
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफू मिलेर गणतन्त्रको सहमति गरेको बताएका छन्।
आइतबार आलोकनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले पहिले आफैँ सहमति गरेर अब सत्तामा फर्कने ज्ञानेन्द्रको चाहना देशको हितका लागि उचित नहुने बताए।
‘यी सबै कुराहरू गर्ने हामी तीनजना नेता हौँ। एउटा गिरिजाप्रसाद कोइराला, दोस्रो म र त्यसपछि ज्ञानेन्द्र । पछि मात्रै हुन् प्रचण्डजी । उहाँहरू जनयुद्धको इलाकाबाट पछि मात्रै आउनुभएको हो,’ उनले भने।
०६३ वैशाख ११ गते ज्ञानेन्द्रसहित तीनजनाले गणतन्त्रको सहमति गरेपछि आफ्नो तत्कालीन पार्टी एमालेले साउन–भदौमा मात्रै निर्णय गरेको उनको जिकिर थियो। ज्ञानेन्द्रले सोही समयमा अधिकार जनतालाई सुम्पिएको स्मरण गराउँदै नेपालले भने, ‘हिजो सबै अधिकार जनतामा सुम्पिने, सार्वभौमसम्पन्न जनता बनाउने, आज फेरि म त्यो ठाउँमा हुन्नँ भन्ने हो भने देश ठुलो समस्याको खाडलमा पर्छ।’
सत्तामा फर्कने ज्ञानेन्द्रको चाहाना नभएको आफूले बुझेको भन्दै उनले ज्ञानेन्द्रको नाममा अरूले फाइदा उठाउने प्रयास गरेको बताए। राजनीति गर्ने नै भए दल खोल्न सुझाव दिँदै नेपालले भने, ‘राजनीतिक मैदानमा आउनुस्। जनताको बिचमा जानोस्, चुनाव जितेर बहुमत ल्याउनुस्। देश र जनताको कल्याण गर्नुहुन्छ भने खुसीकै कुरा हो।’