
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी ०८५ सालसम्म सबै नागरिकलाई साक्षर बनाइसक्ने लक्ष्य सम्झाउँदै साक्षर हुन बाँकी नागरिक रहेका स्थानीय तहलाई साक्षर अभियान सञ्चालन गर्न आह्वान गरेका छन्।
सप्तरीको खडक नगरपालिकाले आज शुक्रबारदेखि सुरु गरेको ‘साक्षर नगरपालिका निर्माण’ अभियान सुरु गर्दै प्रचण्डले यस्तो आग्रह गरेका हुन्।
संविधानले आधारभूत शिक्षालाई अनिवार्य र निःशुल्क गरेको तथा शिक्षालाई नागरिकको मौलिक हकको रूपमा स्थापित गरेको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले अनिवार्य शिक्षासम्बन्धी ऐनले वि.सं. २०८५ सम्म सबै नागरिकलाई साक्षर बनाइसक्ने र साक्षर बन्न नसके सरकारी सुविधासमेत प्राप्त गर्न नसक्ने व्यवस्था गरेकाले यसमा सबै स्थानीय तहको वेलैमा ध्यान जानुपर्ने बताए।
खडक नगरपालिकाले आफ्ना नागरिकलाई साक्षर बनाउने अभियान थालेर महत्त्वपूर्ण सुरुवात गरेको उल्लेख गर्दै उनले यस्तो अभियान सबै पालिकाले चलाउनुपर्ने बताए।
जनताको ठुलो बलिदानपछि प्राप्त भएको संविधानले शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हकको रूपमा स्थापित गर्नु ठुलो सफलता भएको उल्लेख गर्दै प्रचण्डले संविधानअनुसार कानुन बनाउने र कानुन कार्यान्वयन गरेर जनताको जीवन बदल्ने अभियानलाई तीव्र बनाउनुपर्ने बताए।
संविधानको मूल मर्म समाजवादउन्मुख अर्थ सामाजिक व्यवस्था भएको र यसका लागि निःशुल्क तथा अनिवार्य शिक्षा, निःशुल्क स्वास्थ्य आदि कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने र त्यसमा स्थानीय तहले अगुवाइ गर्नुपर्ने उनले स्पष्ट गरे। उनले आफ्नो पार्टीले स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने नीति अघि सारेको जानकारी दिए।