मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २४ बुधबार
  • Thursday, 09 January, 2025
कुशलसुन्दर श्रेष्ठ
२o८१ पौष २४ बुधबार १४:३७:oo
Read Time : > 4 मिनेट
नयाँ यात्रा २०२५ प्रिन्ट संस्करण

युवा उद्यमशीलता : आत्मनिर्भर अर्थतन्त्रको आधार

Read Time : > 4 मिनेट
कुशलसुन्दर श्रेष्ठ
नयाँ पत्रिका
२o८१ पौष २४ बुधबार १४:३७:oo

बलियो, आत्मनिर्भर र समृद्ध मुलुकका लागि उद्यमी र उद्यमशीलता अत्यावश्यक हुन्छ । जुनसुकै उमेर समूह, लिंग वा समुदायबाट हुने उद्यमले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याइरहेका हुन्छन् । यसर्थ, युवा उद्यमी र उद्यमशीलता अत्यन्त महत्वपूर्ण छ ।

संसारभर नै युवा उद्यमी साना तथा मझौला उद्यम र स्टार्टअपमा जोडिएका छन् । त्यसो त ठुलाठुला उद्यम–व्यवसाय पनि युवाहरूले सफलतापूर्वक चलाइरहेका उदाहरण प्रशस्तै छन् । विकसित अर्थतन्त्रमा साना तथा मझौला उद्यम र स्टार्टअपहरूले करिब ६० प्रतिशत योगदान दिएका हुन्छन् । यस्ता उद्यममा युवाहरूको वर्चश्व देखिन्छ । नेपालको अर्थतन्त्रमा साना तथा मझौला उद्यम र स्टार्टअपको योगदान तुलनात्मक रूपमा कम भए पनि उल्लेखनीय भने देखिन्छ । त्यसैले, साना तथा मझौला उद्यम र स्टार्टअपहरूलाई अवमूल्यन गर्नुहुँदैन । यसको प्रवद्र्धनमा ध्यान दिनुपर्छ ।

युवा उद्यमशीलता आर्थिक रूपमा मात्रै नभई सामाजिक, सांस्कृतिक तथा राजनीतिक दृष्टिकोणले पनि महत्वपूर्ण छ । बेरोजगारी हाम्रो देशको सबैभन्दा ठुलो समस्यामध्ये एक हो । बेरोजगारी आर्थिक मात्र नभई सामाजिक र राजनीतिक समस्या पनि हो । युवा उद्यमशीलता विकास यो समस्या समाधानको आधार हुन सक्छ । युवा उद्यमशीलतामार्फत ठुलो संख्यामा रोजगारी सिर्जना गर्न सकिन्छ । एकजना युवा उद्यमी बन्दा उसले कैयौँलाई रोजगारी दिन सक्छ । युवा उद्यमशीलताले देशमा उत्पादन वृद्धि गर्छ । सेवा तथा वस्तुको उत्पादन बढेपछि त्यसले आत्मनिर्भरताको अवसर दिन्छ । अहिले हामीले ठुलो व्यापार घाटा व्यहोरिरहेका छौँ । व्यापार घाटा न्यूनीकरणका लागि उत्पादन वृद्धि अत्यावश्यक छ । युवा उद्यमशीलता प्रवद्र्धन गर्न सके उत्पादन तथा निर्यात वृद्धि गरी परनिर्भरता कम गर्न सकिन्छ ।

युवा भनेका नवीन सोच र सिर्जनाका धनी हुन्छन् । उनीहरूलाई उद्यममा जोड्न सके तिनले विद्यमान समस्या समाधानका नयाँ–नयाँ उपाय ल्याउन सक्छन् । थुप्रै स्टार्टअपहरू उद्यमका रूपमा मात्रै विकास भएका छैनन्, उनीहरूले देशका कतिपय समस्या समाधान गरेका छन्, मानिसका दैनिक जीवनयापनलाई सहज पनि बनाएका छन् ।

मूलतः रोजगारी सिर्जना, उत्पादन वृद्धि, सूचना प्रवधिको विकास तथा प्रयोग एवं 
बढ्दो आत्मनिर्भरताले देशलाई समृद्धितर्फ लैजान्छ । युवा उद्यमशीलतामार्फत रोजगारी सिर्जना, उत्पादन वृद्धि, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन, नवीन सोच र सिर्जनामार्फत देशको अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ ।

नेपालमा युवा उद्यमशीलताको अवस्था
पछिल्लो समय नेपालमा युवा उद्यमशीलता क्रमशः बढ्दै गएको देखिन्छ । हो, वैदेशिक रोजगारीका लागि विदेश जान एयरपोर्ट पुग्ने युवाको संख्या अत्यासलाग्दो देखिन्छ नै । तर, स्वदेशमै केही गरौँ भनेर यहाँ उद्यम–व्यवसाय गर्ने युवाको संख्या पनि सकारात्मक रूपमा बढ्दै गएको देखिन्छ ।

विकसित अर्थतन्त्रमा साना तथा मझौला उद्यम र स्टार्टअपहरूले करिब ६० प्रतिशत योगदान दिएका हुन्छन्। यस्ता उद्यममा युवाहरूको वर्चश्व देखिन्छ

खासगरी सूचना तथा सञ्चार प्रविधि, पर्यटन, कृषि र ई–कमर्सजस्ता क्षेत्रमा युवाहरूको उपस्थिति बढ्दै गएको छ । कोही उद्यमी नै भएका छन् भने कोही स्टार्टअपका रूपमा प्रवेश गरिरहेका छन् । डिजिटल प्रविधि र नवीनतामा आधारित उद्यम–व्यवसायहरूप्रति युवाहरूको चासो तथा आकर्षण बढिरहेको छ । जसकारण नेपालको सूचना प्रविधिसँग सम्बन्धित क्षेत्रमा करिब ४० प्रतिशत वृद्धि देखिएको छ । यसले देशमै केही गर्न सकिन्छ भन्ने सन्देश पनि दिइरहेको छ । तर, ठुलो संख्यामा युवाहरू अझै पनि रोजगारीको खोजमा विदेश गइरहेका छन्, यसले देशमा उद्यमशीलताको अपेक्षित विकासमा असर पारेको छ । कतिपय अवस्थामा देशमा केही हुन सक्दैन भन्ने गलत भाष्य सिर्जना गर्ने काम भइरहेको छ ।

युवा उद्यमशीलताका मुख्य चुनौती
नेपालमा जुनसुकै उमेर, लिंग, वर्ग वा समुदायका लागि समेत उद्यम–व्यवसाय गर्न विभिन्नखाले चुनौती देखिन्छन् । यद्यपि, सरकार र सरोकारवालाले त्यस्ता चुनौतीलाई कम गर्दै अनुकूल वातावरण सिर्जना गर्ने प्रयास गरिरहेको देखिन्छ । युवा उद्यमशीलतामा पनि थुप्रै चुनौती देखिन्छन् । युवा उद्यमशीलताको सबैभन्दा ठुलो चुनौती वित्तीय पहुँच हो । बैंक तथा वित्तीय संस्थाबाट ऋण प्राप्त गर्न कठिनाइ छ । विशेष गरी स्टार्टअपहरूलाई सुरुवाती लगानी (बिउपुँजी) जुटाउन समस्या हुन्छ । नेपालमा परियोजनाको आधारमा कर्जा लगानी गर्ने प्रावधान छैन । धितो नराखी कर्जा नदिने प्रवृत्तिका कारण युवा उद्यमी तथा उद्यमशीलतामा जोडिन चाहने युवाहरू वित्तीय पहुँचबाहिर छन् ।

नेपालमा युवाहरूलाई पर्याप्त सीप र ज्ञानको उपलब्धता नहुनु अर्को चुनौती हो । कुनै पनि उद्यम–व्यवसाय सञ्चालन र व्यवस्थापनका लागि आवश्यक सीप र तालिमको अभाव छ । उद्यम व्यवसाय सुरु गरिहाले पनि सीप र ज्ञान नहुँदा त्यसले गति लिन नसक्ने, बिचमै छाड्नुपर्नेजस्ता समस्या पनि देखिएका छन् । त्यस्तै, युवाहरूमा स्वाभाविक रूपमा अनुभवको कमी हुन्छ । त्यसैले उनीहरूलाई मार्गदर्शन र परामर्शको आवश्यकता पर्छ । धेरैजसो युवा उद्यमीहरूले उचित मार्गदर्शन र परामर्श प्राप्त गर्न सकिरहेका छैनन् ।

युवा उद्यमशीलताका लागि नीतिमा पनि समस्या छ । नेपाल सरकारले युवालक्षित थुप्रै कार्यक्रम सञ्चालन गरेको छ । ती पर्याप्त छैनन् । जति चलेका छन् ती पनि प्रभावकारी छैनन् । युवा उद्यमीलाई बजार पहुँचको पनि समस्या छ । हाम्रो बजार सीमित छ । भएकै बजारमा समेत पहँुच छैन । बजारीकरणमा सरकार र सरोकारवालाले सघाउन सक्नुपर्छ ।

युवा उद्यमशीलता प्रवद्र्धनमा पहल
सरकारले स्टार्टअप तथा युवा उद्यमशीलता विकासका लागि नीति तथा कार्यक्रम बढाउँदै लगेको छ । यसैअन्तर्गत औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (आइइडिआई)मार्फत स्टार्टअपहरूलाई २५ लाखसम्मको सहुलियत ऋण उपलब्ध गराउने कार्यक्रम पनि अघि बढेको छ । यसअन्तर्गत थुप्रै युवाले स्टार्टअप सुरु गरेका छन् भने धेरै युवा प्रक्रियामा छन् । थुप्रै नीतिगत परिवर्तन पनि भएका छन् । बजेट तथा नीति–कार्यक्रममार्फत समेत युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने घोषणा भएका छन् । बजेटले देशभर इनक्युबेसन सेन्टरहरूको विकास गर्ने घोषणा गरेको छ । निजी क्षेत्रसँगको सहाकार्यमा यो कार्यक्रम कार्यान्वयनको चरणमा पुगेको छ । कृषि उद्यम प्रवद्र्धन गर्न अनुदान र तालिमको व्यवस्थासमेत गरिएको छ ।

सरकारले अघि बढाएका यी कार्यक्रम मात्रै पर्याप्त छैनन् । यस्ता कार्यक्रमको कार्यान्वयनलाई प्रभावकारी बनाइनुपर्छ । सहुलियत कर्जा, तालिमलगायत कार्यक्रममा जोडिन युवाहरूलाई सहजीकरण गरिनुपर्छ । झन्झटिला कानुनी तथा नियमनकारी व्यवस्थालाई हटाउनुपर्छ । प्रक्रियागत उल्झन र कमजोर अनुगमनका कारण धेरै युवाले सरकारका यस्ता कार्यक्रमबाट लाभ लिन नसकेको गुनासो गरिरहेका छन् ।

सरकारले मात्रै होइन, युवा उद्यमशीलता प्रवद्र्धनमा निजी क्षेत्रले पनि काम गरिरहेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्सजस्ता निजी क्षेत्रका ठुला प्रतिनिधिमूलक संस्थाले पनि स्टार्टअप तथा युवा उद्यमशीलता प्रवद्र्धनका विभिन्न कार्यक्रम अघि बढाएका छन् । हाम्रो संस्था युवा उद्यमी मञ्चले पनि सरकार, महासंघ र अन्य संघसंस्थासँग सहकार्य गरेर यस्ता कार्यक्रम गरिरहेको छ ।

निजी क्षेत्रले इनक्युबेटर र एक्सेलेरेटर कार्यक्रमहरू अघि बढाएका छन् । त्यस्तै, तालिम र सीप विकास कार्यक्रमसमेत चलाइरहेका छन् । निजी क्षेत्रका संघसंस्थाले स्टार्टअपहरूलाई सहयोग गर्नका लागि कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् । निजी क्षेत्रका साना, ठुला व्यावसायिक प्रतिष्ठान, समूह तथा घरानाहरूले पनि स्टार्टअपलाई बिउपुँजी दिएर सघाउनेलगायतका प्रवद्र्धनात्मक कार्य गरिरहेका छन् । यद्यपि, सरकारको मात्रै होइन, निजी क्षेत्रको भूमिकालाई थप संस्थागत र प्रभावकारी बनाउन आवश्यक देखिन्छ ।

सुधारको खाँचो
सबैभन्दा पहिला सरकार र निजी क्षेत्रले पनि स्टार्टअप र साना तथा मझौला उद्यम विकासका लागि स्पष्ट भिजन बनाउनुपर्छ । यसलाई केवल राजनीतिक स्टन्ट मात्रै बनाउनुहुँदैन । साँचो अर्थमा युवा उद्यमशीलता विकास गर्ने हो भने सरकारले एकीकृत नीतिहरू विकास गर्नुपर्छ । युवा उद्यमशीलता प्रवद्र्धन कार्यक्रमका लागि विभिन्न मन्त्रालय र मातहतका निकायहरूबिच समन्वय बढाउनुपर्छ, एक–अर्काको कार्यक्रमको अपनत्व लिनुपर्छ । स्टार्टअपहरूमा लगानी गर्न वित्तीय संस्थाहरूलाई प्रोत्साहन गर्नुपर्छ । परियोजनामा आधारित कर्जा दिने व्यवस्था गरिनुपर्छ । तालिम तथा सीप विकास कार्यक्रमहरूलाई थप व्यावहारिक र व्यवसायमुखी बनाइनुपर्छ । बजार पहुँच सहज बनाउन डिजिटल प्लाटफर्महरू निर्माण गरिनुपर्छ । हाम्रा कतिपय नियम तथा कानुनलाई उद्यम–व्यवसायमैत्री बनाइनुपर्छ । निजी क्षेत्रले पनि लगानी गरिदिने, मार्गदर्शन तथा परामर्श दिने, साझेदारी गर्नेलगायतका कार्य गर्नुपर्छ । सरकार र निजी क्षेत्रले यसरी संयुक्त पहल गरेमा युवा उद्यमशीलताको विकास हुन सक्छ जसले देशकै अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउन योगदान गर्न सक्छ ।

(श्रेष्ठ युवा उद्यमी मञ्च नेपालका अध्यक्ष हुन्)