
सडक डिभिजन कार्यालय लहानले सप्तरीको राजविराजदेखि तोपा, हनुमाननगर हुँदै भारदहसम्मको सडक निर्माणका लागि लगाएको ठेक्का अलपत्र परेको छ । विभिन्न बहानामा ठेकेदार कम्पनीले निर्माणमा गति दिन नसक्दा साढे आठ किलो मिटर सडक निर्माण अलपत्र परेको हो।
सडक डिभिजन कार्यालय लहानले २३ असार ०७९ मा साह इन्जिनियरिङ कन्स्ट्रक्सन प्रालिसँग २५ करोड ७१ लाख ४६ हजार रुपैयाँमा दुई वर्षको म्याद राखेर ठेक्का सम्झौता गरेको थियो।
सडक निर्माण कम्पनीले ०८१ असारभित्र उक्त सडक निर्माण पूरा गरिसक्नुपर्ने थियो । तर, हालसम्म १५ प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालयको तथ्यांकले देखाएको छ । कार्यालयले फेरि एक वर्ष ठेक्का म्याद थप गरेको त्यो पनि असार ०८२ मा सकिदै छ । तर, ठेकेदार कम्पनीले निर्माण सुरु गरेको छैन।
सडक डिभिजन कार्यालय लहानका प्रमुख आशुतोष कर्णले काम सक्नेतर्फ ठेकेदारले तदारुकता नदेखाएको बताए । ‘अब थपिएको म्याद चार महिना मात्र बाँकी रहेको छ,’ कर्णले भने, ‘अब कारबाही प्रक्रिया अघि बढाउँछौं ।’
स्थानीयले गरे चक्काजाम
सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै राजविराजका स्थानीयले चक्काजाम गरेर विरोध जनाएका छन्। राजविराज–हनुमाननगर सडकखण्डमा आन्दोलन गर्दै उनीहरूले शनिबार बिहानैदेखि आवतजावत अवरुद्ध गरेका हुन्। मोटरसाइल र एम्बुलेन्सा बाहेकका सबै सवारी साधन आवतजावतमा रोक लगाइएको छ।
निर्माण पक्षलाई पटकपटक आग्रह गर्दा पनि अटेर गरेका लामो समयदेखि अलपत्र पारेकोले बाध्य भएर आन्दोलन गर्नुपरेको स्थानीय बसन्त यादवले बताए । सडक नहुँदा आवतजावतमा अत्याधिक समस्या भइरहेकोले यथासिघ्र सडकको काम गर्न उनीहरूको माग रहेको छ।
पटकपटक सरोकारवाला निकायलाई गुहार गरे पनि ठेकेदारले कुनै वास्ता नगरेको स्थानीय मेहबुब आलम खानले बताए। सडक निर्माण नहुँदा दुर्घटनाको जाखिम बढेको उनले बताए।