
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बजार अनुगमनका लागि जनशक्ति अभाव रहेको बताएका छन्। शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र उपभोक्ता हित संरक्षण मञ्च नेपालले गरेको व्यवसाय र उपभोक्ताको मानव अधिकार, शीघ्र र सुलभ न्यायका लागि उपभोक्ता अदालत विषय अन्तर्क्रिया कार्यक्रमा बोल्दै मन्त्री भण्डारीले उपभोक्ता संरक्षण ऐनले बजार अनुगमनको व्यवस्था गरेको भए पनि कार्यान्वयनका लागि जनशक्ति अभाव भएको बताएका हुन् ।
जनशक्ति अभावका कारण पर्याप्त बजार अनुगमनलगायत अन्य थ्रुपै काम पनि गर्न नसकिएको उनको भनाइ छ। उपभोक्ता अदालत गठनपछि यस्ता कामहरूलाई थप प्रभावकारी बनाउने उनले विश्वास व्यक्त गरे । उपत्यकाका तीन जिल्लालाई लक्षित गरेर भोलिदेखि उपभोक्ता अदालत उद्घाटन हुँदै छ।
कुनै पनि सामान खरिद गर्दा उपभोक्ताले बिल नमाग्ने कारणले पनि समस्या भएको उनले बताए । अदालतबाट हुने फैसलाको नजिरका कारण उपभोक्ता ठगिने विषयहरू कम हुँदै जाने मन्त्री भण्डारीको विश्वास थियो। अदालतबाट हुने फैसलाले व्यवसायीहरूमा पनि सुधार हुने उनको भनाइ थियो। बजारलाई सन्तुलित बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।