मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २७ मंगलबार
  • Wednesday, 12 March, 2025
प्रकाश पौडेल बर्दिया
२o८१ फाल्गुण २७ मंगलबार १६:११:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बर्दियामा ४० हजार गाईभैँसीलाई खोरेत रोगविरुद्धको भ्याक्सिन लगाइने

Read Time : > 1 मिनेट
प्रकाश पौडेल बर्दिया
नयाँ पत्रिका बर्दिया
२o८१ फाल्गुण २७ मंगलबार १६:११:oo

पशुमा फैलिने खोरेत रोग नियन्त्रणका लागि बर्दियामा किसानको घरगोठमा पुगेर खोप लगाउने अभियान सुरु भएको छ। एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय गुलरियाले खोरेत नियन्त्रणका लागि खोप अभियान सुरु गरेको हो।

कार्यालयले बुधबार भ्याक्सिनेटरलाई अभिमुखीकरण तालिम दिएर खोप अभियान सुरु गरेको हो। खोरेत भाइरसबाट गाई, भैँसी, बाख्रा, बँदेल, बंगुरलगायतका जनावरमा फैलिने सरुवा रोग हो। यो रोग अन्य महामारीको तुलनामा धेरै जनावरहरूमा एकैपटक देखापर्ने हुन सक्छ। तर, यसबाट धेरै जनावर प्रभावित भए पनि थोरै जनावर मात्र मर्ने गरेको पशु चिकित्सक अनिलकुमार शर्माले बताए।

शर्माले भने, ‘सम्पूर्ण पालिका प्रतिनिधित्व हुने गरी ३५ जना भ्याक्सिनेटरलाई छनाेट गरेर खोप अभियान सुरु गरिएको हो। स्थानीयभन्दा उन्नत जातको गाईमा यो रोग फैलिने सम्भावना बढी हुने गरेको छ। यो रोग हावापानी, दानापानी तथा प्रत्यक्ष सम्पर्क, रोगी जनावरको मासु, काँचो दुध, रोगी जनावरको सम्पर्कमा रहेका मानिसबाट सर्ने हुन्छ। यो रोग लागेपछि सुरुमा १०४ डिग्रीदेखि १०६ डिग्री सेल्सियससम्म ज्वरो आउने गर्छ। त्यसपछि पशुहरू झोक्राउने, घाँसपानी नखाने, अचानक दुध दिन छोड्ने, मुखभित्र ससाना पानीले भरिएको फोकाहरू देखापर्ने र खुरको काप, कल्चौँडो र थुनमा समेत फोका देखिन थाल्छ।’

खोरेत देखापरे बिरामी पशुलाई बथानबाट अलग राख्ने, सरसफाइमा विशेष ध्यान दिने, लसपस हुन नदिने, पशु आवतजावतमा रोक लगाउने, चरन क्षेत्रमा बिरामी पशु लैजान बन्द गर्नेजस्ता कार्य गर्न पशु चिकित्सक शर्माले सुझाव दिए।

खोरेत रोग रोकथाम गर्न यस वर्ष ४० हजार भ्याक्सिन लगाउने लक्ष्य रहेको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय गुलरियाका कार्यालय प्रमुख सागर ढकालले बताए। उनले भने, ‘खोरेत रोग नियन्त्रण गर्नका लागि विगतका वर्षदेखि नै खोप अभियान चलिरहेको छ। यस वर्ष एक महिनाभित्र सक्ने गरी अभियान थालिएको हो।’