मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १७ शनिबार
  • Saturday, 01 March, 2025
२o८१ फाल्गुण १७ शनिबार १९:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुलुकलाई दुर्घटनाबाट जोगाउन राजादेखि माओवादीसम्म सबै अटाउने नयाँ समझदारीको खाँचो : लिङ्देन

राजासहितको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्न प्रस्ताव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण १७ शनिबार १९:१६:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलहरू नयाँ समझदारीमा आउनुपर्नेमा जोड दिएका छन्। मुलुकमा व्यवस्था परिवर्तन जरुरी रहेको भन्दै उनले राजासहितको व्यवस्थाका लागि दलहरू नयाँ समझदारीमा आउनुपर्ने बताए।

राप्रपाले शनिबार बुटवलमा गरेको लुम्बिनी प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै लिङ्देनले राजालाई कुन ठाउँ दिने भन्नेमा दलहरू समझदारीमा नआए विद्रोह हुने चेतावनी दिए। ‘मुलुकमा थप क्षति र द्वन्द्व हुन नदिन सल्लाहबाट परिवर्तन गरौँ। जनता सडकमा आउनुभन्दा अगाडि तपाईंहरू सच्चिनुहोस्,’ उनले भने।

कांग्रेस, एमालेसहितका दलहरूलाई सच्चिन आह्वान गरेका लिङ्देनले यी दलहरूबाट सुधार र परिवर्तन सम्भव नभएको जिकिर गरे। ‘जति पर्खन्छौँ, देश बर्बाद हुन्छ, अब यही स्थितिमा देश रहँदैन,’ उनले भने, ‘मुलुकलाई दुर्घटनाबाट जोगाउन सबैका बिच नयाँ समझदारीको खाँचो छ। त्यो नयाँ समझदारी भनेको राजादेखि माओवादीसम्म सबै अटाउने मौलिक व्यवस्था हो।’

अध्यक्ष लिङ्देनले व्यवस्था परिवर्तनका लागि अब राप्रपा चुप लागेर नबस्ने र परिवर्तनको नेतृत्व गर्ने भन्दै सबै जनसमुदायलाई तयार भएर बस्न अनुरोध गरे। नयाँ मौलिक व्यवस्थामा राजा अभिभावकका रूपमा रहने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने र संसद् पूर्ण समानुपातिक निर्वाचन प्रणालीको हुनुपर्ने उनको भनाइ छ। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री दुई कार्यकालभन्दा बढी हुन नपाउने,  निर्वाचित सांसद मन्त्री बन्न नहुने र उसले कानुन निर्माणमा ध्यान दिनुपर्ने लिङ्देनको प्रस्ताव छ।

अहिलेको जस्तो महँगो जनप्रतिनिधिका संस्था मुलुकलाई आवश्यक नभएको उनको तर्क थियो। राष्ट्रिय सभा, जिल्ला समन्वय समिति आवश्यक नभएको र प्रतिनिधिसभामा पनि संख्या घटाउनुपर्ने उनले बताए। शिक्षा र स्वास्थ्य पूर्ण रूपमा निःशुल्क हुनुपर्नेमा लिङ्देनको जोड छ।