
शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीहरूले दिउँसै टर्च बालेर सरकारको सांकेतिक विरोध गरेका छन् ।
बानेश्वर–बबरमहल सडकखण्डमा भेला भएका शिक्षक–कर्मचारीहरूले मोबाइलको टर्च बालेर प्रदर्शन गरेका हुन् । उनीहरूले छिटो शिक्षा ऐन जारी गर्न माग गर्दै नाराबाजीसमेत गरेका थिए ।
काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूले चैत २५ गतेदेखि आम शैक्षिक हडताल घोषणा गरेका छन् । शिक्षकहरूको आन्दोलनले एसइई परीक्षाको उत्तरपुस्तिका परीक्षणसमेत प्रभावित हुँदा नतिजा प्रकाशनमा ढिलाइ हुने चिन्ता छ ।
शिक्षकहरूले यसअघि कालोपट्टी बाँधेर, सिटी फुकेर र मौन भएर पनि प्रदर्शन गरेका थिए । आज उनीहरूले मोबाइल र हेड ल्याम्प प्रयोग गरेर सरकारको ध्यानाकर्षण गराउने प्रयास गरेका छन् ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षक आन्दोलनमा छन् । यसैक्रममा उनीहरूले चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उनीहरूले यसलाई शिक्षा ऐन जारी गराउने सवालमा ‘अन्तिम र निर्णायक आन्दोलन’ भनेका छन् ।