मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १७ शनिबार
  • Saturday, 01 March, 2025
डिलाराम भुसाल कपिलवस्तु
२o८१ फाल्गुण १७ शनिबार १६:३५:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

शिवराज र शीतगंगा नगरपालिकाकोको सीमा विवादले नदीजन्य पदार्थ निकासीमा समस्या

Read Time : > 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
२o८१ फाल्गुण १७ शनिबार १६:३५:oo

कपिलवस्तु र अर्घाखाँची जिल्लाको सीमा विवादका कारण नदीजन्य पदार्थ निकासीमा समस्या देखिएको छ। कपिलवस्तुको शिवराज नगरपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकाबिच सीमाका कारण सुकबेल खोलाको नदीजन्य पदार्थ निकासीमा समस्या देखिएपछि टकराब देखिएको हो।

उक्त विवाद समाधानका निम्ति दुवै जिल्लाका समन्वय समिति प्रमुख, नगरपालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूसहित सरोकारवालाहरूको उपस्थितिमा छलफल समेत भएको छ।

उक्त बैठकमा शिवराज नगरपालिकाका प्रमुख अजय थापाले वन कार्यालयले सिमाना स्पष्ट नगरेको बताए। उनले शीतगंगा नगरपालिकाले सिमाना मिचेर ढुंगा गिटी निकालेको आरोपसमेत लगाए। सुकबेल खोला शिवराज नगरको सम्पत्ति रहेको भन्दै उनले खोलामा शीतगंगाले ठेक्का लगाई कपिलवस्तुको बाटो हुँदै नदीजन्य पदार्थ निकासी गर्दा स्थानीयले विरोध जनाएका उल्लेख गरे।

शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले सुकबेल खोलामा सीमा विवाद रहेको बताए। सामुदायिक वनले समेत निकासा रोक्का गर्ने मुद्दा दायर गरेको जानकारीमा आएको उनको भनाइ थियो।

शीतगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेलले सुकबेल खोलामा आफ्नो पालिकाले ठेक्का लगाइसकेको बताए। ‘सुकवेल खोलामा ढुंगागिटी निकासाका लागि शीतगंगा नगरपालिकाले ठेक्का लगाइसकेको छ। जमानादेखि ठेक्का लगाउँदै आएको हो,’ उनले भने। अहिले शिवराज नगरपालिकाले यस विषयमा निहुँ खोजिरहेको उनको आरोप छ।

गत मंगलबार दुईपालिकाको बिचमा देखिएको समस्या समाधानका लागि उच्चस्तरीय बैठक तथा छलफल चन्द्रौटामा भएको थियो। दुवै जिल्लाका प्रतिनिधिले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्षसमेत आफ्ना समस्या राखेको बताएको छ।

बैठकमा सहभागी कपिलवस्तु जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले वनसँगको विवाद देखिएको बताउँदै मुख्यमन्त्रीले दुवैतिरको ठेक्का सम्झौता लगाएर काम गर्न निर्देशन दिएको जानकारी दिए।

उता, अर्घाखाँची जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले प्रत्येक वर्ष सुकबेल खोलामा शितगंगाले ठेक्का लगाउने गरेको उल्लेख गर्दै भने, ‘वनसँग आपसी समझदारीमा ठेक्का लगाउने गरिएको थियो। मुख्यमन्त्रीले पालिकाले आइई (वातावरणीय प्रभाव मूल्यांकन) गरिसकेको, तर वनले नगरेकाले दुवै पक्ष मिलेर काम गर्न निर्देशन दिएको बताए।

डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख डिभिजनल वन अधिकृत मोहन प्रसाद श्रेष्ठले माथिल्लो क्षेत्रमा शितगंगाले ठेक्का लगाइरहेको, तर सोही खोलाको तल्लो क्षेत्रमा शिवराज नगरपालिकाले आईई गर्ने तयारी गरेकाले यससम्बन्धी छलफल निरन्तर भइरहेको जानकारी दिए।

डिभिजन वन कार्यालय कपिलवस्तुका निमित्त प्रमुख प्रदीप चौधरीले सुकबेल खोलामा विवाद रहेको उल्लेख गर्दै सीमा विवादका सवालमा वन कार्यालयमार्फत कुनै कार्य गर्ने क्षेत्राधिकार नभएको जनाए। ‘यो विशुद्ध राजनीतिक सवाल हो, छलफलमार्फत निकास निकाल्न जरुरी छ,’ उनले भने। उनले सीमा विवादका लागि कार्यालयबाट प्राविधिक टोली गठन गरेर छिट्टै प्रतिवेदन तयार पार्ने बताएका छन्।

नक्सामा सुकबेल खोला कपिलवस्तुमा रहेको देखिए पनि हाल शितगंगाले ठेक्का लगाएको क्षेत्रमा समस्या देखिएको बताइएको छ। वन मन्त्रालयका सचिवसमक्ष मुख्यमन्त्री आचार्यले छलफल गरेर समस्या समाधान गर्ने तयारीमा रहेको जनाइएको छ।

बैठकमा जिल्ला समन्वय प्रमुख कपिलवस्तुका बाबुराम आचार्य, जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला, शिवराज नगर प्रमुख अजय थापा, शीतगंगा नगर प्रमुख छविलाल पौडेल, शीतगंगा उपप्रमुख गीता भाट, अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेल, शीतगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनबहादुर जिसी, अर्घाखाँचीका डिभिजन वन प्रमुख मोहन श्रेष्ठ, पूर्वनगर प्रमुख नेत्रराज अधिकारीसहित वडाध्यक्ष र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो।