Skip This
सामुदायिक विद्यालयमा सन्तान नपढाउने मोलुङका जनप्रतिनिधि र कर्मचारीको सुविधा रोकिने
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २६ मंगलबार
  • Thursday, 17 April, 2025
रासस ओखलढुंगा
२o८१ चैत २६ मंगलबार १४:o२:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

सामुदायिक विद्यालयमा सन्तान नपढाउने मोलुङका जनप्रतिनिधि र कर्मचारीको सुविधा रोकिने

Read Time : > 1 मिनेट
रासस, ओखलढुंगा
नयाँ पत्रिका
२o८१ चैत २६ मंगलबार १४:o२:oo

ओखलढुंगाको मोलुङ गाउँपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी नपढाउने जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षकको सेवासुविधा रोक्ने भएको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यअनुसार पालिकाले शैक्षिक सत्र ०८२ बाट सरकारका विभिन्न निकायमा आबद्ध तथा नियमित तलब, भत्ता तथा सेवासुविधा उपभोग गर्नेका सन्तति अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो।

गत फागुन १२ गतेको गाउँ कार्यपालिकाको बैठकको निर्णयमा आगामी शैक्षिक सत्रको भर्ना अभियानमा सबै जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षकका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने उल्लेख छ। सोही निर्णयअनुसार पालिकाले सार्वजनिक सूचना निकालेर सामुदायिक विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालाहरूले अनिवार्य गाउँकै सामुदायिक विद्यालयमा आफ्ना बालबालिका भर्ना गराउन आह्वान गरेको प्रशासकीय अधिकृत सन्तोष गौतमले जानकारी दिए। निर्णय कार्यान्वयन गर्दै भर्ना अभियान सन्देशमूलक बनाउन सबै सामुदायिक विद्यालयमा पालिकाले परिपत्र गरेको छ। 

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका विभिन्न चरणमध्ये सरोकारवालाका बालबालिकालाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउने नीति यस वर्षबाट कडाइका साथ कार्यान्वयनमा ल्याउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष उत्तम राईले बताए। ‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्नका लागि गाउँपालिकाको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो,’ अध्यक्ष राईले भने, ‘आगामी शैक्षिक सत्रबाट पालिकामातहत रहेका सरकारी कार्यालयका कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक र जनप्रतिनिधिले अनिवार्य आफ्ना बालबालिका सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्नेछ, नत्र कारबाही हुन्छ, सेवासुविधा तलब रोकिन सक्छ।’

जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकका छोराछोरी गाउँका विद्यालयमा नपढाउँदा आममानिसमा सन्देश राम्रो नगएको र सामुदायिक विद्यालयप्रति आकर्षण घटेकाले यसको सुधार गर्ने निर्णय गरिएको उनको भनाइ छ। सामुदायिक विद्यालयमा राज्यको ठुलो लगानी रहने र क्षमतावान् शिक्षक राखिने भए पनि गाउँका विद्यालयमा विद्यार्थी नहुँदा विद्यालय समायोजन गर्नुपर्ने अवस्था रहेकाले यो निर्णय गर्नुपरेको उनले बताए।

यो निर्णय कार्यान्वयनमा प्रश्न उठे पनि मोलुङमा यसै वर्षबाट पूर्ण रूपमा लागू हुने अध्यक्ष राईको भनाइ छ। जिल्लामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि जनप्रतिनिधि, सरकारी कर्मचारी र शिक्षकलगायतले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने आवाज विगतदेखि नै उठे पनि कार्यान्वयनमा आउन सकेको छैन। अधिकांश जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका सदरमुकाम र सहरका निजी विद्यालयमा पढाइरहेका छन्।