भारतको उत्तराखण्डस्थित न्यायालयले एक नेपाली युवकलाई २० वर्ष कारावासको सजाय सुनाएको छ। सात कक्षामा पढ्ने १४ वर्षीया स्थानीय किशोरीमाथि बलात्कारको अभियोगमा दोषी ठहर गर्दै अदालतले २० वर्षको सजाय र ५० हजार जरिवानाको फैसला सुनाएको हो।
दार्चुलाको खलंगा ठेगाना भएका रवि सिंह नामका ३३ वर्षीय युवकलाई भारतको उत्तराखण्ड राज्य, पिथौरागढ जिल्लाको न्यायालयले बिहीबार सजाय तोकेको हो। फैसलाअनुसार ०७७ भदौमा बालिकामाथि बलात्कारको आरोपमा रविलाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको थियो। मजदुरी गर्न भारत गएका उनले बालिकालाई ललाइफकाइ पाँच दिनसम्म नियन्त्रणमा राखेर बलात्कार गरेको बताइएको छ।
आफन्तको उजुरी र विभिन्न प्रमाणका आधारमा भारतीय प्रहरीले अनुसन्धान सकेर मुद्दा दर्ता गरेपछि चार वर्षपछि फैसला आएको पिथौरागढका जिल्ला शासकीय अधिवक्ता प्रमोद पन्तले बताए। १६ वर्षमुनिका बालबालिकाहरूमाथि हुने अपराधसम्बन्धी विशेष कानुनअनुसार पिथौरागढ जिल्लाका ‘न्यायालय विशेष सत्र न्यायाधीश (पोक्सो)’ शंकर राजले उक्त फैसला सुनाएका हुन्।
भारतमा सन् २०१२ मा ल्याइएको पोक्सो एक्ट (लैंगिक अपराधबाट बालबालिकाको संरक्षण अधिनियम– २०१२) अनुसार छुट्टै न्यायालयले १६ वर्षमुनिका बालिकामाथि हुने अपराधसम्बन्धी मुद्दा हेर्ने गर्छ। भारतीय उक्त कानुनअनुसार २० वर्ष र ५० हजार जरिवानाको फैसला गरेको अदालतले जरिवानाबापतको रकम तिर्न नसके थप पाँच वर्ष सजाय हुने भनिएको छ।
साथै पीडित किशोरीलाई राज्य सरकारले ३० दिनभित्र पाँच लाख क्षतिपूर्ति दिनुपर्ने र किशोरीको पालनपोषणको जिम्मा लिनुपर्ने फैसलामा उल्लेख छ। पिथौरागढको जिल्ला न्यायालयले सोही कानुन (पोक्सो एक्ट)अनुसार चार वर्षअघि बझाङका अर्का एक नेपाली युवकलाई मृत्युदण्डको फैसला सुनाएको थियो। उनी हाल अमलोडा जेलमा छन्।