मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १ शुक्रबार
  • Friday, 14 March, 2025
२o८१ चैत १ शुक्रबार o८:१o:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सुस्तायो कांग्रेसको महाधिवेशन दबाब अभियान

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १ शुक्रबार o८:१o:oo

नेताहरू तितरबितर हुँदा सशक्त ढंगले दबाब दिन इतर समूह असफल

०८२ मा नियमित महाधिवेशन हुनुपर्ने कांग्रेसमा महाधिवेशनकेन्द्रित दबाब अभियान सुस्ताएको छ । संस्थापनइतर समूहमा देखिएको फुट र ०८२ मै महाधिवेशन हुनुपर्ने पक्षमा रहेका संस्थापन समूहका नेताहरूले एकीकृत रूपमा दबाब दिन नसक्दा फितलो बनेको हो । 

कांग्रेसका नेताहरू विभिन्न कारणले ०८२ भित्रै महाधिवेशन हुने आधार कम हुँदै गएको बताउँछन् । महाधिवेशनको मितिबारे पनि टुंगो लागिसकेको छैन । डा. शेखर कोइरालानिकट नेताहरू गुरुराज घिमिरे, डा. चन्द्र भण्डारी, देवराज चालिसे, सरिता प्रसाईं, हृदयराम थानीलगायतले ०८२ भित्रै महाधिवेशनका लागि दबाब अभियान थालेका थिए । गत २७ मंसिरमा अनामनगरमा सम्पर्क कार्यालय खोलेर १५औँ महाधिवेशनलाई समयावधिभित्रै सम्पन्न गराउन केन्द्रीय समितिमार्फत दबाब दिन औपचारिक अभियान सुरु गरेको थियो । तर, सशक्त ढंगले दबाब दिन सकेको छैन । ‘हामीले अभियान थालेका हौँ, तर अहिले केही गतिविधि गर्न सकिएको छैन,’ नेता भण्डारीले भने ।

अभियानको नेतृत्व गरेका नेता गुरुराज घिमिरे अभियानअन्तर्गत तत्काल कार्यतालिका बनाएर महाधिवेशनको प्रक्रिया थाल्न केन्द्रीय समितिमार्फत दबाब दिने र तल्लो तहमा पुगेर अन्तक्र्रिया गर्नेसम्मको कार्यक्रमको गृहकार्य भइरहेको बताउँछन् । तर, पछिल्ला घटनाक्रमका कारण प्रभावकारी हुन नसकेको उनको भनाइ छ । महाधिवेशन पक्षधर सबैलाई समेटेर सशक्त बनाउने घिमिरेले दाबी गरे ।

‘हाम्रो प्राथमिकता महाधिवेशन समयमै गराउनेमै छ । महाधिवेशन गर्न दबाबमूलक कार्यक्रमका लागि आन्तरिक गृहकार्य गरिरहेका छौँ । यसबिचमा भएका विभिन्न घटनाक्रमले अलमल भएको हो । अब स्ववियु निर्वाचनमा केन्द्रित हुनु छ । महाधिवेशन समयमै हुनुपर्छ भन्ने मत राख्नेहरू संस्थापन समूहमा पनि हुनुहुन्छ । समयमै महाधिवेशनको आवश्यकता देख्नेजति सबैलाई समेटेर दबाब अभियानलाई सशक्त बनाउँछौँ,’ उनले भने । इतर समूहको नेतृत्व गरेका महामन्त्री गगन थापा र डा. शेखर कोइरालाबिच उत्पन्न दरारका कारण नेताहरू अलमलमा परेका छन् । जसकारण आफ्नो राजनीतिक भविष्यको सुनिश्चितता गर्नुपर्ने बाध्यताका कारण नेताहरू खुलेर लाग्ने या मौन बस्ने भन्ने मनोवैज्ञानिक दबाबमा छन् ।

संस्थापन समूह जसरी पनि महाधिवेशन लम्ब्याउन चाहन्छ । सभापति शेरबहादुर देउवानिकट स्रोतका अनुसार अन्तिम कार्यकाल भएकाले पनि सम्भव भए ०८४ को निर्वाचन गराएर मात्रै महाधिवेशन गरेर पार्टी नेतृत्व हस्तान्तरण गर्ने देउवाको दाउ छ । जसअनुसार उनी महाधिवेशनको अवधि लम्ब्याउने तयारीमा लागेका छन् ।

कांग्रेसको १५औँ महाधिवेशन विधानतः चार वर्षभित्र ०८२ मंसिरमा हुनुपर्ने हुन्छ । विशेष परिस्थितिमा एक वर्ष कार्यकाल थप गर्ने सुविधा पनि छ । सदस्यताको टुंगो नलागी महाधिवेशन सुरु हुन सक्दैन । तर, प्रारम्भिक तयारीका रूपमा रहेको क्रियाशील सदस्यता वितरणको टुंगो लाग्न नसक्दा महाधिवेशन ढिलाइको आधार बनेको छ । सदस्यता नवीकरण र वितरणका लागि बनेको समितिको नेतृत्वमा जिम्मेवारी महामन्त्री थापालाई छ । इतर समूहको दबाब मत्थर भएसँगै संस्थापन समूहलाई भने ‘हाइसन्चो’ भएको छ । एकातिर दबाब सशक्त छैन भने पार्टी बैठकमा विषय उठान र छलफलको फोरम केन्द्रीय समिति बैठक बोलाउने कुनै टुंगो छैन । गत २३ साउनदेखि १६ भदौसम्म कांग्रेसको केन्द्रीय समिति बैठक बसेको थियो । तत्कालीन समयमा एमालेसँग सत्ता सहयात्राका लागि गरेको सातबुँदे सहमति अनुमोदन गरेको थियो । 

लामो समयसम्म बैठक नबोलाउँदा र महाधिवेशनसहितका महत्वपूूर्ण विषय केन्द्रीय समितिमा छलफल नहुँदा कांग्रेसमा असन्तुष्टि छ । नेताहरूले केन्द्रीय समितिमा महाधिवेशनका विषय उठाउने तयारी गरेका छन्, तर बैठक बोलाउन ढिलाइ हुँदा यो विषय ओझेलमा पर्दै गएको छ । कांग्रेस विधानमा प्रत्येक दुई महिनामा कम्तीमा एकपटक केन्द्रीय समिति बैठक बस्नुपर्ने अनिवार्य व्यवस्था छ ।

प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार केन्द्रीय समिति बोलाउने कुनै टुंगो छैन । ‘केन्द्रीय समिति बैठक बोलाउनेबारे कुनै टुंगो लागेको छैन,’ उनले भने, ‘यस विषयमा पार्टीमा छलफल भइसकेको छैन ।’ सहमहामन्त्री महेन्द्र यादव कांग्रेसको पाँचवर्षे अवधिमा महाधिवेशन हुने प्रचलन रहेकाले समय थप हुने सम्भावनालाई अन्यथा लिन नमिल्ने बताउँछन् । महाधिवेशनको मितिबारे केन्द्रीय समितिमा छलफल भएर टुंगो लाग्ने उनको भनाइ छ । ‘छलफलका लागि समय छ । पाँचवर्षे अवधिमा कांग्रेसको महाधिवेशन हुने गरेको छ । ०८२ मा नभए समयावधि थप हुनु नयाँ विषय होइन । यसबारे अहिले नै पार्टीमा छलफल भएको छैन । समय आएपछि केन्द्रीय समितिमा छलफल हुन्छ र महाधिवेशनको मिति टुंगो लाग्छ,’ उनले भने ।

संस्थापन समूहकै नेताहरू पनि ०८२ मा महाधिवेशन हुुनुपर्ने पक्षमा छन्, तर छलफल र दबाबका लागि एकीकृत भएर प्रयास हुन नसक्दा प्रभावकारी बन्न सकेको छैन । सहमहामन्त्री भीष्मराज आङ्देम्बे, केन्द्रीय सदस्यहरू बालकृष्ण खाण, एनपी साउद, मोहनबहादुर बस्नेत, नैनसिंह महरलगायत महाधिवेशन लम्ब्याउने देउवाको तयारीप्रति सन्तुष्ट छैनन् । महरले त मिसन महामन्त्रीको अभियान नै सञ्चालन गरिरहेका छन् । ०८४ को निर्वाचपछि महाधिवेशनका लागि सुझाव दिएका कांग्रेस पूर्वसहमहामन्त्री शशांक कोइरालासमेत पछिल्लो समय ०८२ भित्रै १५औँ महाधिवेशन हुनु उपयुक्त हुने पक्षमा देखिएका छन् । गत १३ फागुनमा जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चुनावका वेलामा अधिवेशन गराए निर्वाचनमा पार्टीलाई अप्ठ्यारो पर्ने बताउँदै ०८२ भित्रै महाधिवेशन गर्नु उचित हुने बताएका थिए । ‘०८४ को चुनावभन्दा दुई वर्षअघि महाधिवेशन गराएको राम्रो हो । त्यसपछि गरायो भने अप्ठ्यारोमा पर्छौँ । चुनावको मुखमा अधिवेशन गरियो भने तिक्तताको बाटो हुन्छ । त्यसैले ०८२ मै महाधिवेशन गर्नुपर्छ । ०८२ मा गराउन सकिएन भने चुनावपछि नै गर्नु उपयुक्त हुन्छ भन्ने लाग्छ,’ उनले भनेका थिए ।

गत १६ पुसमा चितवनमा आयोजित कार्यक्रममा पनि उनले आमनिर्वाचनको मुखमा महाधिवेशन गर्न उपयुक्त नहुने बताएका थिए । निर्वाचनको मुखमा महाधिवेशन गराउँदा त्यसको असर निर्वाचनमा पर्न नहुनेमा उनको जोड थियो । ‘०८४ मा आमनिर्वाचन हुँदै छ । त्यसको दुई वर्षपहिले नै १५औँ महाधिवेशन हुनुपर्ने हो । निर्धारित समयमा अधिवेशन हुन सकेन भने पार्टीभित्रको असन्तुष्टि बोकेर निर्वाचनमा जान सकिँदैन । निर्वाचनपछि मात्र महाधिवेशन गराउँदा उत्तम हुन्छ,’ उनको भनाइ थियो । आगामी महाधिवेशनसँगै कांग्रेसको नेतृत्व परिवर्तन हुने भएसँगै कांग्रेसमा अस्तित्वमा रहेको गुटहरू फेरबदलको संघारमा छन् । तरल अवस्थामा रहेका गुटहरूको स्पष्ट आकार देखिइसकेको छैन । जसकारण समयमै महाधिवेशनका लागि दबाब प्रभावकारी हुन सकेको छैन ।