
पूर्व–पश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डमा पर्ने १४ किलोमिटर दाउन्ने सडकखण्डमा सडक विस्तार गर्न अब २० दिन दैनिक ४ देखि ६ घण्टा बाटो बन्द गरेर काम गरिने भएको छ । चैत २७ गतेदेखि वैशाख १५ गतेसम्म बाटो बन्द गरिने भएको हो ।
पहिलो पाँच दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म चार घण्टा र बाँकी १५ दिन राति ११ बजेदेखि बिहान ५ बजेसम्म बाटो बन्द गरेर काम गरिने भएको हो । यहाँ तीन लेनको सडक बन्नेछ । जसअन्तर्गत चैत २७ गतेदेखि ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म चार घण्टा र वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म बाटो बन्द हुनेछ । जसका लागि सडक विभागले सूचना जारी गरी ट्रक, टिपरलगायत हेबी सवारीसाधनलाई पूर्वमा अरुणखोला र चोरमारामा रोकिने तथा पश्चिममा ज्यामिरे हकुई खण्डमा रोकिनेछ ।
त्यसैगरी यात्रुवाहक बस, मिनीबस, जिप, कारलगायतका सवारीसाधनलाई पूर्वमा दुम्कीवासमा र पश्चिममा बर्दघाट चिसापानीमा रोकिने आज सडक विभागले जारी गरेको सूचनामा जनाइएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेयले सडक विस्तारको काम गरिरहेको चाइना स्टेट कम्पनीले सडकमा गाडीको चाप हुँदा काम गर्न नपाएको भन्दै गुनासो गरेपछि पहिलो पाँचदिने दैनिक ४ घण्टाको दरले सवारी आवागमन बन्द गरेर बाटाका खाल्डाखुल्डी पुर्ने र बाटो सम्याउनका लागि समय बताए ।
त्यसैगरी वैशाख गतेदेखि १५ गतेसम्म दैनिक राति ६ घण्टा पहाड काट्नका लागि समय दिने गरी निर्यण भएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए ।
ट्राफिक प्रहरी निरीक्षक बन्जाराका अनुसार चैत २७ देखि ३१ गतेसम्म पाँच दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन रोकेर सडक विस्तारको काम गरिने भएको हो ।
यसअघि निर्माण कम्पनीले दैनिक सवारी आवागमन बन्द गरेर काम गर्न माग गरे पनि निश्चित समयभित्र काम सक्ने प्रतिबद्धता नजनाएका कारण प्रशासनले सवारी आवागमन गराउने निर्णय लिन सकेको थिएन । तथापि, अहिले पनि निर्माण कम्पनीले कुनै प्रतिबद्धता भने नजनाएको नवलपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए ।
पछिल्लो समय दाउन्ने खण्डमा कामले तीव्रता पाए पनि यात्रुले निक्कै सास्ती पाएको र १४ किलोमिटरको दाउन्ने सडकखण्ड पार गर्न १० घण्टासम्म समय लाग्न थालेपछि दुवै जिल्लाका सरोकारवाला छलफलमा जुटेका हुन् । दाउन्ने क्षेत्रमा निर्माण कम्पनीले यात्रुलाई सहज हुने ढंगले भन्दा पनि आफूलाई सजिलो हुने गरी काम गर्दा यात्रुले सास्ती पाएका छन् ।
दाउन्नेमा सडक विस्तार गरिने तीन लेनमा एक लेनबराबरको डाँडा काट्नुपर्ने हुन्छ । जसमध्य पूर्वी खण्डमा डाँडा काट्ने काम लगभग सकिएको र पश्चिम खण्डमा काट्न नपाएका कारण १५ दिनको समय माग गरिएको चाइना स्टेट कम्पनीका पूर्वी खण्डका कन्ट्र्याक म्यानेजर राकेश झाले बताए । उनका अनुसार आफूहरूले पश्चिम खण्डको डाँडा काट्न एक महिनाको समय माग गरिएको भए पनि पहिलो १५ दिनको काम हेरेर मात्र पछि सवारी आवागमन गर्ने मिति थप गर्ने गरी निर्णय भएको हो । उनले उक्त १५ दिनेमा डाँडा काट्न, बाटो सम्याउने, दबाउनलगायतको काम गरिने बताए । उनले भने– दाउन्नेमा लामो जाम हुने गरेको छ । काम गर्ने अवस्था नै सिर्जना भएन, त्यसैले सवारी आवागमन बन्द गरेर नै काम गर्नु पर्ने देखियो ।
पश्चिम खण्डमा कटिङ गर्नुपर्ने पूर्वी खण्डमा कटिङ लगभग सकिएको छ । उनले बर्खाअगाडि हिँड्नलाई सहज गराउने सकिने, तर सडक पक्की ढलान वा पिच गर्ने काम बर्खाअगाडि सक्ने वा नसक्ने भन्ने अवस्था अहिले नै नरहेको बताए । उनका अनुसार पूर्वखण्डमा रहेका ३१ वटा साना–ठुला कल्भर्डहरूमध्ये २३ वटाको काम सकिएको छ भने ठुला दुईवटा र साना ६ वटा गरी आठवटा कल्भर्टको काम बाँकी छ ।
उक्त कल्भर्डको काम नसकिएसम्म तत्काल बाटो पिच वा ढलानका काम अगाडि नबढ्ने उनले बताए । उनले भने, ‘६ वटा साना कल्भर्डको काम एक महिनामा सक्छौँ, दुईवटा ठुलो कल्भर्ड सक्न अहिले समय लाग्छ ।’
१४ किलोमिटर दाउन्ने सडकखण्डमध्ये पूर्वमा करिब ६ किलोमिटर सडक रहेको छ भने पश्चिममा करिब नाै किलोमिटर सडक रहेको छ । तीमध्ये पश्चिममा बर्दघाटबजारदेखि दाउन्नेको खुर्सानी खोलाको तीन किलोमिटर सडक कालोपत्रे भएको छ ।
पश्चिम खण्डका आयोजना प्रमुख शशांक मिश्रले गाडीको चाप बढी भएकोले काम गर्न नसकिएको बताए । उनले भने– मान्छे र उपकरण लगाएर काम गरेका छौँ, तर रिजल्ट आउने गरी काम गर्न सकिएको छैन । उनले १५ दिनभित्र जनशक्ति र उपकरण बढाएर काम गराएर भए पनि डाँडा कटानको काम सक्ने दाबी गरे । पश्चिम खण्डमा रहेका ७२ वटा कल्भर्डहरूमध्ये ठुलो दुईवटा र साना तीनवटा कल्भर्डको काम बाँकी रहेको उनले बताए ।
पानी पर्ना साथ पहिरो गइहाल्नेखाले दाउन्नेको संरचना भएको कारण पनि काम गर्न गाह्रो भएको उनले बताए । ६ घण्टामा धेरै काम निकाल्ने गरी काम गर्छौँ ।उनले पश्चिम खण्डको नाै किलोमिटरमध्ये सात किलोमिटर कालोपत्रे र ढलान सक्ने गरी काम अगाडि बढाउने दाबी पनि गरे । बाँकी रहेको दुई किलोमिटर सडक खाल्डाखुल्डीरहित बनाउने बताए ।