मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १७ शनिबार
  • Saturday, 01 March, 2025
२o८१ फाल्गुण १७ शनिबार o७:३६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भद्रपुर झापा गोल्डकप : आयोजक भद्रपुर ब्लेजर्सलाई उपाधि

जितसँगै भद्रपुरले नगद १३ लाख र उपविजेता झापा–११ ले सात लाख हात पारे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण १७ शनिबार o७:३६:oo

भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करणको उपाधि आयोजक भद्रपुर ब्लेजर्सले जितेको छ । शुक्रबार मेची रंगशालामा भद्रपुरले झापा–११ फुटबल क्लबलाई २–० ले हरायो । जितसँगै भद्रपुरले नगद १३ लाख र उपविजेता झापा–११ ले सात लाख जितेका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजकका आशिष चापागाईं भए । उनले फाइनलमा पनि एक गोल गरेका हुन् । त्यस्तै, एक गोल सत्यम शर्माको नाममा रह्यो । 

आशिषको अग्रता 
खेलको ३०औँ मिनेटमा भद्रपुरले कप्तान आशिषको गोलमार्फत खेलमा अग्रता लियो । मिलन राईले बक्सबाहिरबाट दिएको बललाई आशिषले पहिलो बार चाप्दै गोल गरेका थिए । उनको प्रहारलाई विपक्षी गोलकिपर सन्दीप लिम्बूले पत्तै पाएनन् । 

दोस्रो गोल भने इन्जुरी समयमा सत्यमले गरे । झापाका गोलकिपर सन्दीप अघि बढेको फाइदा उठाउँदै विदेशी खेलाडी अबयमीले मिलाएको ब्याकपासलाई करिब ३० यार्ड टाढाबाट सत्यमले गोलमा परिणत गरेका हुन् । उक्त गोलसँगै सहिद स्मारक ‘बी’ डिभिजन लिगको तयारी गरिरहेको झापा उपविजेतामा सीमित भएको हो ।  

पहिलो गोल खाएपछि झापाले आक्रामक खेल प्रस्तुत गर्‍यो । तर, खेलमा फर्कन भने सकेन । भद्रपुरको बलियो रक्षापंक्तिलाई चिर्न नसक्दा झापा उपविजेता बन्न पुग्यो । कुनै समय नेपाली फुटबलमा मोफसलको क्लबका रूपमा सनसनी मच्चाएको झापाले झापामा हुने ठुला प्रतियोगितामा कहिल्यै उपाधि हात पार्न सकेको छैन ।

यसअघि पनि झापा–११ झापाको बिर्तामोडमा पटक–पटक भएको झापा गोल्डकपको फाइनलमै चुक्दै आएको छ । छैटौँ संस्करण पूरा गरेको झापा गोल्डकपमा आयोजक क्लबका रूपमा खेल्दै आएको झापा–११ पाँचौँ संस्करणसम्म लगातार उपविजेता बनेको थियो ।

झापा–११ यसपटक भने इतिहास उल्ट्याउँदै झापाकै अर्को ठुलो गोल्डकप भद्रपुर झापा गोल्डकपको उपाधि उचाल्ने दाउमा थियो । त्यसका लागि युवा स्टाइकर समीर तामाङ, रोहन कार्कीलगायत खेलाडीलाई भद्रपुर झापा गोल्डकपको सेमिफाइनलबाट टिममा भित्र्याएको थियो । तर, झापा–११ यसपटक फेरि गृहजिल्लाको ठुलो उपाधि चुम्नबाट वञ्चित भएको छ । 

विधागत पुरस्कार सबै भद्रपुरलाई
विधागततर्फका सबै व्यक्तिगत पुरस्कार आयोजक भद्रपुरका खेलाडीले प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भएका आशिषले एक लाख पाँच हजार प्राप्त गरेका छन् । तीन गोल गरेका सत्यम नै सर्वाधिक गोलकर्ता चुनिए । उत्कृष्ट गोलकिपर टेकेन्द्र थापा, उदीयमान खेलाडी आयोजकका राजेश साह र प्रशिक्षक आयोजकका सचिन्द्र धिमाल भए । सबैले जनही २५ हजार नगद प्राप्त गरेका छन् ।