
सरकारले इजरायल र हमास युद्धमा बेपत्ता कञ्चनपुरका युवा विपिन जोशीको तत्कालको अवस्थाबारे जानकारी नरहेको जनाएको छ । जेनेभामा संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा शुक्रबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विपिनको पछिल्लो अवस्थाबारे यथार्थ जानकारी नभएको बताएकी हुन् । यसअघि उनले नै विपिन सकुशल रहेको र चाँडो रिहाइको पहल भएको बताउँदै आएकी थिइन् ।
‘विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन नसके पनि उनको रिहाइका लागि पहल गरिराखेका छौँ । अन्तर्राष्ट्रिय जगत्बाट जोशी हमासको कब्जामा रहेको भए रिहाइ हुने आश्वासन पाएका छौँ,’ जेनेभाबाट शुक्रबार फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री राणाले भनिन् । तर, जोशी चाँडै मुक्त हुनेमा आफूहरू आशावादी रहेको उनले बताएकी छिन् ।
सरकारले हमास समूहसँग निकट रहेको र युद्धविराममा मध्यस्थकर्ता रहेका कतार, इजिप्टसहित इरान, साउदी अरबलगायत सबैसँग विपिन रिहाइका लागि कूटनीतिक प्रयास गर्दै आएको छ ।
एमनेस्टी इन्टरनेसनलका अनुसार हमास समूहको नियन्त्रणमा रहेका ५९ जनामध्ये २४ जना जीवित रहेको अनुमान छ । नेपाल सरकारले विपिन पनि तिनैमध्ये एक हुन सक्ने आकलन गरेको छ । पहिलो चरणको युद्धविराममा उनको रिहाइ सम्भव भएन । इजरायल र प्यालेस्टिनी हमास समूहबिच भएको पहिलो चरणको युद्धविराम सम्झौता शनिबार समाप्त हुँदै छ ।
इजरायल–प्यालेस्टिनी हमास पहिलो चरणको युद्धविराम आज सकिँदै, निरन्तरताका लागि इजिप्टमा वार्ता
इजरायलले बिहीबार रिहा गरेका प्यालेस्टिनी कैदी इजरायल र प्यालेस्टिनी हमास समूहबिच ३ माघमा भएको पहिलो चरणको युद्धविराम सम्झौता शनिबार समाप्त हुँदै छ । युद्धविरामलाई निरन्तरता दिन इजिप्टको राजधानी कायरोमा दुवै पक्षबिच वार्ता जारी छ । सरकारले हमास समूहसँग निकट रहेको र युद्धविराममा मध्यस्थकर्ता रहेका कतार, इजिप्टसहित इरान, साउदी अरबलगायत सबैसँग विपिन रिहाइका लागि कूटनीतिक प्रयास गर्दै आएको छ । इजिप्ट टुडे पत्रिकाका अनुसार इजिप्ट र कतारको मध्यस्थतामा भएको जारी वार्तामा कतार, इजिप्ट र अमेरिकी अधिकारी पनि सहभागी छन् ।
युद्धविरामको ४२ दिनमा हमासले आफ्नो नियन्त्रणमा रहेका थाई नागरिक एवं इजरायलका सैन्य र गैरसैन्य नागरिकसमेत ३० जनालाई जीवितै मुक्त गरेको छ । यसैगरी हमासले आठजना इजरायली सैनिकको शव पनि हस्तान्तरण गरिसकेको छ । बदलामा इजरायलले आजीवन कारावासको सजाय पाएकासमेत करिब दुई हजारजना प्यालेस्टिनी हमास बन्दीलाई नियन्त्रणमुक्त गरेको छ ।
युद्धविराम सम्झौताअनुसार कार्यान्वयन भएको ६ साताभित्र प्यालेस्टाइनको नियन्त्रणमा रहेका ३३ जनालाई मुक्त गर्ने सहमति कार्यान्वयन भए पनि नेपाली नागरिक विपिन त्यसमा परेनन् । सरकारले उनी हमास समूहको नियन्त्रणमा रहेको विश्वास गरेको छ ।
इजरायली सञ्चारमाध्यमका अनुसार २० असोज ०८० पछि हमास समूहको नियन्त्रणमा २५१ जना रहेकोमा ३४ जनाको मृत्यु भएको छ । त्यस दिन हमास समूहले इजरायल प्रवेश गरेर अन्धाधुन्ध गोली चलाउँदा १० नेपाली विद्यार्थीको निधन भएको थियो भने चारजना घाइते थिए । स्वदेश फर्केका विद्यार्थीले जोशीलाई आक्रमणकारी समूहले नियन्त्रणमा लिएर गएको बताएका थिए ।
०८० कात्तिकयता जम्मा ४८ हजार ३६५ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने एक लाख ११ हजारभन्दा बढी घाइते भएका छन् ।