मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २६ शुक्रबार
  • Friday, 10 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ पौष २६ शुक्रबार o७:४९:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक प्रा. लोकराज बराललाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष २६ शुक्रबार o७:४९:oo

प्रायः हाम्रा दलका नेतृत्व आफ्नो कार्यकाल लम्ब्याउन किन मरिहत्ते गर्छन् ?
मानव स्वभाव नै स्वार्थी हुन्छ । नेतृत्वमा पुग्नेहरूको स्वार्थप्रेरित प्रवृत्तिले गर्दा यस्तो अवस्था देखिने हो । येनकेन प्रकारेण जसरी हुन्छ र जहिलेसम्म सकिन्छ, आफैँ नेतृत्वमा अडिने सोच प्रायः दलका नेतृत्वमा देखिन्छ । भर्खरै प्रधानमन्त्री केपी शर्मा ओलीजीले यो गठबन्धनको नेतृत्व गर्दाको सहमति बिर्सेर ०८७ पछि मात्र संविधान संशोधन हुन्छ भनेका छन् । यो पनि प्रकारान्तरले त्यतिखेरसम्म आफू नेतृत्वमै रहने संकेत हुन सक्छ ।  

कांग्रेस नेतृत्वले विधानको व्यवस्थालाई किन पालना नगरेका होलान् ?
विधानलाई बलियो बनाएर पार्टीलाई संस्थागत गराउने दिशामा कांग्रेस नेतृत्वले सशक्त पहल लिएको देखिन्न । हुन त पार्टी विधानको के कुरा गरिरहनु ? देशकै संविधानको त पालना गर्दैनन् नेताहरूले । विगतमा ओलीजीले संविधानका सीमा नाघेर दुईदुईपटकसम्म संसद् विघटन गरेको र उनको असंवैधानिक कामलाई दुवैपटक अदालतले सच्याइदिएको होइन ? त्यसैले, जब नेतृत्वमा न्यूनतम सोच, संस्कारको अभाव हुन्छ, तब देखिने यस्तै हो । फेरि कांग्रेसमा पहिलेदेखि नै नजिर यस्तै छ । पार्टीको विधानमा विशेष परिस्थितिमा कार्यकाल एक वर्ष लम्ब्याउन सकिने छिद्र राखिएको छ । त्यस छिद्रलाई टाल्नुको साटो सबैमा त्यसैबाट छिर्ने प्रवृत्ति हाबी हुँदै आएको देखिन्छ । 

यस्तो प्रवृत्तिले पार्टी र नेतृत्वलाई बलियो बनाउला कि कमजोर ?
यस्तो स्वार्थप्रेरित कार्यले पार्टी र नेतृत्वलाई केको बलियो बनाउँथ्यो ? एक न एक दिन महाधिवेशनको सामना गर्नै छ भने विधानको व्यवस्थाअनुरूप समयमै गरिदिए चाहिँ पार्टी र नेतृत्व बलिया हुने हुन् । तर, हामीकहाँ हाबी देखिएको नेतामुखी तन्त्रमा कसैलाई संस्था बलियो चाहिएकै छैन, सबैलाई आफू बलियो भए पुगेको छ ।