बागमती प्रदेश सरकारले विपत् प्रभावित सडक तथा पूर्वाधार पुनर्निर्माणका लागि १५ करोड २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश सरकारको शुक्रबार बिहान बसेको बैठकले विपत् प्रभावित प्रादेशिक सडक तथा पूर्वाधार निर्माणका लागि १५ करोड २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
विपत् प्रभावित हेटौँडा–काठमाडौं सडकका लागि ११ करोड २५ लाख रुपैयाँ र प्रदेशका अन्य सडक तथा पूर्वाधार मर्मतका लागि चार करोड रुपैयाँ बजेट व्यवस्था गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिलामन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
उनका अनुसार बैठकले सिमखोलमा बेलिब्रिज राख्न दुई करोड रुपैयाँ, सडक मर्मतका लागि ५० लाख रुपैयाँ, कुलेखानी–महालक्ष्मी–खोला–फाखेल खण्ड मर्मतका लागि २५ लाख रुपैयाँ, सिस्नेरी खण्डको सडक पुनर्निर्माणका लागि ६ करोड रुपैयाँ र सिस्नेरी–छैमले खण्डको सडक पुनर्निर्माणका लागि दुई करोड ५० लाख रुपैयाँ व्यवस्था गर्ने निर्णय भएको छ ।
बैठकले उक्त बजेट आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध र विषयगत मन्त्रालयको बजेटबाट व्यवस्था गर्ने निर्णय गरेको पनि प्रवक्ता लामिछानेले जानकारी दिए । बिहीबार सम्पन्न प्रदेश विपत् परिषद्को बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रस्ताव गरेअनुसारको बजेट व्यवस्था गर्ने निर्णय गरेको उनको भनाइ छ ।
यस्तै, बैठकले संघीय सरकारबाट सरुवा भएर आएका सचिव वीरेन्द्रदेव भारतीलाई प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरेको छ भने प्रदेश सरकारले ११औँ तहमा बढुवा गरेका निरञ्जन श्रेष्ठलाई वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र ललितपुरमा पदस्थापन गर्ने निर्णय गरेको छ । बैठकले स्वास्थ्य संस्था आशयपत्र सेवा सञ्चालन अनुमति नवीकरण तथा स्तरोन्नति मापदण्ड स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।