
एक टेलिभिजन साक्षात्कारमा भारतीय अर्बपति रतन टाटासँग पत्रकारले सोधिन्– तपाईंलाई जीवनमा सबैभन्दा बढी खुसी कहिले र के कुराले गराएको छ ? एकछिन सोचेर रतन टाटाले भने– म मेरो जीवनमा खुसीका चार चरणको कुरा गर्छु ।
पहिलो चरण : धन कमाउने र धन संग्रह गर्ने । यस चरणमा मलाई त्यो खुसी मिलेन, जुन म चाहन्थेँ ।
दोस्रो चरण : बहुमूल्य सामान अथवा वस्तुको संग्रह गर्ने । मलाई बिस्तारै महसुस भयो, यो पनि अस्थायी सुख हो । मूल्यवान् वा महँगा सामानको चमक पनि लामो समय टिक्दैन ।
तेस्रो चरण : ठुल्ठुला प्रोजेक्ट प्राप्त गर्ने । ती परियोजनामा काम गर्ने, मनग्ये आम्दानी गर्ने । त्यतिवेला भारत र अफ्रिकामा डिजेल आपूर्तिको ९५ प्रतिशत हिस्सा मेरो हातमा थियो । म भारत र एसियामै सबैभन्दा ठुलो इस्पात कारखानाको मालिक थिएँ । तैपनि, मलाई त्यो खुसी प्राप्त भएन, जुन कल्पना गर्थेंँ ।
चौथो चरण : मेरा एकजना मित्रले केही फरक क्षमता भएका बच्चाको सहयोगका लागि ह्विलचेयर खरिद गर्न अनुरोध गरे । लगभग दुई सय बच्चाका लागि ह्विलचेयर खरिद गरियो । मेरा मित्र ह्विलचेयर हस्तान्तरण गर्न मै त्यहाँ उपस्थित हुनुपर्छ भन्ने चाहन्थे । म मित्रका साथ त्यहाँ गएँ र ह्विलचेयर प्रदान गरेँ । ह्विलचेयर पाएपछि ती बच्चाको अनुहारमा खुसीको अद्भूत चमक देखियो । ह्विलचेयरमा बसेर बच्चाहरू यताउता कुदेको दृश्यले बडो भावुक बनायो ।
मलाई त्यो दिन जीवनको वास्तविक खुसी मिलेको महसुस भयो । कार्यक्रम सकेर म त्यहाँबाट बाहिरिने वेलामा एकजना बच्चाले मेरो पाइन्टमा समाए र मसँग केही बोल्न खोजे । मैले तिनलाई सोधेँ– तिमीलाई थप केही चाहियो ? जवाफमा ती बच्चाले मलाई जे भने त्यसले जीवनप्रतिको मेरो दृष्टिकोण नै बदलिदियो ।
ती बच्चाले भने– सर, म तपाईंको अनुहार याद राख्न चाहन्छु । जब कुनै दिन तपाईंसँग स्वर्गमा मेरो भेट हुनेछ, त्यतिवेला पनि तपाईंलाई चिनेर मैले पुनः धन्यवाद दिन सकुँ ।