
पश्चिम नलवपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तालाई लागुऔषध मुद्दामा एक वर्ष कैद र दुई लाख जरिवाना सजाय भएको छ ।
नवलपरासी जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले गुप्तालाई कैदसँगै आठ हजार रुपैयाँ क्षतिपूर्ति शुल्क राहत कोषमा दाखिला गर्न आदेश भएको छ । पूर्वप्रहरीसमेत रहेका गाउँपालिकाका प्रहरी रघुनाथ धोबीलाई पनि दुई वर्ष कैद र चार लाख जरिवानाको फैसला भएको अदालतका सूचना अधिकारी भेषराज खनालले बताए । यो मुद्दामा २१ फागुनमा फैसला भए पनि बिहीबार सजाय निर्धारण भएको हो ।
गुप्ता माओवादीबाट दोस्रोपटक गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । यो मुद्दामा पाल्हिनन्दन गाउँपालिका– ३ का मन्टु भनिने विवेकप्रसाद पाण्डे अझै फरार छन् । २६ असोज ०७९ मा अदालतमा मुद्दा दायर भएको थियो ।
व्यापारिक प्रतिशोधमा फसाइएका दुई भारतीयले पाए सफाइ
व्यापारिक प्रतिशोधमा प्रहरी प्रयोग गरी लागुऔषध मुद्दामा फसाइएका दुई भारतीय नागरिक रामा गुप्ता (साह) र जितेन्द्र पासवानले सफाइ पाएका छन् ।
गुप्ता र पासवानबाट २२ असार ०७९ मा रामग्रामको पिपरहियाबाट २७० सेट डाइजेपाम, नुरफिन र फेनार्गन लागुऔषध बरामद भएको विवरण सार्वजनिक गरिएको थियो । तर, पछि छानबिनका क्रममा घटना विवरण नै बनावटी भएको र गाउँपालिका अध्यक्ष गुप्ताको योजनामा फसाइएको खुलेको थियो । त्यसपछि मात्र गाउँपालिका अध्यक्ष गुप्ता, उनका सहयोगी धोबी र विवेक पाण्डेविरुद्ध पनि लागुऔषध मुद्दामा सजायको मागदाबी लिई मुद्दा चलाइएको थियो । पाण्डे भने अझै फरार छन् । गुप्ता र पासवान निर्दाेष रहेको खुले पनि बरामदी मुचुल्का सच्याउन नमिलेपछि उनीहरूविरुद्धसमेत मुद्दा दायर भएको थियो ।
पश्चिम नवलपरासीका तत्कालीन एसपी ऋषिराम कँडेलले खटाएका सादा पोसाकका प्रहरीले सो समूहसँग मिलेर उनीहरूलाई योजनाबद्ध रूपमा फसाएका थिए । नेपालमै कबाडीको व्यापार गर्दै रामा गुप्ताको विगतमा पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष गुप्तासँग व्यावसायिक साझेदारी थियो । दुवैले मिलेर एक मोटरसाइकल कम्पनीको कबाडी सामानको ठुलो ठेक्का हात पारेका थिए । त्यो ठेक्काको २० प्रतिशत आम्दानी रामालाई दिने सहमति भएको थियो । जुन करिब डेढ करोड रुपैयाँ हुन्थ्यो । तर, गुप्ताले राजनीतिक शक्तिका आधारमा त्यो पैसा नदिएपछि उनीहरूबिच सम्बन्ध बिग्रिएको थियो ।
रामाले उनलाई सामान बेच्न छाडे । त्यसपछि उनले मुद्दामा फसाइदिने धम्की दिँदै आए । जसअनुसार योजनाबद्ध रूपमा भेट्न बोलाई उनीहरूको छेउमा लागुऔषध फालेर प्रहरी बोलाई पक्राउ गराइएको थियो ।