Skip This
ट्रम्पको करविरुद्ध क्यानडाले गर्‍यो डब्लुटिओमा उजुरी
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २६ मंगलबार
  • Wednesday, 16 April, 2025
ओटाबा
२o८१ चैत २६ मंगलबार १o:२o:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

ट्रम्पको करविरुद्ध क्यानडाले गर्‍यो डब्लुटिओमा उजुरी

Read Time : > 1 मिनेट
ओटाबा
नयाँ पत्रिका
२o८१ चैत २६ मंगलबार १o:२o:oo

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार आयातमा लगाएको चर्को करप्रति क्यानडाले विश्व व्यापार संगठन (डब्लुटिओ)मा उजुरी दिएको छ । ‘क्यानडाले आफ्नो देशबाट अमेरिका पठाइने कार र कारका सामानमा २५ प्रतिशत कर लगाउने अमेरिकी कदमका सम्बन्धमा डब्लुटिओमा उजुरी परेको छ,’ डब्लुटिओले भनेको छ । संयुक्त राज्य अमेरिकामा निर्माण नगरिएका सबै कार र कारका पार्टपुर्जाका लागि अतिरिक्त कर लागू भएको दिन गत बिहीबार नै क्यानडाले उजुरी दिए पनि यसको जानकारी सोमबार मात्र डब्लुटिओ सदस्यहरूलाई दिइएको थियो । 

उजुरीमा क्यानडा सरकारले अन्तर्राष्ट्रिय व्यापार कानुनअन्तर्गत ‘संयुक्त राज्य अमेरिकाको दायित्वसँग नमिल्दो’ कर लगाएको आरोप छ । क्यानडाले अमेरिकाबाट आयात हुने दसौँ हजार सवारीसाधनमा २५ प्रतिशत कर लगाउने बिहीबार बताएको छ । गत जनवरीमा सत्तामा आएदेखि नै ट्रम्पले अमेरिका आयात हुने विभिन्न सामानमा कर वृद्धिको घोषणा गरेका थिए, जसका कारण गत हप्ता विश्वभरका देश र सामानको मूल्यमा असर पारेको छ । 

ट्रम्पले गत बुधबार घोषणा गरेको विश्वव्यापी करबाट क्यानडा धेरै हदसम्म जोगिएको थियो, किनकि वासिङ्टनले अमेरिका–क्यानडा–मेक्सिको स्वतन्त्र व्यापार सम्झौताको अधिकांश उत्पादन समावेश भएअनुरूपका सामानलाई छुट दिएको थियो ।

यसैबिच, जापानका प्रधानमन्त्री सिगेरु इसिबाले जापानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी करबाट राहत पाउनका लागि आवश्यक ‘प्याकेज’ उपलब्ध गराउने र कर छुटको प्रस्ताव गर्ने बताएका छन् । 

जापानी कम्पनी संयुक्त राज्य अमेरिकामा सबैभन्दा ठुलो विदेशी लगानीकर्तामध्ये एक हुन् । तर, ट्रम्पले गत हप्ता विश्वव्यापी ‘पारस्परिक’ करको एक भागको रूपमा नजिकको अमेरिकी सहयोगीबाट आयातमा २४ प्रतिशत भारी कर लगाउने निर्णय सार्वजनिक गरेका छन् । 

यसैबीच, मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले दक्षिणपूर्वी एसियाली देशहरूलाई अमेरिकी करविरुद्ध ‘दृढ भएर उभिन’ आह्वान गरेका छन् । ‘हामी ६४ करोड जनसंख्या र विश्वको शीर्ष आर्थिक शक्ति भएको आसियानका रूपमा दृढ भएर उभिनुपर्छ,’ प्रधानमन्त्री विभागको कर्मचारी बैठकमा अनवरले भने । 

दक्षिणपूर्व एसियाली आर्थिक मन्त्रीहरूले बिहीबार भन्सार महसुलबारे छलफल गर्न एक बैठक आयोजना गर्दै छन् । अनवरले भने, ‘मेरो सरकारको काम आसियानमा हाम्रा साथीहरूसँग सम्पर्क गर्नु थियो ताकि प्रत्येक देशले आफ्नो स्थिति बताउन सकून् । तर, एकैपटक हामी एक समूहको रूपमा सँगै जान्छौँ ।’ मलेसिया यस वर्ष १० सदस्यीय दक्षिणपूर्व एसियाली राष्ट्रहरूको संघ (आसियान)को अध्यक्षताको पालोमा रहेको छ ।