
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य प्रीति राई सर्वोत्कृष्ट महिला फुटबल खेलाडीका रूपमा सम्मानित भएकी छिन्। शनिबार योङ स्टार फाउन्डेसनले विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफकी मिडफिल्डरसमेत रहेकी प्रीतिलाई एक लाख नगदसहित सम्मान गरेको हो।
योङ स्टार फाउन्डेसनका अध्यक्ष मोहनविक्रम सिंहले प्रीतिलाई सम्मान र अवार्ड प्रदान गरेका थिए। सिंहले महिला लिग र फुटबलमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको बताए। ‘राष्ट्रिय महिला लिगमा उत्कृष्ट प्रदर्शन र फोर नेसन्समा समेत प्रीतिले निकै राम्रो खेल खेल्नुभयो। लिगमै उत्कृष्ट प्रदर्शन गरेको देखेपछि सम्मान गरेका हौँ,’ उनले भने।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको एन्फा महिला लिगमा प्रीतिको सानदार प्रदर्शनसँगै एपिएफले लगातार तेस्रोपटक उपाधि उचालेको थियो। योङ स्टार फाउन्डेसनले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)सँग सहकार्य गर्दै खेलाडी छनोट गरेको हो।
प्रीतिले यो सम्मानले खेलकुदमै लाग्न हौसला बढेको बताइन्। ‘यो सम्मानले एकदमै खुसी लागेको छ। यस्ता सम्मानले गर्दा महिला खेलाडीलाई खेलमै केन्द्रित रहन सहयोग पुग्नेछ,’ उनले भनिन्।
कार्यक्रममा एन्फाका उपाध्यक्ष विराटजंग शाही, महासचिव किरण राई, प्रवक्ता सुरेश शाह, महिला फुटबल संघकी अध्यक्ष पेमा डोल्मा लामा, पहिलो कप्तान रमा सिंह, एपिएफका प्रशिक्षक जीवेशकुमार पाण्डेलगायतको सहभागिता थियो।