
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको वातावरण बनाउन लुम्बिनीका निजी क्षेत्रले माग गरेका छन् । लुम्बिनी प्रदेशका नेपाल उद्योग वाणिज्य संघ, उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै विमानस्थलमा नियमित उडान अवरुद्ध हुने काम भइरहेको उल्लेख गर्दै तत्काल सञ्चालनको वातावरण बनाउन माग गरेका छन् । ‘कुन अदृश्य शक्तिले यस क्षेत्रको समृद्धिको आधारका रूपमा स्थापना भएको विमानस्थल सञ्चालनमा अवरोध सिर्जना गरिरहेको छ ? त्यस्ता अवरोधलाई छिचोल्नका लागि निजी क्षेत्रका तर्फबाट सरकारलाई के–कस्तो सहयोगको आवश्यकता पर्ने हो ? आमउद्योगी–व्यवसायी तथा सर्वसाधारणका तर्फबाट वर्तमान सरकारसमक्ष हामी यो प्रश्न सोध्न चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।
लुम्बिनी प्रदेशको अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापना भएको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको गति देख्दा आमनागरिक, उद्योगी–व्यवसायीलगायत सबै पक्षमा निराशा छाएको जारी विज्ञप्तिमा उल्लेख छ । उडानहरूलाई नियमित गर्न निजी क्षेत्रतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता निजी क्षेत्रले जनाएको छ ।
उडान कटौती गरिरहेका वायुसेवा कम्पनीलाई पुनः फर्काउने वातावरण बनाउन भैरहवा हुँदै अन्तर्राष्ट्रिय उडानमा जाने यात्रुको सुविधाका लागि आकर्षक प्याकेजसहितका सेवासुविधाको व्यवस्था मिलाउन र श्रमलगायतका कार्यालयको स्थापना गर्न सरकारसमक्ष चारवटा संस्थाले माग गरेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएसँगै सरकारकै आह्वानमा यस क्षेत्रका उद्योगी–व्यवसायीले अर्बौँ लगानी गरेर प्रतिफलको अपेक्षा गरेर बसिरहेका छन् । विमानस्थल सञ्चालन हुने केही संकेत देखिएपछि व्यवसायीहरू उत्साहित मात्र भएनन्, बैंकबाट ऋण लिएर थप लगानीसमेत गरेको विज्ञप्तिमा उल्लेख छ ।
विमानस्थल उद्घाटन भएको दुई वर्षमा सरकारले विमानस्थल सञ्चालनका लागि आधारभूत सर्तका रूपमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित आवश्यक कार्यालयको स्थापना नगरेको निजी क्षेत्रको गुनासो छ । यसैगरी, सिद्धार्थ सञ्जाल रुपन्देही, सिद्धार्थ उद्योग वाणिज्य संघले पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सरकार गम्भीर बन्न आग्रह गरेका छन् ।