शीतलहर बढेसँगै महोत्तरीका १४ स्थानीय तहले बर्खे बिदाबाट कट्टा हुने गरी सामुदायिक र संस्थागत विद्यालयमा जाडो बिदा दिएका छन् । दिनभरिको हुस्सु र शीतलहरले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै जिल्लाका १५ मध्ये १४ स्थानीय तहले जाडो बिदा दिएका हुन् ।
गौशाला नगरपालिकाले भने बिदा नदिएको नगरका प्रमुख प्रशासकीय अधिकृत सुबोधकुमार ठाकुरले बताए । विभिन्न स्थानीय तहले आ–आफ्नो पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा २२ पुसदेखि १ माघसम्म बिदा दिएका छन् ।
मनरा सिस्वा नगरपालिकाले २४ देखि २९ पुससम्म, पिपरा गाउँपालिकाले २२ देखि २९ पुससम्म, महोत्तरी गाउँपालिकाले २४ देखि २६ पुससम्म, एकडारा गाउँपालिकाले २४ पुसदेखि १ माघसम्म, जलेश्वर नगरपालिकाले २३ देखि २९ पुससम्म, भंगहा नगरपालिकाले २४ देखि २९ पुससम्म, मटिहानी नगरपालिकाले २२ देखि २९ पुससम्म, लोहारपट्टी नगरपालिकाले २२ देखि १ माघसम्म, बल्वा नगरपालिकाले २३ देखि २९ पुससम्म, सम्सी गाउँपालिकाले २४ देखि २९ पुससम्म, सोनमा गाउँपालिकाले २४ देखि २९ पुससम्म, औरही नगरपालिकाले २५ देखि २९ पुससम्म, रामगोपालपुर नगरपालिकाले २४ देखि २९ पुससम्म र बर्दिवास नगरपालिकाले २५ देखि २९ पुससम्म जाडो बिदा दिएका छन् । शीतलहर बढेपछि बर्दीवास र रामगोपालपुर नगरपालिकाले दैनिक ज्यालादारी गर्ने र विभिन्न कारण घरबाट निस्कनुपर्नेका लागि चोक तथा बस्तीमा सामूहिक घुर (आगो ताप्ने) व्यवस्था गरेका छन् ।