
सहकारी ठगी अभियोगमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने रुपन्देही कारागार चलान भएका छन् । उनलाई आज जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराएर कारागार चलान गरिएको हो ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश कार्यान्वयनका लागि उनलाई पक्राउ गरेर जिल्ला अदालतमा उपस्थित गराई जेल चलान गरिएको छ ।
जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई एक करोड धरौटीमा छाड्ने आदेश गरेपछि सरकारी वकिल कार्यालय र लामिछाने दुवै उच्च अदालत पुगेका थिए। जसउपर उच्च अदालतले गत शुक्रबार सुनुवाइ गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो।
पक्राउको चौथो दिन कारागार चलान
अदालती प्रक्रिया मिचेर रविलाई पक्राउ गरेको प्रहरीले तीन रातसम्म हिरासतमा राखेर आज अदालतमा उपस्थित गराएर कारागार चलान गरेकाे छ । शुक्रबार पक्राउ गरिएका रविलाई काठमाडौंमा राखेर शनिबार बिहान हवाईमार्गबाट रुपन्देही ल्याएर जिल्ला प्रहरी कार्यालयमा राखिएकाे थियाे ।