
रोटरी क्लब अफ रेसुंङा गुल्मीको आयोजनामा सञ्चालन भएको बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ५३२ जनाले सेवा पाएका छन्। जसमा २९६ जनाले इको, २०४ जनाले इसिजी र १४६ जनाले प्रयोगशाला सेवा लिएका आयोजकले जनाएको छ।
शनिबार रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले शिविरको उद्घाटन गरेका थिए। गुल्मीको रेसुंगा नगरपालिका, इस्मा, गुल्मीदरबार, मालिका, धुर्कोट गाउँपालिका र नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मी तथा अर्घाखाँचीको छ्त्रदेव गाउँपालिका सहयोगी संस्थाको रूपमा थिए। शिविरमा गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको प्राविधिक सहयोग रहेको क्लबका सचिव भागीरथ भण्डारीले जानकारी दिए।
शिविरमा मुटुरोग विशेषज्ञ डा. विशाल केसी, अभिषेक शाक्य र जितप्रसाद घिमिरेबाट मुटुरोग तथा जनरल फिजिसियन डा. मिलन पोख्रेलबाट सबै प्रकारका रोगहरूको चेकजाँच गर्ने प्रबन्ध गरी सबै प्रकारका औषधि निःशुल्क वितरण गरिएको भण्डारीले बताए। इको, इसिजी तथा अन्य आवश्यक ल्याब परीक्षणहरू निःशुल्क हुने र सबै प्रकारका रोगहरूको निःशुल्क औषधि वितरणसमेत गर्ने गरेर शिविर आयोजना गरिएको हो।
जिल्लाको विपत् व्यवस्थापन र सामाजिक कार्यक्रममा सक्रिय रोटरी क्लब अफ रेसुंगालाई विभिन्न अवार्ड प्राप्त भएका छन्। क्लबको ३६औँ नियमित बैठकमा रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३३९२ का निवर्तमान गभर्नर राजेन्द्रप्रसाद ध्वजूले रोटरी डिस्ट्रिक्ट ३२९२ अन्तर्गत रहेका १६२ क्लबमध्ये उत्कृष्ट १० क्लबभित्र पर्न सफल रोटरी क्लब अफ रेसुंगा गुल्मीलाई अवार्ड प्रदान गरेका थिए।