ध अनुसन्धान सुरु गरेको हो । 

प्रसाईं अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । परिसरले उनीविरुद्ध आपराधिक उपद्रव तथा संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ । यसबाहेक बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ अनुसार पनि उनीविरुद्ध अनुसन्धान हुने भएको छ । जसको अनुसन्धान भने सिआइबीले गर्दै छ । सिआइबीका प्रवक्ता एसपी सुधीरराज शाहीले प्रसाईंविरुद्ध बैंकिङ कसुर ऐनअन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढेको बताए । उनले भने, ‘प्रसाईंले विभिन्न बैंकबाट ऋण लिएको देखिन्छ । उनले जुन प्रयोजनमा ऋण लिएका थिए, त्यसअनुसार प्रयोग गरेको देखिएन । यो बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा दफा ८ विपरीत छ । त्यसो हुँदा उनीविरुद्ध सिआइबीले अनुसन्धान थालेको छ । 

बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ मा कसैले पनि कर्जा दुरुपयोग गर्न नहुने व्यवस्था छ । उक्त दफामा भनिएको छ, ‘कसैले पनि बैंक वा वित्तीय संस्थाबाट जुन प्रयोजनका लागि कर्जा सुविधा लिएको हो, सोही प्रयोजनमा नलगाई अन्यत्र प्रयोग गरी वा गराई कर्जाको दुरुपयोग गर्नु वा गराउनुहुँदैन ।’

कसैले ऐन उल्लंघन गरे कसुरदारलाई कसुरको मात्रा हेरी न्यूनतम १० लाख रुपैयाँदेखि एक वर्ष कैद सजाय र अधिकतम एक अर्ब रुपैयाँ बिगो र १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्छ । प्रसाईंको हकमा भने उक्त ऐनको दफा १५ को उपदफा २ (च) अनुसार सजाय हुने सम्भावना छ । उक्त उपदफामा भनिएको छ, ‘पाँच करोड रुपैयाँभन्दा बढी एक अर्ब रुपैयाँसम्मको बिगो भए आठ वर्षदेखि दश वर्षसम्म कैद सजाय हुनेछ ।’

सिआइबीका अनुसार प्रसाईंले तत्कालीन एनआइसी (हाल कुमारी) बैंकबाट पूर्वाञ्चाल क्यान्सर अस्पतालका नाममा १२ करोड ५० लाख रुपैयाँ कर्जा लिएका थिए । यस्तै, नेपाल इन्भेस्टमेन्ट मेघा बैंकबाट होटेल अटिरमका नाममा पाँच करोड रुपैयाँ र गुडविल फाइनान्स लिमिटेडबाट मेडिको सप्लायर्स एन्ड इक्विपमेन्टका नाममा १० करोड रुपैयाँ कर्जा लिएका थिए । तर, उक्त रकम प्रयोजनभन्दा बाहिर दुरुपयोग भएको नेपाल राष्ट्र बैंकको अनुसन्धानले देखाएको छ । त्यसो हुँदा घटनाको अनुसन्धान गर्न राष्ट्र बैंकले सिआइबीलाई सिफारिस गरेका सिआइबी प्रवक्ता एसपी शाहीले बताए । 

उनले भने, ‘प्रसाईंले विभिन्न बैंकबाट ऋण लिएका रहेछन् । ती ऋण सही प्रयोजनमा प्रयोग भए–नभएको हेर्न राष्ट्र बैंकले अन्तरिक रूपमा छानबिन गरेको रहेछ । जुन प्रयोजनमा ऋण लिइएको छ, त्यसबाहेकका प्रयोजनमा प्रयोग भएको छानबिनका क्रममा देखिएको छ । त्यसो हुँदा घटनाको अनुसन्धान गर्न राष्ट्र बैंकले हामीकहाँ सिफारिस गर्‍यो । सोहीअनुसार घटनाको अनुसन्धान गरिरहेका छौँ ।’

सिआइबीका अनुसार प्रसाईंले सबै ऋण व्यवसाय गर्ने प्रयोजनमा लिएका थिए । तर, उक्त रकम पेस्कीका रूपमा प्रवाह भएको सिआइबीको अनुसन्धानबाट देखिएको छ । पेस्कीका रूपमा प्रवाह भएका अधिकांश रकम उनी र उनीसम्बद्ध कम्पनीमा गएको सिआइबीको भनाइ छ । प्रसाईं र उनका परिवार तथा उनीसम्बद्ध फर्म र कम्पनीका बैंक खातामा ‘राउन्ड ट्रिपिङ’, ‘रिलेटेड पार्टी ट्रान्ज्याक्स’लगायत शंकास्पद कारोबार देखिएको सिआइबी प्रवक्ता शाहीले बताए । उनले भने, ‘प्रसाईं, निजका परिवार र सम्बद्ध फर्म र कम्पनीका विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको खाताहरूमा ‘राउन्ड ट्रिपिङ, रिलेटेड पार्टी ट्रान्ज्याक्स’लगायत शंकास्पद कारोबार भएको देखियो । ऋणी फर्म/कम्पनीका अन्तिम हिताधिकारी प्रसाईं रहेको देखियो ।’

सिआइबीका अनुसार प्रसाईंविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा पनि अनुसन्धान प्रक्रिया अघि बढेको छ । सम्पत्तिको स्रोत लुकाउन विभिन्न तहका जटिल कारोबारमार्फत ‘राउन्ड ट्रिपिङ, रिलेटेड पार्टी ट्रान्ज्याक्स’ भएको सिआइबीको भनाइ छ । घटना सम्बन्धमा अनुसन्धान गर्न सिआइबीले उच्च अदालत पाटन ललितपुरबाट पक्राउ आदेशसमेत लिइसकेको छ । उनीविरुद्ध अनुसन्धान गर्न राष्ट्र बैंकले गत २३ माघमा नै सिआइबीलाई पत्राचार गरेको थियो ।

कुन बैंकबाट कति ऋण ?
प्रसाईंले तत्कालीन एनआइसी (हाल कुमारी) बैंकबाट पूर्वाञ्चाल क्यान्सर अस्पतालका नाममा १२ करोड ५० लाख रुपैयाँ कर्जा लिएका थिए । यस्तै, नेपाल इन्भेस्टमेन्ट मेघा बैंकबाट होटेल अटिरमका नाममा पाँच करोड रुपैयाँ र गुडविल फाइनान्स लिमिटेडबाट मेडिको सप्लायर्स एन्ड इक्विपमेन्टका नाममा १० करोड रुपैयाँ कर्जा लिएका थिए ।