चीनको तिब्बत प्रान्तको दिंगे काउन्टीमा केन्द्रविन्दु भएर सात रेक्टर स्केलको भूकम्प गएको छ । आज बिहान ६ः५० बजे नेपाल–चीन सीमामा पर्ने उक्त स्थानमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । दिंगे काउन्टी दक्षिण नेपालको संखुवासभा र ताप्लेजुङ तथा दक्षिण–पूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ ।
काठमाडौं उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुंगा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङलगायत जिल्लामा भूकम्पको महसुस गरिएको थियो ।
भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब एक सय किलोमिटर टाढा दिंगेमा शक्तिशाली भूकम्प गएको जानकारी दिए ।
केन्द्रले ६ देखि आठ रेक्टर स्केलको भूकम्पलाई शक्तिशाली भूकम्प भन्ने गरेको छ । नेपालमा ०७२ वैशाख १२ गते ७.६ रेक्टर स्केलको गोरखा केन्द्रविन्दु भएर भूकम्प गएको थियो । केही समयदेखि पश्चिम नेपालमा निरन्तर स–साना भूकम्प गइरहेका छन् ।