![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/madan-bhandari2025-02-12-02-39-54.gif)
राष्ट्रिय युवा संघ नेपालले कास्कीका मदन भण्डारीलाई युवा विज्ञ परिषद्को नेतृत्वमा चयन गरेको छ। मंगलबार युवा संघले जारी गरेको सर्कुलरमार्फत जिम्मेवारी हेरफेर गर्दै उनलाई परिषद्को प्रमुख बनाइएको हो।
परिषदमा एक प्रमुख, एक उपप्रमुख र एक सचिवसहित ५१ केन्द्रीय सदस्य रहनेछन्। परिषद्लाई सक्रिय र सशक्त बनाउने लक्ष्यसहित नयाँ नेतृत्व चयन गरिएको युवा संघले जनाएको छ।
भण्डारी राष्ट्रिय युवा संघ नेपालमा लामो समयदेखि सक्रिय छन्। उनी साइबर सर्कल विभागका संस्थापक प्रमुख हुन्, जसले डिजिटल प्रविधि, साइबर सुरक्षाका मुद्दा र सामाजिक सञ्जालको प्रयोग त्यसको असर र उपयोगिता र सक्रियतालाई प्रवर्द्धन गर्दै आएको छ।
उनको नेतृत्वमा साइबर सर्कल संगठनकै प्रभावशाली अभियानहरूमध्ये एक बनेको थियो। अब युवा विज्ञ परिषद्लाई पुनः सक्रिय बनाउन, रचनात्मक कार्यक्रम अघि बढाउन र नीति निर्माणमा विज्ञ युवाको प्रभावकारी भूमिकामा उनलाई खटाइएको छ ।
नयाँ नेतृत्वसँगै युवा विज्ञ परिषद्ले अब व्यावसायिक क्षेत्र, विज्ञान–प्रविधि, राजनीति, समाजसेवा र शिक्षालगायतका क्षेत्रका युवाविद् तथा विज्ञहरूलाई सक्रिय रूपमा संलग्न गराउने योजना बनाएको छ।
‘परिषद् अब तदारुकताका साथ अघि बढ्नेछ। हामी नीतिगत अनुसन्धान, समसामयिक विषयमा विज्ञ परामर्श, तथा युवाको पेसागत क्षमता अभिवृद्धि गर्ने कार्यक्रम ल्याउँदै छौँ,’ भण्डारीले बताए।