एमाले केन्द्रीय सदस्यहरूले राष्ट्रिय शक्ति निर्माणको लक्ष्य पूरा गर्न केन्द्र र प्रदेश तहका सबै नेताहरूलाई गाउँमै पूर्णकालीन जिम्मेवारीसहित केन्द्रित गर्ने गरी कार्ययोजना बनाउन सुझाव दिएका छन् । जनताले भोगिरहेका दैनिक समस्या र चुनौतीबाट पार्टी नेता र कमिटीहरू टाढिएर बेखबर हुँदा ०८४ को निर्वाचमा बहुमत ल्याएर राष्ट्रिय शक्ति बन्ने योजना पूरा नहुने भन्दै अधिकांश केन्द्रीय सदस्यहरूले त्यस्तो सुझाव राखेका हुन् ।
राजेन्द्र गौतम, प्रमुख एमाले प्रचार विभाग
विचारधारात्मक, सैद्धान्तिक, नीतिगत र संगठनात्मक हिसाबले पार्टीमा कुनै मतभेद छैन । सांसद, वडाध्यक्ष, पालिका अध्यक्षलगायतका पदमा पुग्ने आफ्ना व्यक्तिगत स्वार्थ पूरा गर्न तल्लो तहमा ससाना समूह बनाएर गुटबन्दी भइरहेको आभास छ । त्यसलाई निर्मूल गरेर पार्टीलाई एकताबद्ध ढंगले लैजानुपर्छ भन्ने सुझाव बैठकमा आएको छ ।
आइतबारबाट जारी केन्द्रीय कमिटी बैठकमा ९९ जना केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् । एमालेले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदनसहित चैतसम्म तीनमहिने वडाकेन्द्रित अभियान सञ्चालन गर्नुपर्ने कार्ययोजनासहितको मूल एजेन्डामाथि छलफल चलिरहेको छ । एमालेले पार्टी र जनसंगठनको कामलाई मिसन ८४ केन्द्रित बनाउने प्रयास गर्दै आएको छ । त्यसका लागि संगठन विभागले सदस्यता दोब्बर बनाउनेलगायतको कार्ययोजना केन्द्रीय कमिटीमा राखेको छ ।
अधिकांश केन्द्रीय सदस्यहरूले पार्टीले हरेक बैठकबाट राम्रा कार्ययोजना पास गरे पनि नेताहरू पूर्णकालीन रूपमै गाउँमा केन्द्रित भएर जनतासँग प्रत्यक्ष जोडिएका वर्गीय मुद्दा उठान गरेर समाधानको नेतृत्व नगरेसम्म पार्टी बलियो नबन्ने र त्यसले केन्द्रीय कमिटीले पास गरेको लक्ष्य पनि पूरा नहुने धारणा राखेका हुन् ।
पार्टी नेताहरूमा केन्द्रीकृत मानसिकता रहेको र पार्टी केन्द्रीय कार्यालय र नेतृत्वको वरिपरि मात्रै गोलबन्ध हुने प्रवृत्ति हाबी भइरहेको तथा कामको वस्तुनिष्ठ मूल्यांकनको परिपाटी हराउँदै जाँदा समस्या देखिएको अधिकांश केन्द्रीय सदस्यले धारणा राखेका छन् । अधिकांशले नेताहरूले प्रत्येक गाउँको समस्याअनुसार जनतासँग प्रत्यक्ष सम्बन्ध राखेर शोषण, विभेद, विकासको असमानता, शिक्षा, स्वास्थ्य र रोजगारीसँग जोडिएका समस्या, समुदायगत समस्या, जमिन बाँझो बन्दै गएको समस्या समाधानका लागि नेतृत्व गर्नुपर्ने धारणा राखेका छन् ।
‘मूलतः सरकारको प्रभावकारिता र पार्टी निर्माणमा देखिएका समस्याको समाधानमा विशेष जोड छ । नेताको वरिपरि, पार्टी कार्यालय परिक्रमा गर्ने र काम गर्नेबिच भेद हुनुपर्छ भन्ने अधिकांश केन्द्रीय सदस्यहरूबाट सुसंगठित विचार आएको छ,’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘आधारभूत तहबाटै पार्टीलाई बलियो बनाउन, सबलीकरण गर्न, पार्टी र जनताबिचको सम्बन्धलाई सुदृढ गर्न र वडाकेन्द्रित कार्ययोजनालाई प्रभावकारी बनाउन प्रदेश र जिल्ला इन्चार्जका साथै पालिकाको नेतृत्वलाई नीतिगत रूपमै तलै केन्द्रित हुने गरी निर्देशित गरेर परिचालन गर्नुपर्ने अधिकांशको सुझाव आएको छ ।’
कम्युनिस्ट पार्टीले उत्पादकत्व शक्ति वृद्धिका लागि परम्परागत उत्पादन सम्बन्धमा ब्रेक हुने गरी सबैतिर नमुना काम गरेर जनतालाई कृषितिर आकर्षित गर्न ढिलाइ भइरहेको विषयसमेत कतिपयले उठाएका थिए । केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले सबै केन्द्रीय नेताहरूले अनिवार्य रूपमा समुदायसँग घुलमिल भएर जनतासँगको सम्बन्ध प्रगाढ बनाउँदै शोषण, विभेद, बाँझो जमिनलगायत शोषणका अनेक रूपका वर्गीय मुद्दाको नेतृत्व लिने गरी पार्टीपंक्तिलाई परिचालित गर्ने गरी कार्ययोजना बनाउनुपर्ने सुझाव दिएको बताए । ‘विगतको तुलनामा जनतासँग पार्टीको सम्बन्ध कमजोर बनेको हो कि भन्ने चिन्ता प्रकट भएको छ, त्यसैले अहिलेको युगीन चुनौतीअनुसार समुदायस्तरबाटै वर्गीय मुद्दाको उठान गरेर समाधानका लागि नेतृत्व गर्ने गरी परिचालित हुनुपर्छ भन्ने नै सबैको सुझाव छ,’ पोखरेलले भने ।
अर्का केन्द्रीय सदस्य श्यामकुमार बस्नेतले जनतालाई केन्द्रविन्दुमा राखेर स्थानीय तहलाई नै सबल बनाउने गरी पार्टीले कामकेन्द्रित गर्नुपर्ने सुझाव आएको बताए । ‘केन्द्रीय कमिटीका सदस्यहरूले आफ्नो विचार राख्ने क्रममा सरकारलाई प्रभावकारी र परिणाममुखी बनाउन, सुशासन र सेवाप्रवाहमा जोड दिन सुझाव दिएका छन् । त्यसैगरी, पार्टीलाई प्रभावकारी, जनआधारित बनाउन सबै नेताहरूलाई पार्टी काममा केन्द्रित गर्नुपर्ने, कार्यकर्ता र जनताका गुनासालाई सम्बन्धित ठाउँमै गएर सुन्न, समाधान गर्न विशेष जोड दिएका छन्,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
केन्द्रीय सदस्यहरूलाई तीन मिनेट सुझाव राख्ने समय दिइएको छ । विगतमा केन्द्रीय सदस्यहरूलाई समूह विभाजन गरेर छलफल गराउने गरेकोमा एमालेले यो बैठकमा सबै केन्द्रीय सदस्यको सुझाव सुन्ने गरी व्यक्तिगत रूपमै समयको व्यवस्था मिलाएको छ । अध्यक्ष ओलीसहित सबै पदाधिकारी केन्द्रीय सदस्यको सुझाव सुनेर बैठकमा बसेका छन् । समयभित्र सुझाव राखेर बोल्न छुटेका विषयमा थुप्रै केन्द्रीय सदस्यहरूले बहस नोट कमिटीमार्फत पनि सुझाव राखेका छन् ।